
लमजुङ– नेकपा एमाले जिल्ला कमिटी लमजुङले पार्टीको विधान महाधिवेशनले पारित गर्ने विधान संशोधन मस्यौदाबारे सुझाव संकलन गर्न गाउँगाउँमा छलफल सञ्चालन गर्ने भएको छ । पार्टी केन्द्रको निर्देशन अनुसार सो कार्य गर्न जिल्ला कमिटीको आठौं बैठकले साउन २५ गते निर्णय गरेको हो ।
मस्यौदालाई गाउँ तथा नगरपालिका कमिटीहरूले आफ्नो तहमा छलफल गर्न र सुझाव संकलन गर्न सक्ने व्यवस्था खुला गर्ने निर्णय गरेको एमालेका जिल्ला सचिव राजेन्द्र बोहराले बताउनु भयो । उहाँका अनुसार बैठक जिल्ला सदरमुकाम बेसीशहरस्थित मदन आश्रित स्मृति भवनमा सम्पन्न भएको हो । उहाँले भन्नुभयो, ‘बैठकमा भदौ २० देखि २३ गतेसम्म हुने विधान महाधिवेशनका लागि जिल्लामा पठाइएको मस्यौदामा छलफल र सुझाव प्रस्तुत गरिएको थियो ।’
बैठकमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जमिन्द्रमान घलेले नेता तथा कार्यकर्तालाई पार्टीको नीति, सिद्धान्त र विचारमा अडिग रहन निर्देशन दिनुभयो । उहाँले विचारबिनाको राजनीतिले जनतालाई भ्रमित पार्ने खेल खेलिरहेको भन्दै यस्तो राजनीति लामो समय टिक्न नसक्ने र मुलुकको विकासमा योगदान नदिने उल्लेख गर्नु भयो ।
बैठकमा पार्टी केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, प्रदेश कमिटी सचिव धनञ्जय दवाडीलगायतले जनजीविका, विकास र सुशासनमा सरकारले अघि बढाएको कदममा नागरिकको साथ आवश्यक रहेको बताउनु भयो । उहाँहरूले सरकारले गरेका सकारात्मक कार्यको पर्याप्त प्रचार हुन नसक्दा नकारात्मकताले स्थान पाएको जिकिर गर्नु भएको थियो ।
जिल्ला कमिटीका अध्यक्ष राजकुमार विष्टको अध्यक्षतामा सम्पन्न बैठकले भदौ ७ गते पालिका र वडा कमिटीका अध्यक्ष तथा सचिवहरूलाई प्रशिक्षण दिने र भदौ १४ गते लेखा कमिटीको प्रशिक्षण गरिने कार्यक्रम पनि तय गरेको छ ।
बैठकमा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका सचिवालय सदस्य तथा अन्य सदस्यहरूले मस्यौदामाथि आ–आफ्ना धारणा राखेका थिए । बैठकको सञ्चालन जिल्ला सचिव राजेन्द्र बोहराले गर्नु भएको थियो ।
आश गुरुङको सहयोगमा ।
प्रकाशित मिति २०८२ श्रावण २६, सोमबार ०८:५० गते