
काठमाडौं– सरकारले १९ जनाको ज्यान लिएपछि सामाजिक सञ्जालहरूमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले भदौ २३ गते साँझ जानकारी दिनुभएको हो ।
जेनजीहरूको प्रदर्शनका कारण काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्ततः सरकार निर्णयबाट पछि हटेको हो । गए राति १० बजेबाट सामाजिक सञ्जालहरूमाथि सरकारले लगाएको प्रतिबन्ध फिर्ता लिएको एक मन्त्रीले जानकारी दिए । सरकारको सो निर्णयसँगै सरकारले बन्द गरेका फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल सञ्चालनमा आइसकेका छन् ।
मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको गुरुङले बताउनु भयो । उहाँका अनुसार तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप गरेको छैन । उहाँले भन्नुभयो, ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो ।’ चर्को विरोध र सत्तारूढ दलबाटै दबाब थेग्न नसकेपछि सरकार सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णयबाट पछि हटेको हो । जेनजी पुस्तालाई आन्दोलन रोक्न भन्दै माग सम्बोधन गरेको उहाँको भनाइ छ ।
प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए । एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएको थियो, ‘यो कुरा डेढ वर्षदेखि भनिरहेका थियौं । सूचीकृत गर भनेका थियौं । नेपालको कानुन मान भनेका थियौं । हाम्रो राष्ट्रिय स्वाभिमानको कदर गर्ने कुरा हो, त्यसमा हमला भयो । सामाजिक सञ्जालमाथि एउटा देशलाई यसरी हेप्न पाइन्छ ? राष्ट्रको अपमान गर्नेगरी उनीहरूलाई खोलिदिने त ?’
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्रीस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।
यसअघि कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फिर्ता लिनबारे आग्रह गर्न भनेबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई फोन गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले भने नियमनबिना कुनै पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ता नलिने अडान लिनु भएको थियो ।
१९ जनाको मृत्यु, ४२२ घाइते :
काठमाडौं लगायत देशका विभिन्न सहरमा भएको जेन–जीहरूको विरोध प्रदर्शनमा भएको व्यापक सरकारी दमनले कम्तिमा १९ जनाको ज्यान गएको छ भने थुप्रै घाइते भएका छन् । काठमाडौंमा १७ जना र इटहरीमा २ जना गरी १९ जनाको मृत्यु भएको हो ।
जेनजी प्रदर्शनमा ४ सय २२ जना घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदर्शनका क्रममा प्रहरीको बर्बर दमनबाट काठमाडौँमा १७ प्रदर्शनकारीको र २ प्रदर्शनकारीको इटहरीमा ज्यान गुमेको छ ।
जेनजी प्रदर्शनमा ज्यान गुमाउने एक्ला छोरा थिए सुलभ :
यसैबीच, जेन–जीहरूको प्रदर्शनका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएका विद्यार्थी सुलभराज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका– १ निवासी रहेको खुलेको छ । काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका श्रेष्ठ भेरी स्कूलका सञ्चालक नरेन्द्र श्रेष्ठका एक्ला छोरा हुन् । सो खबर पछि बुवा नरेन्द्र हिजो साँझ ६ बजे नेपालगञ्जबाट हवाईमार्ग हुँदै काठमाडौं गएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनु भयो ।
सुलभ पढाइमा जेहेन्दार र मिहिनेती रहेका उनका छिमेकी भोजराज शर्माले बताए ।
साथी गुमाएका जेन–जी सरकारसँग रगतको हिसाब माग्दै :
जेन–जीको आन्दोलनमा प्रहरीले अन्धाधुन्द गोली चलाउँदा १८ जना युवाले ज्यान गुमाए । सयौं घाइते भए । सडक रक्ताम्य बन्यो । सँगै आएका साथीले साथी गुमाए ।
‘अब कसरी घर जाने ? मेरो साथी खोई सरकार ! रगतको हिसाब चाहिन्छ,’ गोली लागेर लडेका साथीलाई उठाउँदा उनको छातीमा रगत लतपतिएको थियो । तर आक्रोश झनै तिब्र बढिरहेको थियो ।
स्वःस्फूर्त आन्दोलनमा सहभागी : आंकलनभन्दा बढी सहभागी :
यो आन्दोलनमा स्वतन्त्र जेन–जी मात्र थिएनन्, प्रमुख दलका युवा विद्यार्थी पनि सहभागी थिए । आन्दोलनमा मओवादी, रास्वपा, राप्रपा लगायत दलका युवा–विद्यार्थी त सहभागी थिए नै कांग्रेस, एमालेका युवा पनि अग्रंपक्तिमै देखिएका थिए ।
निषेधित क्षेत्र तोड्ने बेला दलका युवा विद्यार्थी पनि अगाडि मोर्चामा थिए । आन्दोलन कसैको नेतृत्वमा थिएन, सबै स्वःस्फूर्त आएका थिए । आंकलनभन्दा बढी सहभागी भएका थिए ।
सरकारलाई जेन–जीका प्रश्न :
बिहान साढे ८ बजे नै प्लेकार्ड बोकेर जेन–जीहरू माइतीघरमा भेला हुन थालेका थिए । यसरी स्वःस्फुर्त जेन–जी सडकमा किन आए ? के थियो उनीहरूको माग ? के चाहन्छन् उनीहरू ? यी प्रश्नहरूको उत्तर उनीहरूले बोकेको प्लेकार्डले नै भनिरहेको थियो ।
स्कुल–कलेजको ड्रेसमै १०–१२ कक्षामा पढ्ने विद्यार्थी आन्दोलनमा आएका थिए । उनीहरूले बोकेको प्लेकार्डमा लेखिएको थियो, ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ । मेटाले भन्दा नेताले दुःख दिए ।’
‘बिहान साढे ६ बजेको कक्षा थियो तर परिवर्तनका लागि कक्षा छोडेर आन्दोलनमा आएका हौँ,’ कक्षा १२ मा पढ्ने एउटा विद्यार्थीको समूहले भन्यो, ‘हामीले कर तिर्ने तर दुःख हामीलाई नै दिने ? भ्रष्टाचारको अन्त्य गर्न आन्दोलनमा आएका हौँ ।’
त्यस्तै, ‘शिक्षा छैन । सडक बनेको छैन । जनताले खान पाएको छैन । भोकमरी छ । नेताका छोराछोरीको कमाइ के हो ? उनीहरूको आय स्रोत माग्न आएको हुँ,’ ललितपुरबाट आएका कक्षा १० मा पढ्ने एक विद्यार्थीले भनेका थिए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्युको समय बढाएको छ । यसअघि सोमबार राति १० बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मङ्गलबार बिहान ५ बजेसम्म थप भएकोमा ऐले हटेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबारदेखि २३ गते अपराह्न १२ः३० देखि रातिको १० बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो ।

प्रकाशित मिति २०८२ भाद्र २४, मंगलवार ०६:४४ गते