
काठमाडौं– गृहसचिवस्तरीय निर्णयले बाहिरिनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू सदैव नागरिक सर्वोच्चताको पक्षमा रहेको बताउनु भएको छ । नख्खु कारागारबाट मुक्त भएसँगै सभापति लामिछानेले यो आन्दोलन जेन–जीहरूको भएको र मुलुकको अबको नेतृत्व जेन–जीकै माग अनुसार र जेन–जीकै परिकल्पना अनुरूप अघि बढ्नुपर्छ भन्नेमा आफू स्पष्ट भएको भदौ २४ गते बताउनु भएको हो ।
उहाँले आफू कानुनको पालना गर्दै कारागारमा बसेको र सुरक्षा खतराका कारण बाहिर निकालिएको जानकारी दिदै कुनै राजनीतिक पदको आशा नगरेको र कानुनी प्रक्रियामा सघाउन तयार रहेको समेत उहाँले प्रष्ट्याउनु भएको छ । रिहा भएपछि उहाँद्वारा जारी सार्वजनिक वक्तव्य भनिएको छ, ’सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरूले सजाय पाउने क्रम जारी छ । यिनको निजी सम्पत्ति यिनको होइन, देशका ती पुस्तालाई लुटेर यिनीहरूले जोडेका हुन् । यिनको बाँकी सम्पत्ति पनि पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्छ र यिनीहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ ।’
युवा पुस्ताका लागि जीवन उत्सर्ग गरेको बताउँदै आउनु भएका रास्वपा सभापति रविले अहिलेको आन्दोलन विशुद्ध जेनजीको भएको बताउँदै अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरू जोगाउन जरूरी रहेको उहाँले वक्तव्यमा उल्लेख गर्नु भएको छ । ‘राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायालय लगायत संस्थामा रहेका दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन् । तिनको संरक्षण गर्न सकिएन भने मुलुकका संवेदनशील दस्तावेजहरू नास हुन सक्छन्। यो तपाईं–हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छ । सरकारी सम्पत्तिहरू क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो ।’ उहाँको कथन छ ।
उहाँले भन्नुभएको छ, ’म नियम कानुनको परिधिभित्र बस्न चाहेको मान्छे हुँ, मेरो तापक्रम बढेर १८० पुग्दा मैले अस्पतालको शय्या खोजेको होइन, आज पनि म निस्किन चाहेको होइन ।’
उहाँले आमनागरिकको दबाबपछि सरकारले आफ्नो रिहाइका लागि कानुनबमोजिम प्रकिया पूरा गरेर पत्र थमाएपछि मात्र कारागारबाट रिहा भएको र सिधै नागरिकसामु आउन पाएको पनि बताउनु भएको छ ।
उहाँले थप भन्नुभएको छ, ‘यसका बाबजुद मुलुकको कानुनप्रति वफादार हुँदै भविष्यमा आइपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँछु । एक सचेत नागरिकका रूपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।’
उहाँले भिडियो सन्देशमा गर्नु भएको अपिल :
१. रबि लामिछाने अहिले कुनै राजनीतिक पदको आशा, लोभ र दौडमा छैनन ।
२. कानूनलाई सघाउदै कारागारले रिहाई गर्ने निर्णय सहितको पत्र प्राप्त गरेपछि मात्र नागरिकको भिडसगै बाहिरिएको हुँ । कानुनी प्रक्रियालाई सघाउन सदैब तयार छु् ।
३. अबको नागरिक सरकार जेन– जी को चाहना बमोजिम हुनु पर्छ ।
नख्खु कारागारबाट सभापति रविलाई हिजो दिउँसो कारागारबाट जेन– जीको टोलीले मुक्त गराएको हो ।

प्रकाशित मिति २०८२ भाद्र २५, बुधबार ०७:५५ गते