आकर्षक रह्यो राष्ट्रिय उपभोक्ता मञ्चको सचेतनामूलक अन्तरक्रिया

आकर्षक रह्यो राष्ट्रिय उपभोक्ता मञ्चको सचेतनामूलक अन्तरक्रिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक २४ गते सोमबार १०:४६

गुनासो गर्ने उपभोक्ताको अधिकार हो र सुन्नु पर्ने सरकारको दायित्व हो, उपभोक्ता ऐन निकै कडा छ । राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता हितका लागि काम गर्ने सबैभन्दा पुरानो र सक्रिय संस्था भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

आफूले प्रजिअको समेत निर्देशनबाट जिल्लाका आठवटै स्थानीय सरकारका अनुगमन अधिकृतलाई यो कार्यक्रममा सहभागी हुन पत्राचार गर्ने फोन सम्पर्क गर्ने गरेको तर आज आठ जनामा एक जनाको पनि अनुहार देख्न पाइएन, यसबाट हाम्रा स्थानीय सरकारहरू उपभोक्ता हितमा के कति संवेदनशील छन् भन्ने अर्को उदाहरण दिइरहन नपर्ला अध्यक्ष पहाडीले उल्लेख गर्नु भयो ।

बेसीशहर– लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा राष्ट्रिय उपभोक्ता मञ्चको सचेतनामूलक अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम आकर्षक रुपमा सम्पन्न भएको छ । जिल्ला अनुगमन अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमको प्रमुख आतिथ्यतामा मञ्चको जिल्ला समितिको आयोजनामा कार्तिक २४ गते उक्त कार्यक्रम भएको हो ।
उपभोक्ता ऐन निकै कडा छ :
प्रमुख अतिथि गौतमले दीप प्रज्वलन गरी उक्त कार्यक्रमको उदघाटन गर्नु भएको थियो । गौतमले आफ्नो प्रमुख आतिथ्य मन्तव्यमा सहभागी उपभोक्ताहरूले उठाएका प्रश्नको समेत जवाफ दिनु भएको थियो । उहाँले अनुगमन नभएको र भए पनि फित्तलो किन भएको ? भन्ने जवाफ दिदै अनुगमन हुन्छ भन्ने हेकामात्र सरोकारवालाहरूले राखेमा धेरै उपलब्धि हुन सक्छ भन्नुभयो । उहाँले उपभोक्ता ऐन निकै कडा छ । व्यापार व्यवसायमा कमजोरी फेला परेमा सिधैं ५० हजारदेखि पाँच लाख जरिवाना गर्न सक्ने अधिकार सहायक प्रजिअ, जिल्ला बजार अनुगमन अधिकारीका हैसियतले छ । तर नाङ्ले तथा घुम्ती पसलेलाई ५० हजार जरीवाना गरेको खण्डमा उसले व्यापार गर्न सक्छ होला ? तथापि त्यसो भनेर अखाद्य वस्तु बेच्न पाइन्छ भनेको होइन त्यस्तो अर्थ नलगाइयोस् भन्नुभयो । गुनासो आएको खण्डमा हामी तत्काल अनुगमन गर्दछौं सप्रजिअ गौतमले जानकारी दिनुभयो । औषधि पसलको निरीक्षण वा अनुगमन औषधि व्यवस्था विभागले गर्ने हो, किनकि, हामीलाई त्यसको प्राविधिक ज्ञान हुँदैन भन्नुभयो ।
गुनासो गर्ने उपभोक्ताको अधिकार हो र सुन्नु पर्ने सरकारको दायित्व हो :
उपभोक्ता आफै सचेत हुन जरुरी छ, त्यसैले पनि यो कार्यक्रम महत्वपूर्ण छ भन्ने लागेको हो र त्यसैले दिनभरकै जस्तो समय दिएर यो कार्यक्रममा आफू बसेको उल्लेख गर्दै सप्रजिअ गौतमले गुनासो गर्ने उपभोक्ताको अधिकार हो र सुन्नु पर्ने सरकारको दायित्व हो भन्नुभयो । हामी पूर्वीयदर्शनबाट विमुख हुँदै गएका छौं र विज्ञानमा आधारित पश्चिमाको दर्शनलाई पनि अंगिकार गर्ने स्थानमा पुग्न सकेका छैनन्, बीचमा रहेका कारणले यो बढी जोखिम स्थितिमा छौं भन्नुभयो । जापानी उपभोक्ताहरूको उपमा दिदै उहाँले वजारमा मूल्यको निर्धारण माग र आपूर्तिमा निर्भर रहन्छ, सचेत उपभोक्ताले मूल्य घटाउन बाध्य बनाउने सक्छन् भन्दै सामग्री महंगो भएको बेलामा नकिन्ने र वैकल्पिक उपाय अनाउने गर्न सकिन्छ, जापानी उपभोक्ताहरू त्यसै गर्छन् उहाँले स्मरण गर्नुभयो । खसीको मासु त त्यसको स्वास्थ्य परीक्षण बिना काट्न नै पाइन्न भन्ने कानुन छ तर त्यो यहाँ कसैले पालना गरेको देखिदैन ।
राष्ट्रिय उपभोक्ता मञ्च र प्रशासनको उद्देश्य एवम् लक्ष्य एकै :
राष्ट्रिय उपभोक्ता मञ्च र प्रशासनको उद्देश्य एवम् लक्ष्य एकै भएको हुँदा सहकार्यका साथ अघि बढ्ने हो, त्यो गर्नेछौं उहाँले भन्नुभयो । विगतमा बजार अनुगनका बेलामा उपभोक्ता मञ्चको प्रतिनिधि नपाउँदा उपभोक्ताको यौटा शाखासम्म पनि नभएको कस्तो जिल्ला हो यो ? भन्ने पनि बेलाबखत लाग्थ्यो, अब त्यस्तो अभाव खड्कने छैन उहाँले भन्नुभयो । उहाँले लमजुङमा बजार अनुगमनमा जानु भनेको व्यापारीका पसलहरू यति फोहर हुन्छन् कि ! त्यो सफा गर्नका लागि कुल्ली हुनु जाने हो जस्तो पनि अनुभव छ विगतमा उहाँले सुनाउनु भयो ।
यसपटक यातायात व्यवसायीहरूसँग बसेर बसभाडा निर्धारण गरेको हुँदा उनीहरूले कार्यान्वयन गर्दिन भन्न पाउने अवस्था छैन । त्यसका लागि २÷२ महिनामा त्यसको बैठक बस्ने र कमजोरी सुधार्ने, भाडा परिमार्जन गर्ने पनि भनेका छौं उहाँले जानकारी दिनुभयो । उहाँले थप भन्नुभयो, ‘जंक फुड बच्चालाई मोहनी लागेको जस्तो हुन्छ तर त्यो खाने चिज होइन ।’ यस्ता कार्यक्रम विद्यालयस्तरमा गर्न सक्दा थप फलदायी हुने उहाँले उल्लेख गर्नु भयो ।
राष्ट्रिय उपभोक्ता मञ्च, उपभोक्ता हितका लागि काम गर्ने सबैभन्दा पुरानो र सक्रिय संस्था :
त्यसअघि राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले प्रशिक्षण शैलीमा मञ्चको समितिको काम, कर्तव्य र अधिकारका साथै उपभोक्ता किन सचेत हुन जरुरी छ भन्ने उदाहरण सहित प्रष्ट्याउनु भएको थियो । केन्द्रीय अध्यक्ष महर्जनले आफ्नो संस्था उपभोक्ता हितका लागि काम गर्ने सबैभन्दा पुरानो र सक्रिय संस्था भएको उल्लेख गर्दै मुलुकका ४७ जिल्लामा समिति सक्रिय रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘म यो अभियानमा लागेको ४२ वर्ष भएको छ ।’
उहाँले लमजुङको जिल्ला समितिमा डम्मर अधिकारीको पालामा संस्थाले निकै उचाई प्राप्त गरेको स्मरण गर्दै त्यो गति नवगठित समितिले पनि लिनेछ भन्ने विश्वासमा छु, यो टिमवर्क पनि हो समितिमा बस्ने पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू सबै एकमनले काम गर्नु हुनेछ भन्ने आशामा छु, यहाँहरूको कार्यकाल सफल होस् भन्ने उहाँले कामना गर्नुभयो । उहाँले संविधानको धारा ४४ ले उपभोक्ताको अधिकारको सुनिश्चित गरेको उल्लेख गर्दै उपभोक्ताको अधिकार मानवअधिकार जत्तिकै महत्वको छ भन्नुभयो । उहाँले उपभोक्ता हितका लागि संविधानको १२ बुँदामा समेटिएको छ भन्ने जानकारी दिनुभयो । संक्षेपमा उहाँले भन्नुभयो, ‘सुन्ने, बुझ्ने, जान्ने, छनौट गर्ने, नापतौल गरी किन्ने र मूल्य थाहा पाउने अधिकार उपभोक्तालाई छ भन्ने बुझौं ।’
उपभोक्ता अदालत हाम्रै पहलमा आएको हो :
उहाँले कुनै उपभोग्य वस्तु खाएर अस्वस्थ्य भयो वा ठगी भयो भने उजुरी गर्ने अधिकार छ र क्षतिपूर्ति समेत पाउने कानुनी व्यवस्था छ भन्दै त्यस्तो वस्तु निकबेच गर्नेलाई विगो बराबरको जरिवाना गर्ने सम्मको व्यवस्था रहेको कानुनमा उल्लेख छ भन्नुभयो । आफूहरूकै पहलमा काठमाडौंमा उपभोक्ता अदालत समेत गठन भएको हो, हामीले सबै जिल्लामा त्यस्तो अदालत चाहिन्छ भनिरहेका छौं सोही अदालतले त्यस्तो मुद्दाको छिनोफानो गर्छ उहाँले जानकारी दिनुभयो ।
उहाँले ढिके नुन पखालेर अनि आयो नुन भुटेर खाने प्रचलनले स्वास्थ्यलाई थप हानी गर्ने उल्लेख गर्नुभयो । त्यस्तै, फलफूलको शुद्धता, लिची, आँप आदिको समेत शुद्धता मापन गर्न सकिन्छ उहाँले उदाहरण सहित प्रस्तुत गर्नु भएको छ ।
व्यापारीहरूको पनि अधिकार छ :
व्यापारीहरूलाई कुनै कम्पनीले दियो वा सस्तो दियो भन्दैमा प्याकेटमा लेबल नभएको, म्याद सकिएको, तौल कम भएको खाद्यवस्तु बेच्दिन भन्ने अधिकार छ मञ्चका केन्द्रीय अध्यक्ष महर्जनले भन्नुभयो । उहाँले काठमाडौंमा रायोको सागमा ९० प्रतिशतसम्म विषादी भएको पाइएको छ । परवर जस्ता अन्य सब्जीको स्थिति पनि त्यो भन्दा भिन्न छैन भन्ने स्थिति छ भन्ने जानकारी दिनुभयो । उहाँले शुद्ध घिउलाई काठमाडौंमा १३ सय पर्छ तर आठ सयमै शुद्धि घिउ भनेर विक्रि गरेको पनि पाइन्छ भने त्यसो गर्नु ठगी हो कि हैन होला ? भन्ने प्रश्न गर्दै विभिन्न खाद्यवस्तुमा मिसावट वा विषदी छ छैन वा त्यसलाई के कसरी शुद्धिकरण गर्न सकिन्छ, मह, घिउ, तेल मसलाजन्य पदार्थहरू जिरा, खुर्सानी, बेसार आदिको शुद्धता के कसरी मापन गर्न सकिन्छ भन्ने उदाहरण सहित जानकारी दिनुभएको थियो ।
फर्मालिन नामक केमिकलले माछालाई ताजा राख्छ जसबाट क्यान्सर जस्तो रोग फैलन्छ :
विदेशमा जानेहरू कतिपय बासकामा फर्कन्छन् । २– ४ महिना अघि मरेको मान्छे पनि बाकसमा बन्द भएर आउँदा जस्ताको तस्तै देखिन्छ । त्यस्तो जस्ताको तस्तै राख्ने काम फर्मालिन नामक केमिकलले गर्छ भन्दै उहाँले त्यही फर्मालिन राखेर १२– १४ दिन अघि मारेको माछा यहाँ प्याक गरी पठाइन्छ त्यो स्वास्थ्यका लागि कति हानिकारक होला ? कल्पना गर्न सकिन्छ, यही कारण केही वर्ष अघिसम्म एक सय जनामध्ये एक जनामा पनि मुस्किलले फेलापर्ने गरेको क्यान्सर, ऐले प्रति १० जनामध्ये एक जनामा क्यान्सर फेला पर्ने गरेको छ, त्यसको कारण त्यही फर्मालिन हो मञ्चका केन्द्रीय अध्यक्ष महर्जनले भन्नुभयो । त्यसैले हामी सबैले गुनासो गर्ने बानीको विकास गर्न जरुरी छ भन्नुभयो । उहाँले यो सन्देश घरघरमा पुग्न जरुरी छ भन्दै जिल्ला समितिले गर्न सक्ने कामका बारेमा उल्लेख गर्नुभयो ।
सो अवसरमा गरिएको अन्तरक्रियामा विभिन्न सहभागीहरूले आआफ्ना धारणा राखेका थिए । समाजसेवी हरि अधिकारीले स्वास्थ्यलाई भन्दा अन्य वस्तुलाई प्राथमिकतामा राख्ने प्रवृत्तीले पनि बेथिति बढेको छ भन्नुभयो । विभिन्न उदाहरण दिनु हुँदै उहाँले हामीले सचेत हुन प्रयास मात्र गरियो भने पनि घेरै सुध्रन्छौं, हामी सुध्रियौ भने हाम्रो स्वास्थ्य अवस्था स्वतः सुध्रन्छ भन्नुभयो ।
कालोबजारी पनि एक खालको भ्रष्टाचार हो :
साहित्यकार एवम् लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका संस्थापक उपाध्यक्ष तेजनारायण अधिकारीले गुनासोले समस्या समाधान हुनेवाला छैन, चेतनामा परिवर्तन जरुरी छ भन्नुभयो । खाद्यवस्तुमा कम गुणस्तर, मिसावट, मिति सिद्धिएको, मूल्य नभएको वा कम तौल भएको सामग्री विक्री गर्नु अर्थात कालोबजारी पनि एक खालको भ्रष्टाचार हो उहाँले जोड दिदै भन्नुभयो । मुहान नै सङ्लो नभएका कारणले कारवाहीको आदर्शले सर्वसाधारणले सुविधा पाउन सकेका छैनन्, सुशासनका लागि राजनीतिक स्थिरता जरुरी छ भन्नुभयो ।
यसैगरी, पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष आश गुरुङले मिनरल वाटरको बोलत देखाउँदै यो कुन कम्पनीको हो थाहा छैन, यसको मूल्य कति हो ? हुनु पर्ने र विक्री के कतिमा भएको छ ? भन्ने प्रश्न गर्दै यसमा उद्यागी, व्यापारी सबैले ठगेका छन् तर हामी चुपचाप खाइरहेका छौं भन्नुभयो । उहाँले उधारो खानुपर्ने बाध्यताले पनि उपभोक्ताले महंगो मूल्यलाई स्विकार गरेर तैं चुप मै चुप हुनुपर्ने अवस्था सिर्जिने गरेको छ भन्नुभयो ।
त्यस्तै, मञ्चका कार्यकारी सदस्य इश्वर अधिकारीले पालिकाहरूको भूमिका के कस्तो हो ? र त्यहाँ हाम्रो समितिले के के गर्न सक्छ ? भन्ने जिज्ञासा राख्नु भएको थियो ।
समापनमा विभिन्न धारणा सार्वजनिक : हामी इमान्दार तथा नैतिकवान हुन जरुरी :
कार्यक्रमको समापनका अवसरमा बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष एवम् मञ्चको जिल्ला समितिका सल्लाहकार पवित्रा थापा रानाले जीवनको सारतत्व स्वास्थ्य हो तर पछिल्ला दिनमा स्वास्थ्यलाई भन्दा पैसालाई महत्व दिने प्रवृत्ती बढ्नाले मानवजीवनमा खेलवाड भएको छ भन्नुभयो । खाद्यवस्तुमा हुने मिसावट, कम गुणस्तरलाई गुणस्तरको भन्ने, मिति सकिएको पनि विक्री गर्ने, तौलमा पनि लापरवाही गर्ने सबै स्वास्थ्यलाई ध्यान नदिएका उदाहरण हुन् उहाँले उल्लेख गर्नुभयो । अनुगमनमा जानु अघि हामीनै आफ्नो मान्छेलाई त्यस्तो सामग्री लुका भन्छौं, हामीमा सचेतना, नैतिक जिम्मेवारी तथा इमान्दारिता छैन, उत्पादक र व्यापारीमा इमान्दार तथा नैतिकवान हुने हो भने उपभोक्ताले ठगीनबाट धेरै हदसम्म बच्न सक्ने देखिन्छ उहाँको कथन थियो । हामी स्वास्थ्यका लागि सचेत बन्न जरुरी छ, कमसेकम हामीले खाइरहेको वस्तुको किन्नु अघि मिति वैध छ छैन हेर्ने, तौल ठीक भए नभएको र मूल्य उचित छ छैन ? भन्ने मात्र हेर्ने र सोच्ने बानी गरियो भने पनि धेरै राम्रो हुनेछ भन्ने आशा व्यक्त गर्नु भयो । उहाँले यो कार्यक्रम अत्यन्तै राम्रो छ र यसलाई निरन्तरता दिन जरुरी छ भन्नुभयो ।
त्यसैगरी, लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका उपाध्यक्ष सुशीलचन्द्र अधिकारीले शुभकामना मन्तव्यमा उपभोक्ता मञ्चमा नयाँ नेतृत्व आएको छ र अध्यक्ष पहाडीको क्रियाशीलताले यो कार्यकाल फलदायी हुनेछ नयाँ समितिलाई सफलताको शुभकामना पनि छ भन्नुभयो । उहाँले बसमा मनपरी भाडा लिने, बसहरू लुकाएर अनेक बहाना बनाएर भाडा बढी लिने प्रचलन रहेको स्मरण गर्दै मालपोत तिर पनि डेढ दई सय रुपैयाँले हुने निवेदनका लागि हजार, पन्ध्रसय, दुई हजारसम्म लिए भन्ने गरेको सुनिन्छ भन्नुभयो । उहाँले राम्रो कार्यको थालनी भएको छ । ईस्युवाइज रुपमा यस्ता कार्यले निरन्तरता पाएमा उपलब्धि हुनेछ भन्ने उल्लेख अधिकारीले गर्नुभयो ।
हिजो प्रश्न सोध्ने ठाउँमा थिएँ, धेरै उठाएँ पनि, अब जवाफ दिनु पर्ने हो कि ? :
‘स्वस्थ्य जीवन हाम्रो अधिकार हो, अखाद्य वस्तु नकिनौं, नबेचौं’ भन्ने नाराका साथ भएको कार्यक्रमका सभाध्यक्ष समेत रहनु भएको जिल्ला समितिका अध्यक्ष नवराज पहाडीले कार्यक्रम भेग जस्तो हुने गरी राख्न पर्नुका बाध्यताबारेमा प्रष्ट्याउनु भएको थियो । उहाँले उदघाटनमा दुई मैनवत्ती बाल्नु अर्थ यौटा उपभोक्ताको अधिकारलाई उजिल्याउन सकियोस् भन्ने हो र अर्को मैनबत्तीको अर्थ व्यापारी, विक्रेता तथा सेवा प्रदायकहरू पनि सचेत हुन आवश्यक छ भन्ने सन्देश दिनका लागि गरिएको जानकारी दिनु हो भन्नुभयो ।
उहाँले जिल्लाका बजारहरूमा पसलै पिच्छे फरक भाउ, लेवल बिनाका सामग्री बेच्ने गरेको लेवल खै ? भनेर सोध्यो, मूल्य त लेखेको रहेनछ नि ? भन्यो भने ‘त्यो कम्पनीलाई भन्न जाने, हामीलाई भन्ने हैन ?’ भन्ने जवाफ दिने गरेको उदारहण सहित प्रष्ट्याउनु भएको थियो । पेशाले पत्रकारसमेत भएको हुँदा हिजोका दिनमा प्रश्न सोध्ने ठाउँमा थिएँ, धेरै प्रश्न उठाएँ पनि तर आज उत्तर पनि दिनु पर्ने हो कि ? पदीय हिसावले भन्ने पनि कता कता लाग्छ भन्दै उहाँले जिल्लामा बढी भाडा लिए वापतमा बसवालालाई सबैभन्दा बढी सजाय दिलाउनेमा आफ्नो नाम एक नंबरमा पर्छ भन्ने लाग्छ भन्दै उपभोक्ताहरू पाइला पाइला र क्षण क्षणमा ठगिने गरेको स्थिति छ भन्नुभयो । तर त्यसको जवाफदेही हुनुपर्ने स्थानीय सरकारहरू कानमा तेल हालेर बसेका छन् । आफूले प्रजिअको समेत निर्देशनबाट जिल्लाका आठवटै स्थानीय सरकारका अनुगमन अधिकृतलाई यो कार्यक्रममा सहभागी हुन पत्राचार गर्ने, फोन सम्पर्क गर्ने गरेको तर आज आठ जनामा एक जनाको पनि अनुहार देख्न पाइएन, यसबाट हाम्रा स्थानीय सरकारहरू उपभोक्ता हितमा के कति संवेदनशील छन् भन्ने अर्को उदाहरण दिइरहन नपर्ला अध्यक्ष पहाडीले उल्लेख गर्नु भयो ।
आफूहरू यस मामलामा सदैव जिल्ला प्रशासनलाई सहयोग गर्न, सहकार्य गर्न तयार रहेको र आफ्नो टिम त्यस अनुसार परिचालन हुनेछ उहाँले भन्नुभयो । कार्यसमिति वा सल्लाहकार समितिमा रहनु हुनेहरू सहकर्मीहरूलाई सके अध्यक्षलाई जित्ने गरी काम गर्न नभए पनि सँगसँगै हिड्नका लागि मानसिक रुपमा र व्यवहारिक रुपमा अघि बढ्न आग्रह छ अन्यथा पदमात्र ओगट्ने काम नगर्नका लागि अनुरोध गर्दछु अध्यक्ष पहाडीले भन्नुभयो ।
उहाँले उक्त कार्यक्रम आयोजना गर्न व्यवस्थापन सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि केन्द्रीय अध्यक्षसतिको टिम, आमा समूहका अध्यक्ष सहितका पदाधिकारीहरू, लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्षसहितका पदाधिकारीहरू तथा सहभागीहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु, आजको कार्यक्रमले संस्थाको उद्देश्य पुरा गर्न प्रेरणा देओस् भन्नुभयो ।
मञ्चका जिल्ला उपाध्यक्ष सन्तोषी गौलीले स्वागत मन्तव्य व्यक्त गर्दै आजको यो कार्यक्रमको सन्देश गाउँ गाउँ, घरघरमा पुग्नु पर्छ र पुग्न सकोस् भन्नुभयो । मञ्चको जिल्ला समितिका कार्यकारी सदस्य विजयरञ्जन पौडेलले उक्त कार्यक्रमको सञ्चालन गर्दै बसभाडा अड्मिल्दो पाएको, पसलेको व्यवहार सन्तोषजनक हुने नगरेका उदारहण समेत प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा जिल्ला सल्लाहकार समितिका संयोजक रमाराज खनिया, सल्लाहकार सदस्यहरू सावित्रा अधिकारी, सुवे. लोठबहादुर गुरुङ र डम्बरबहादुर केसी तथा कार्य समितिका सचिव अनुज अधिकारी, सहसचिव प्रमिला रेग्मी, सदस्यहरू इश्वर अधिकारी, सीता गुरुङ, बाबुराम अधिकारी, कृषला थापा, सोमाया तामाङ, पत्रकार कमला केसी, आमा समूहका अध्यक्षहरू फूलबारीका सलिना श्रेष्ठ, प्रगति टोलका युक्मी गुरुङ, प्रकृति नारी समाजका अतिरुपा सेढाइँलगायत आमा समूहका समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।
समिति सक्रिय रहने संकेत :
उक्त कार्यक्रम पछि केन्द्रीय अध्यक्षको उपस्थितिमा जिल्ला समितिको बैठक बसेको थियो । बैठकले समितिलाई निटक भविष्यमा प्रशिक्षक प्रशिक्षण तालिम दिनका लागि केन्द्रसँग माग गर्ने तथा त्यो तालिम प्राप्त गरेका पछि स्थानीय सरकारसँग सम्बन्धित पाकिलामा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्न माग गर्ने निर्णय गरिएको समितिका उपाध्यक्ष सन्तोषी गौलीले जनाकारी दिनु भएको छ ।
लमजुङमा राष्ट्रिय उपभोक्ता मञ्चको जिल्ला समितिको अध्यक्षमा यसअघि राजेन्द्र लौडारी र डम्बरबहादुर अधिकारी रही सक्नु भएको छ भने नवराज पहाडी तेस्रो अध्यक्ष हुनुहुन्छ । नव गठित समिति गत असोज महिनाको अन्तिम साता बनेको हो । समिति बनेको महिना दिन नबित्दै कार्यक्रम गर्नुले यो समिति सक्रिय रहने छ भन्ने संकेत मिलेको आम बुझाई छ ।

प्रकाशित मिति २०८२ कार्तिक २४, सोमबार २२:४६ गते
हजुरको प्रतिक्रिया