वेपत्ता ८० वर्षीय बृद्धको हतारमा काजक्रिया गरियो, तर भएन मृत्यु दर्ता

वेपत्ता ८० वर्षीय बृद्धको हतारमा काजक्रिया गरियो, तर भएन मृत्यु दर्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ कार्तिक ३० गते आईतबार ०४:५४

बृद्ध गौली यो समाचार तयार गर्दासम्म घरमा पनि फर्कनु भएको छैन भने उहाँको शव फेला परेको अवस्था पनि छैन । ८० वर्षीय बृद्ध जिवनाथ गौलीको हराएको तेस्रो दिनमा नै राम्रोसँग खोज्ने कार्य समेत नगरी काजकृया गरिएको थियो ।

गाउँलेहरूको दबाबमा श्रीमान्को काजक्रिया गर्नु भएकी कोषकुमारी गौली यतिबेला न त सधवा न विधवाको स्थितिबाट गुज्रनु परेको अवस्थामा हुनुहुन्छ ।

कुन्छा(लमजुङ)– लमजुङको स्थानीय निवासी वेपत्ता ८० वर्षीय बृद्धको परिवारजनले राम्रोसँग खोजतलास समेत नगरी हतारमा करिब तीन महिना अघि काजकृया कर्म गरेका थिए । तर, यतिबेला भने उनको मृत्यु दर्ता गर्न कठिन भएको छ ।
सुन्दरबजार नगरपालिका– १ कुन्छ निवासी ८० वर्षीय जिवनाथ गौलीको परिवारलाई त्यस्तो अप्ठेरो परेको हो । एक्लै, लौरोको सहारा बिना राम्रोसँग हिडडुल समेत गर्न नसक्ने उहाँ गत भदौ ४ गतेका दिन बिहान घरबाट निस्केर हिडेको पर्सीपल्टै भदौं ६ गतेबाट राम्रोसँग खोजतलासको काम समेत नगरी परिवारजनले गाउँलेको दबाबमा काजकृयाको काम गरेका थिए । तर, यतिबेला भने उहाँको मृत्यु दर्ता गर्न वडा कार्यालयले नमानेर कठिन भएको परिवारजनको भनाइ छ ।
भदौ ४ गते घरमै श्रीमतीलाई अटो रिक्सा मगाउन लगाएर वडा कार्यालय गएर आउछु भनेर गौली हिडेको तर कुन्छा भञ्ज्याङमा पुगेपछि तत्कालै गाडी चढेर लमजुङकै प्रवेश नाका पाउँदी वजारमा ओर्लिएर त्यहाँ रहेका आफन्तजनसंग भेटघाट गरी गफिएर अपराह्न ४ बजेसम्म बसेको खुल्न आएपछि त्यसपछिको स्थितिका बारेमा कसैले बताउन सकेका छैनन् । उहाँ त्यसरी हिडेपछि घरमा नफर्किएको उहाँकी श्रीमती कोषकुमारी गौलीले बताउनु भयो । उहाँका अनुसार त्यसपछि कता लाग्नु भो ! भन्ने केही थाहा भएन । नातेदारसँग उहाँको बारेमा सोधखोज गरिएको हो’ उहाँले थप भन्नुभयो, ‘तर गाउँ घरका मान्छेले भोलिपल्ट खोजेझैं गरे र पर्सीपल्ट मस्र्याङदी नदी किनारमा उहाँको लौरो टोपी आदि फेला परेपछि उनी छैनन् भन्ने ठहर गरी गाउँले सल्लाहमा भदौ ६ गतेदेखि काजकिरिया गरिएको हो ।’ श्रीमान् आजका दिनसम्म फर्केर नआएको तर अब त मृत्युदर्ता गर्न पर्यो भनेर वडा कार्यालयमा जादा वडा कार्यालयले प्रहरीले बुढालाई वेपत्ताको सूचिमा राखेको छ, मृत्यु दर्ता गर्न मिल्दैन भनेर आफूहरूलाई फिर्ता पठाई दिएको कोषकुमारी गौलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यो रेकर्ड कुन्छा क्षेत्र हेर्ने इलाका प्रहरी कार्यालय भेटेओडार, लमजुङमा रहेको छ रे । पुलिसले मृत्यु भएको भन्ने पत्र लेखेर नदिदासम्म वडा कार्यालयले मृत्यु दर्ता नगर्ने भयो हामी अन्योलमा छौं कोषकुमारी गौलीले भन्नुभयो ।
८० वर्षीय जिवनाथ गौली यो समाचार तयार गर्दासम्म घरमा फर्केको या उहाँको शव पनि फेला परेको अवस्था छैन । गाउँलेहरूको दबाबमा श्रीमान्को काजक्रिया गर्नु भएकी कोषकुमारी गौली यतिबेला न त सधवा न विधवाको स्थितिबाट गुज्रनु परेको अवस्थामा हुनुहुन्छ ।
यस बारेमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा यो घट्ना म आउनु अघिको रहेछ, बुझेपछि मात्र केही भन्ने सकिने भयो, प्रहरीमा सम्पर्क गर्ने कि ? प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयमा बुझ्दा त्यो रेडर्क त तत्कालको लागि सच्याउन मिल्दैन नि. प्रहरी प्रमुख निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताउनु भयो । त्यसो भए त क्रिया गर्ने, मलाम जानेहरूलाई मुद्दा चलाउनु पर्ने होला नि ? त्यो अवस्था त छैन, त्यो नभएपछि त मृत्यु दर्ता गराउने बाटो खोल्नु पर्दैन ? भन्ने थप जिज्ञासामा डिएसपिसाहेव आएपछि सल्लाह गरेर निकासका लागि केही गर्न सकिने रहेछ भने गरौंला त्यो बेलासम्म पर्खानु पर्ला क्षेत्रीले भन्नुभयो ।

प्रकाशित मिति २०८२ कार्तिक ३०, आईतवार १६:५४ गते
हजुरको प्रतिक्रिया