नेपालमा भएका नदीहरूको आ–आफ्नै छुट्टै महत्व रहेको छ । मेचिदेखि महाकाली सम्म हिमश्रृखलाबाट उदगम भएर बग्ने कतिपय नदी धार्मिक महत्वका छन । तर केहि नदीहरू भने धार्मिक दृष्टिकोणले महत्वका मानिदैनन् । तरपनि सबै नदीहरू मानव सभ्यताको इतिहास खोज्ने रुचि भएका पर्यटकहरूका लागि यात्रा गर्नै पर्ने हुन्छ । मानव सभ्यताको विकास नदी किनारबाट भएको मानिन्छ । किनभने सुरुमा मानव जीवनका लागि आवश्यक पर्ने पानी, उर्वर भूमि र यातायातका सहज साधन नदी किनारमा उपलब्ध थिए । नदी किनारबाट मानव सभ्यता संसारभरि नै विकसित हुँदै आएको हो । नदी तट र आसपासका क्षेत्र मानव बसोवास र एक ठाउँबाट अर्को ठाउँमा आवागमन हुने माध्यम पनि हो ।
इतिहासलाई आधार मान्ने हो भने मेसोपोटामिया टिग्रिस र युफ्रेटिस नदीबीच, नाइल नदी किनार, सिन्धु घाटी अर्थात सिन्धु नदी किनार र चीनको ह्वाङ– हो नदी किनारबाट मानव सभ्यताको सुरुवात भएको थियो । नदीले सिंचाइको सुविधा, खेतीपातिका लागि मलिलो माटो, माछा र पानीको स्रोत, तथा व्यापार र यातायातका मार्ग प्रदान गर्ने हुनाले सुरुमा मानिसको बसोबास नदी किनारबाट भएको थियो । मानव सभ्यताको इतिहासमा प्रायः सबै ठाउँका नदीहरू मानव सभ्यताको इतिहास हुन । मर्स्याङदी नदी इतिहास, प्रकृति र पर्यटनको संगम हो । मर्स्याङदी अन्नपूर्ण हिमालको फेदीबाट अर्थात मनाङको तिलिचो तालको बेस खाङसार खोला र न्यार्खू खोलाको संगमबाट उदगम भएको मानिन्छ । हिमालको गर्भबाट निस्किएको मर्स्याङदीको जलधारा मनाङ, लमजुङ, गोरखा र तनहूँको सिमा बन्दै मुग्लीनमा पुगेपछि त्रिशूली नदीमा मिसिन्छ । नदी र खोलाको एउटा प्राकृतिक नियम छ । कुनै पनि स्यानो नदी वा खोला ठूलोमा मिसिन्छ भने स्यानोको नाम सकिन्छ र ठूलो नाममा समाहित हुन्छ । मर्स्याङदी नदीको जलमा हिमालको पवित्रता, यसको घाटहरूमा जनविश्वासको शुद्धता, र यसको किनारमा बसेका बस्तीहरूमा इतिहासको सुगन्ध मिसिएको छ । मर्स्याङदी मानव सभ्यताको इतिहास संस्कृति, धर्म र पर्यटनको यात्रासंग जोडिएको छ । अर्को तर्फ मर्स्याङदी नदीको बहाव क्षेत्र ऐतिहासिक तथा पुरातात्विक क्षेत्र पनि पर्दछ ।

मर्स्याङदी शब्दको व्युत्पत्ति संस्कृत मूलसँग जोडिन्छ । माछा मार्ने स्थान अर्थात मर्षाङ र दी अर्थात पानी मिलेर बनेको नाम । तर धार्मिक अर्थमा यसको व्याख्या छुट्टै रहेको छ । मर्स्याङदी नदीको पानीलाई गङ्गा जलको विकल्प मानिन्छ । जसले पाप धोएर आत्मा शुद्ध गर्ने विश्वास छ । स्थानीय लोककथा अनुसार मर्स्याङदी क्षेत्र ऋषि– मुनीहरूको तपोभूमि थियो । लमजुङ र मनाङका विभिन्न स्थानहरूमा रहेका पुराना गुम्बा, मन्दिर र देवस्थानहरु यस कुराको प्रमाण हुन । बौद्ध समुदायका लागि मर्स्याङदी क्षेत्र ध्यान, मौन र मुक्तिको भूमि हो भने, हिन्दूहरूको दृष्टिमा मर्स्र्याङदी नदी स्नान, तर्पण र श्राद्धको पवित्र स्थल हो । मर्स्याङदीमा स्नान गर्नेले सात जन्मका पाप धोएर आठौं जन्ममा मुक्ति पाइने विस्वास छ । यो विश्वासले मर्स्याङदीका घाटहरूलाई आज पनि धार्मिक पर्यटनको केन्द्र भएको छ ।
गोरखाको रामशाह घाट, दरौदी र मर्स्याङदीको दोभान, सतिघाट, चेपेघाट चेपे र मर्स्याङदीको दाभान, तार्कुघाट, पाउँदीघाट पाउदी र मर्स्याङदीको दोभान, बेलघारी, त्रिवेणी दार्दी र मर्स्याङदीको दोभान, फलियासाँघु अर्थात दलाल, बेसीशहरको करपुरेश्वरघाट मजुवाखोला र मर्स्याङदीको दोभान र खुदीघाट खुदी र मर्स्याङदीको दोभानलगायत प्रख्यात धार्मिक घाटहरू हुन । माघे संक्रान्ति, पितृऔँशी, एकादशी, गङ्गादशहरा र हरिशयन एकादशी जस्ता पर्वमा मर्स्याङदी नदीको यी सबै घाटहरूमा स्नान गर्नेहरुको भीड लाग्दछ । मस्र्याङदी नदी मनाङ, लमजुङ, तनहुँ र गोरखाका लागि जीवनरेखा हो । मर्स्याङदी नदीको तटमा मनाङको चामे लमजुङको जगत र बाहुनडाँडाको फेदीमा रहेको तातो पानीको स्रोतलाई आरोग्य र आत्मिक शुद्धताको प्रतीक मानिन्छ । रोग निको हुने, शरीर हलुका हुने र आत्मा शान्त हुने विश्वासका साथ मानिसहरु स्नान गर्न पुग्दछन । धार्मिक दृष्टिले यो स्थानलाई तपस्याको स्नानस्थल पनि भनिन्छ । बौद्ध चोर्तेनहरू पनि यही नदी किनारमै छन । जसले हिन्दू–बौद्ध समन्वयको सुन्दर उदाहरण प्रस्तुत गर्दछ । मर्स्याङदी जदी विश्वकै उत्कृष्ट र्याफटिङ मार्ग पनि हो । मर्स्याङदी नदीको तीव्र प्रवाहमा साहसिक पर्यटकका लागि अद्वितीय अनुभव हुन्छ । मनाङदेखि मुग्लिङसम्म फैलिएको मर्स्याङदी ट्रेलले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई जोडेको छ । पर्यटकहरू एकै यात्रामा तीर्थ र रोमाञ्च दुवै अनुभूति गर्न सक्छन ।

मर्स्याङदी नदीको नाम बारेमा विभिन्न मत पनि छ । मर्स्याङदी शब्द संस्कृतबाट आएको हो । मर्स्याङदी शब्द संस्कृतको मर्यादिनी वा मर्स्याङदीबाट आएको मानिन्छ । जसको अर्थ ‘उच्च भूभागबाट बग्ने नदी हो । तर मर्स्याङदी शब्द भोटबर्मेलीबाट आएको शब्द हो पनि भनिन्छ । तर पनि लोककथा र नदी र खोलाको नाम अनुसार मगर भाषाबाट आएको मान्यता पनि छ । मगर भाषामा पानीलाई डि भनिन्छ र मर्स्याङदी नदीको सहायक खोलाहरूको पछाडि जस्तै मर्स्याङदी, ङादी, खुदी, दोर्दी, नाउदी, पाउँदी, चुँदी, बराङदी, दरौदी र मादी आदि रहेको हुँदा कुनै कालखण्डमा मर्स्याङदी क्षेत्रमा मगर जातीहरूको बसोवास थियो र यीनी नदीहरूको नाम पनि मगर भाषामा रहेको हो भन्ने तर्क पनि छ । मर्स्याङदीलाई कर्मदा नदी पनि भनिन्छ । यसको पौराणिक धार्मिक महत्वसँग जोडिएको छ । कर्मदा शब्द संस्कृतमा दुई भागमा विभाजित हुन्छ । कर्म काम, पुन्यकर्म, धर्मकर्म दान दिने, प्रदान गर्ने । त्यसैले कर्मदाको अर्थ हुन्छ कर्म पुण्यफल दिने नदी वा धर्मकर्म सफल पार्ने नदी । मर्स्याङदी कर्मदा नदीमा स्नान वा दान गर्नाले पाप नास भएर पुन्य प्राप्ति हुन्छ भन्ने मान्यता छ । पुराणहरुमा ‘कर्मदा तीर्थ नामले उल्लेख भएका केही स्थानहरू छन । जहाँ स्नान गर्दा विगतका कर्मका दोष मेटिने विश्वास छ । यही विश्वासका कारण मर्स्याङदीको किनारका मन्दिरहरू धार्मिक स्नान र तर्पणका लागि पवित्र मानिन्छ । मर्स्याङदीको किनारमा वर्षमा विभिन्न समयमा माघे संक्रान्ति, ऋषि तर्पणी, र पितृ पक्षमा स्नान, दान र श्राद्ध गर्ने प्रचलन छ । यी कर्महरू सफल हुने विश्वासका कारण मर्स्याङदी नदीलाई कर्मफल दिने कर्मदा नदी भनिन्छ । अर्को तर्फ हिमाल शुद्धता र माटो जीवन दुबैको प्रतीक भएकाले यसलाई कर्मफल दिने शक्तिको रुपमा लिइन्छ । हिमालको चिसो जललाई देवताहरूको वरदान र कर्म शुद्ध गर्ने अमृतका रुपमा बुझिन्छ ।

मर्स्याङदी नदी किनार मानव सभ्यताको विकासक्रम देखिनै मानव इतिहासको पनि सुरुवात भएको छ । वास्तवमा शिलालेख इतिहासका स्रोतहरू हुन । तर मर्स्याङदी नदी किनारका सबै मानव बस्तीहरूमा इतिहासका शिलालेख भेटिदैन । तर पनि इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । इतिहासको खोज अनुसन्धान अहिल्य सकिदैन । मर्स्याङदी नदीको भूगोलमा इतिहास लुकेको छ । इतिहासविदहरूका अनुसार, गुरुङहरू हान जातिबाट उत्पत्ति भएको र मध्य एसियाबाट सर्दै र फैलिदैँ आएका हुन । तर केही विद्वानले भने गुरुङहरू मगंोलबाट बसाइ सरेकाहरु हुन भनेका छन । तर मानव सभ्यताको विकास भएको मूल थलोहरू मध्ये चीनको ह्वाङहो नदीबाट नै गुरुङ जातिको पनि उत्पति भएको मानिन्छ । ह्वाङवो नदीमा उत्पति भएपछि हजारौं वर्षपछि गुरुङहरू तिब्बतको भूमिहुँदै मुस्ताङ भएर मनाङतिर आइपुगेका थिए । मनाङको ङावलमा अर्थात मर्स्याङदी किनारमा घले राजाहरूले १० पुस्ता राज्य गरेको इतिहास भेटिन्छ । त्यो बेला तमु अर्थात गुरुङहरू शिकारको यात्रामा नयाँ ठाउँहरू राम्रो लागेमा बसाइ समेत सर्ने गर्दथिए । इतिहास विदहरुका अनुसार तमुहरू बि.स.५५६ तिर शिकार खेल्दै अन्नपूर्ण हिमश्रृंखला पार गरी अहिलेको भुजुङ गाउँमा आएका थिए ।

अहिले पनि मर्स्याङदी किनारमा बसोबास गुरुङ, तामाङ, मगर, क्षेत्री, नेवार र ब्राह्मण सबैको जीवन यसै नदीसँग गाँसिएको छ । मानव सभ्यताको प्रारम्भका कथाहरू सुन्दा हामीले सधैं मिस्रको नाइल, मेसोपोटामियाका टिग्रिस–युफ्रेटिस, सिन्धु उपत्यकाको सरस्वती– सिन्धु नदी किनारलाई लिने गर्दछौ । जहाँ नदी नै जीवनको स्रोत र सभ्यताको मेरुदण्ड थियो । तर नेपालका नदी किनारमा आजसम्म कुनै ठूलो, स्थायी मानव सभ्यताको अवशेष, नगर संरचना, शिलालेख, नियोजित बसोबास, वा प्रागैतिहासिक सांस्कृतिक तह भेटिएको छैन । यसले के देखाउछ भने नेपालमा नदीको किनारा सभ्यता विकासका लागि उपयुक्त थिएन ? वा नदीहरूले इतिहासका सबै पुराना पत्रहरू बगायो ? या पहाडी मानव–जीवनको सभ्यतानै भिन्न थियो ? खोजको ििबषय भएको छ । तर पनि नदी– सभ्यता सम्बन्धी मिथक र भूगोलका यथार्थबीचको वैज्ञानिक, ऐतिहासिक र मानवशास्त्रीय अन्तर्सम्बन्धमा केन्द्रित छ ।
मर्स्याङदी नदी किनारमा युद्धका छापहरू छन । घलेराजालाई यशोब्रह्म शाहका सेनाले मारेका खुदी नजिक बावुवा बगर अथवा गोरखा र लमजुङको युद्धमा मारिएका तार्कघाटको युद्धको इतिहासले पनि मानव सभ्यताको इतिहासको बारेमा अध्यन गर्न सकिन्छ । मर्स्याङदी नदीको उदगमस्थल मनाङको प्राय धेरै बस्तीहरू नदीको किनारमा छन । उपल्लो मनाङको बस्ती मात्र नभएर चामे, बगरछाप, थोचे, तिल्चे जस्ता गाउँहरू मानव सभ्यतासंग जोडिएका छन । घेर्मुका घले राजाको दरवारको भग्नावेश अझै पनि भेटिन्छ । मर्स्याङदी नदी किनार ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक स्थलले पनि मानव सभ्यताको उत्पत्तिबारे खोज अध्यन गर्न सकिने धेरै ठाउँहरू छन । त्यसैले मानव सभ्यताको इतिहास अध्यन गर्न चाहने कुनै पनि शोधकर्ताले सर्वप्रथम खोज्ने स्थान हो नदीको किनार । नदी किनार केवल पानी बग्ने ठाउँ मात्र होइन त्यो हजारौँ वर्षका मानिसका पाइला, श्रम, संस्कार र विचारहरूको मौन संग्रहालय पनि हो ।

नदीको हरेक तहको माटोले एउटा युग ओढेर बसिरहेको हुन्छ, र हरेक अवशेषले कुनै न कुनै सभ्यताको धडकन बोकेको हुन्छ । मर्स्याङदी नदी केवल कृषि र व्यापारको स्रोत मात्र होइन, धार्मिक आस्थाको केन्द्र पनि थियो । मूर्ति, शिवलिंग आदि भेटिनुले सभ्यताको धार्मिक संस्कृति कस्तो थियो भन्ने बताउँछ । अभिलेख नभएको सभ्यताको संरचना बुझ्न धेरै कठिन हुन्छ । नदी किनार केवल इतिहासको अध्याय होइन । यो मानव जीवनको जन्म, संघर्ष, प्रतिभा, संस्कार र विनाश सबै क्षणहरूको मौन साक्षी पनि हो । मर्स्याङदी नदीका ऐतिहासिक घाटहरू धार्मिक आस्था र सांस्कृतिक निरन्तरताका साक्षी बनेका जीवित अभिलेख हुन । दरादी र मर्स्याङदीको दोभानको रामशाहघाट, तनहुँ र गोरखाको सिमामा पर्ने सतिघाट जहा आदीकवी भानुभक्तको दाहसंस्कार भएको थियो । बेसीशहरको यशोब्रह्म शाहकालीन करपुरेश्वरघाट विशेष रुपमा गोरखा– लमजुङ र तनहँुको इतिहाससँग जोडिएका महत्वपूर्ण घाट हुन ।

मर्स्याङदी नदी कल कल बगि रहेको छ । मर्स्याङदीको नागवेली सुन्दरतालाई बचाइ राख्नु नै सार्वजनिक हित हो । नदी जलीय जैविक विविधतासंग मानव अस्तित्व पनि जोडिएको छ । मर्स्याङदी नदी पहाडी खोंच विश्वकै अत्यन्त सुन्दर र कठोर भू–आकृतिमा पर्छ, जसले गर्दा ट्रेकिङ, साहसिक खेल र पर्यटनको महत्वपूर्ण आधार बनेको छ । मर्स्याङदी र मानव–आवासको इतिहास पछिल्लो सयौँ वर्षदेखि मर्स्याङदी नदीले बनाएको उपत्यकाले मानवीय जीवनलाई जोडेको छ । मानव बसोबासका प्रारम्भिक प्रमाण मनाङ– लमजुङ क्षेत्रमा प्रागैतिहासिक बसोबासका चिनारीहरु भेटिन्छन । पत्थरका औजार, गुफा–आवास, पुराना ‘हिमाली मार्ग मानवको प्रारम्भिक गतिविधिका प्रमाण हुन । मानाङका गुरुङ, घले, तिब्बती मूलका भोटिया समुदायहरू मर्स्याङदी नदीसँग जोडिएर विकसित भए । मर्स्याङदी नदी विगतमा तिब्बत– नेपाल व्यापार मार्गको मुख्य करिडोर थियो । नुन, उन, आयुर्वेदिक वनस्पति, घोडा आदी व्यापारका वस्तु मर्स्याङदी नदीको पदमागृबाट हुने गर्दथियो । आधुनिक सभ्यतामा यसको भूमिका अझै विस्तार भएको छ ।

मर्स्याङदी नदी अहिले जलविद्युत उत्पादनको प्रमुख स्रोत बनेको छ । मर्स्याङदी, मध्य मर्स्याङदी र अपर मर्स्याङदी जस्ता ठूला परियोजनाहरूले देशको उर्जा क्षेत्रमा योगदान पुर्याइरहेको छ । तर यसले धार्मिक र प्राकृतिक घाटहरूमा असर पनि पारिरहेको छ । नदीको प्रवाह परिवर्तन हुँदा पुराना घाटहरू र मन्दिरहरू डुबानमा पर्न थालेका छन । यदि समयमै संरक्षण र व्यवस्थापनमा ध्यान दिइएन भने मर्स्याङदीको धार्मिक पहिचान हराउने खतरा छ । त्यसैले स्थानीय सरकार र समुदायले मर्स्याङदी सांस्कृतिक–धार्मिक ट्रेल निर्माण गर्नु पर्ने भएको छ । जसले घाटहरुलाई पुनःसंरक्षण, भौतिक सुधार र पर्यटकमैत्री पूर्वाधारमा रुपान्तरण गर्न सक्छ । मर्स्याङदी नदीको सांस्कृतिक–धार्मिक ट्रेल निर्माणले संसारको सबैभन्दा अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, गुम्बा, माने, ताल तथा चाँदीझैं टल्कने हिमालहरूले सबै पर्यटकको मन तान्दछ । पर्यटकहरू मनाङमा हिमाली क्षेत्रको मनोरम दृष्य अवलोकन गर्ने उद्देश्यका साथ अन्नपूर्ण पदमार्गको यात्रा गर्दछन ।

मर्स्याङदी नदीमा सन्चालनमा आएका जलविद्युत परियोजनाले वातावरणको प्राकृतिक जीवन चक्र बिग्रदै गएको छ । तर अहिले राज्यले पुनः ठाउँ ठाउँमा हाईड्रोपावर निर्माण गर्न दिदा जनस्तरबाट बिरोध हुन थालेको छ । मर्स्याङदी जलविद्युत आयोजनाहरूका कारण नदीको प्राकृतिक प्रवाहमा परिवर्तन हुदैछ । मर्स्याङदी मूलतः उच्च पहाडबाट बग्ने तीव्र गतिको नदी हो । जलविद्युत आयोजना बनाउनका लागि नदीको पानी डाइभर्सन अर्थात पानी मोडने टनेल र पाइपमार्फत पावर हाउसमा पुर्याइन्छ । यसले गर्दा नदीको प्राकृतिक प्रवाह घटछ र नदी तलको भागमा पानीको मात्रा घटने हुन्छ । माछा र जलीय जीवको नाश हुन्छ । मर्स्याङदी जलविद्युत परियोजनाहरु पहाडी भू–भागमा छन । टनेल, सडक, पेनस्टक, हेडरेस, ट्रान्समिशन लाइन आदि निर्माण गर्दा र ठूला मेसिन प्रयोग गरी चट्टान फुटाउन ब्लास्टिङ जस्ता कार्य अत्यधिक हुन्छ । जस्ले गर्दा माटो खुकुलो बनाउँछ । वर्षामा पहिरो बढाउँछ । वन– जंगल र जैविक विविधता घटने हुन्छ । यसले चराचुरुङ्गी र वन्यजन्तुका आवास क्षेत्रमा असर पुग्दछ । विकासको नाममा मर्स्याङदी नदीको वातावरण बिग्रन दिन हुदैन । मानव सभ्यतासंग जोडिएको मर्स्याङदी नदीलाई सबैले संरक्षण गर्नु पर्दछ ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८२ मंसिर १६, मंगलवार १०:१४ गते