
बेसीशहर(लमजुङ)– शहलमजुङमा पछिल्लो पाँच दिनदेखि बेखबर रहेका एक व्यक्ति बेसीशहर नगरपालिका– १ को गाइखुरे झरना नजिक पेन्टिङडाँडा माथिको जंगलमा मृत फेला परेका छन् । बेसीशहर नगरपालिका– ८, तामाङटोलमा बस्दै आएका ५७ वर्षीय बुद्धिबहादुर बोहरा मृत अवस्थामा फेला परेको र घटनाको प्रकृति केही शंकास्पद देखिएको प्रहरी भनाइ छ ।
बोहरा बेपत्ता भएको भोलिपल्टै परिवारजनले प्रहरीलाई सम्भावित स्थानहरूमा खोजी गर्दा पनि फेला नपरेपछि परिवारले प्रहरीमा जानकारी गराउनुका साथै खोजीदिन निवेदन दिएका थिए । वेपत्ता उनको प्रहरी र उनका आफन्तजनले खोजी कार्य जारी राखेका थिए । खोजतलासका क्रममा उनका छोरा प्रविन बोहरा र साथीहरूले सो जंगलमा शव फेला पारेका हुन् । त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । उनी त्यो जंगलको बीचमा के कसरी पुगे भन्ने पनि शंकाको विषय बनिरहेको छ । 
बेसीशहर नगरपालिका– २, बोहोराबेसी गाउँमा स्थायी बासोबास भएका बोहरा असार २१ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार उनी बेसीशहर नगरपालिका– १, उदिपुरको गाइखुरे झरना नजिक पेन्टिङडाँडा माथिको जंगलमा मृत अवस्थामा भेटिएका हुन् ।
धिमिरे गाउँ जाने सडकको दायाँतर्फ सडकबाट करिब डेढ सय मिटरमाथिको जंगलमा बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनु भयो । उहाँका अनुसार घटनाको प्रकृति केही शंकास्पद देखिएको छ । उहाँले भन्नुभयो, ‘अनुहार केही थिचिएको जस्तो देखिन्छ । शव गलेका कारणले पनि त्यस्तो देखिएको हुन सक्छ, अन्य कारण पनि हुन सक्छन्, शव परीक्षणपछि थप तथ्य खुल्ने अपेक्षा छ ।’
प्रहरीका अनुसार मृतकको शरीरका विभिन्न भागमा चोट देखिएको छ भने विशेषगरी टाउको र अनुहारमा गम्भीर चोट रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साथै, परिवारका अनुसार बोहराले लगाएका करिब छ तोला सुनका गहना पनि शवसँग फेला नपरेकाले सुन लुट्न हत्या गरिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
बोहरा नेपाली सेनाबाट निवृत्त व्यक्ति हुन् । उनी सुन्दरबजार नगरपालिकाको भोटेओडार क्षेत्रतर्फ तास खेल्न जाने गरेको बुझिएको प्रहरी भनाइ छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि बेसीशहरस्थित प्रदेश अस्पताल पठाएको जनाएको छ ।
उनी सडकबाट माथिल्लो जंगल क्षेत्रमा कसरी पुगे भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । बोहरासँग हिँडडुल गर्ने एक व्यक्तिलाई सोधपुछका लागि प्रहरीले हिजै नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए ।
मृतक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बेसीशहर नगरपालिका– ८ को वडा समितिका अध्यक्षसमेत रहेका थिए ।

प्रकाशित मिति २०८३ असार २५, बिहीबार १७:४९ गते