
पोखरा– पोखरा बसपार्क क्षेत्रमा सुकुमबासीहरूको नाउँमा बसोबास गरिरहेका २३३ परिवारको स्वामित्वमा जग्गा जमित रहेको फेला परेको छ । ती सुकुमबासीहरूको पहिचान गर्न गठित समितिले तयार गरेको प्रतिवेदनमा त्यस्तो खुलासा भएको हो । सो प्रतिवेदन मेयर धनराज आचार्यलाई समितिले असार २७ गते बुझाएको छ ।
उक्त समितिले करिब डेढ महिना अवधि लगाएर अध्ययन गरी तयार गरेको ६२७ पृष्ठ लामो प्रतिवेदनमा त्यस्तो खुलासा भएको हो । सो प्रतिवेदन बुझ्दै मेयर धनराज आचार्यले महानगरपालिकाले महत्वपूर्ण दस्ताबेजका रूपमा ग्रहण गरेको बताउनु भयो । उहाँले आवश्यक अध्ययन तथा विश्लेषणपछि उपयुक्त समयमा सार्वजनिक गरिने जानकारी दिनुभयो । आधुनिक बसपार्क निर्माणलाई व्यवस्थित, पारदर्शी र कानूनी प्रक्रियाअनुसार अगाडि बढाउने प्रतिबद्धताका साथ सुकुमबासीहरूको उचित व्यवस्थापन गरिने उहाँले आश्वासन दिनु भयो ।
पोखरा महानगर प्रशासन महाशाखा प्रमुख एवम् समिति संयोजक कृष्णप्रसाद तिवारी नेतृत्वमा समिति गठन भएको थियो । समितिले छानबिन क्रममा वडा कार्यालयबाट सिफारिस भएका ५७४ निवेदनमाथि विस्तृत अध्ययन गरिएको थियो । समितिले जिल्ला प्रशासन कार्यालय र भूमि प्रशासन कार्यालयको सरकारी डिजिटल प्रणालीबाट अध्ययन गरेर प्रतिवेदन तयार गरेको संयोजक कृष्ण तिवारीले बताउनु भयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयको केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि प्रशासन कार्यालयको भूमि अभिलेख सूचना प्रणालीमार्फत सम्बन्धित व्यक्तिहरूको विवरण ‘भेरिफाइ’ गरिएको प्रतिवेदनलाई पूर्णता दिइएको हो ।
उहाँले भन्नुभया,े ‘हामीले प्रविधिको प्रयोग गरेर यो रिपोर्ट तयार गरेका छौं । केन्द्रीयस्तरका प्रणालीमै पहुँच राखेर अध्ययन गर्दा केहीको अन्यत्र जग्गा फेला परेको छ ।’
अध्ययनका क्रममा सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई हटाउनुअघि उचित व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् समितिका संयोजकको भनाइ छ । उहाँका अनुसार उनीहरूले सम्भव भएसम्म वडा ९ भित्रै वा पायक पर्ने ठाउँमा व्यवस्थापन प्याकेज ल्याउन अनुरोध गरेका थिए । उनीहरूको मागलाई समेत प्रतिवेदनमा सुझावका रुपमा पेस गरिएको छ ।
मेयर आचार्यलाई बुझाइएको प्रतिवेदन अब बस्ने महानगर कार्यपालिकाको बैठकमा छलफलका लागि पेस गरिनेछ । कार्यपालिकाले प्रतिवेदनमाथि आवश्यक छलफल गरी स्वामित्व ग्रहण गरेपछि सुकुमबासी व्यवस्थापन तथा बसपार्क क्षेत्रको जग्गा संरक्षणका लागि थप काम अघि बढाउने महानगरले जानकारी दिएको छ ।
पृथ्वीचोकमा सुविधासम्पन्न आधुनिक बसपार्क निर्माण गर्ने पोखरा महानगर योजना क्रमबद्ध रूपमा अगाडि बढिरहेको छ । सोअनुरुप गत असार ४ गतेदेखि बसपार्कका अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको थियो । पहिलो दिनमै महानगरले ३ वटा डोजर प्रयोग गरी पृथ्वी राजमार्ग मूल सडकसँग जोडिएका तथा दक्षिणतर्फका करिब २ सय घरटहरा भत्काइएको थियो । क्रमशः त्यहाँका अतिक्रमित संरचना भत्काइएको थियो । महानगरले त्यस क्षेत्रमा घरटहरा खाली गर्न यसअघि नै सार्वजनिक सूचना जारी गरेकामा अधिकांशले खाली गराइसकेका थिए । घरटहरा खाली भइसकेपछि मात्र महानगरले डोजर चलाएको हो ।
योसँगै महानगरपालिकाले सुकुमबासी व्यवस्थापनका लागि जग्गा खोजी गर्न छुट्टै समिति गठन गरेको छ । समितिले पहिलो चरणमा ६ ठाउँ सिफारिस गरेकोमा केही जग्गाहरू अन्य संघ संस्थाको लालपुर्जाभित्र पर्ने भएकाले पुनः सिफारिस गर्न समय थपिएको छ । वडा १७ की वडाध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा गठित समितिले थप जग्गाको खोजी गरिरहेको जनाएको छ । यस्तै, सिफारिस हुने जग्गाको प्राविधिक पक्ष अध्ययनका लागि इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा गठित अर्को समितिले पनि आफ्नो काम गरिरहेको पोखरा महानगरपालिकाले जनाएको छ ।
त्यसबाहेक न्यायिक निरुपणका लागि अर्को समिति पनि गठन भएको छ ।

प्रकाशित मिति २०८३ असार २७, शनिबार ०६:३१ गते