
काठमाडौँ– सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा राखिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न पाँचौं पटक अनुमति दिएको छ । विशेष अदालतले असार २९ गते सो म्याद थप गरिएको हो ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले पूर्वउपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका पौडेलउपर अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको हो । न्यायाधीश द्वयको इजलासले २८ गते दुवै पक्षको बहस सुनेपछि विभागलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
विशेष अदालतले सम्पत्ति अनुसन्धान विभागले अनुसन्धान कार्य नसकिएको म्याद थपका लागि अदालतसँग अनुमति मागेको थियो । यसरी म्याद थप गरिएको यो पाँचौँपटक हो ।
पौडेललाई यही असार ८ गते सुर्खेतबाट प्रहरीले पक्राउ गरेका थियो । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विभागको निर्देशनमा प्रहरीले पौडेलमाथि अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका क्रममा पौडेलमाथि एक व्यवसायीलाई गैरकानुनी लाभ पु¥याउन सहयोगी भूमिका निर्वाह गरेको आरोप छ । थुना म्याद थपका लागि अदालतमा उपस्थित गराउँदा सरकारी पक्षले श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको कारोबार शंकास्पद देखिएको दाबी गरेको थियो ।
पौडेलकी पत्नीले आफ्ना पतिको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदन खारेज भएको छ ।

प्रकाशित मिति २०८३ असार २९, सोमबार २१:०२ गते