
ललितपुर– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनको तयारी चलिरहेको बेलामा पार्टी भित्रको दुई धारले आआफ्नो तरिकाले महाधिवेशन तयारी गरिरहेका छन् । यसै सन्दर्भमा १४ औँ महाधिवेशनबाट निर्वाचित तत्कालीन केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई १५औँ महाधिवेशनको आयोजक समितिमा समेट्ने निर्णय भदौ २८ गते गरेको छ । तर काँग्रेसको संस्थापन इतर पक्षले त्यो निर्णयलाई त्यसै दिन अर्थहीन भनेको छ ।
कांग्रेसले १६ देखि १९ असोजसम्म १५औँ महाधिवेशन गर्ने मिति तोकेको छ, भने संस्थापनइतरले मंसिर २१ देखि २३ सम्मको कार्यतालिका बनाएको छ ।
पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा सानेपा स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीभित्र बृहत् एकता र सबैको अपनत्व स्थापित गर्न उक्त निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनु भयो । उहाँका अनुसार विशेष केन्द्रीय महाधिवेशनपूर्व शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा रहेका तथा विशेष महाधिवेशनमा सहभागी नभएका तत्कालीन केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सदस्यकै हैसियतमा सहभागी गराउन विधानबमोजिम आवश्यक प्रबन्ध गरिने निर्णय भएको छ । उहाँले भन्नुभयो, ‘पार्टीमा कुनै पनि असन्तुष्टि बाँकी नरहोस् भन्ने उद्देश्यले सबै पक्षलाई समेटेर अघि बढ्न लागिएको छ ।’
उक्त बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म ऐतिहासिक खुला मञ्चमा १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी भदौ ३ र ४ गते वडा अधिवेशन सुरु गर्ने निर्णय समेत गरेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।
यसअघि पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए ।
देउवा नेतृत्वको समिति रहेका तर विशेष महाधिवेशनको विपक्षमा रहेका सबैलाई समेट्ने विषयले कांग्रेसमा विवाद भएको थियो ।
बैठकअघि नेता चन्द्र भण्डारीले महाधिवेशन आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाई १४औँ महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई समेटिने दाबी गर्नु भएको थियो ।
संस्थापनइतरले विशेष महाधिवेशनमा विपक्षमा रहेका १११ जना पूर्व केन्द्रीय सदस्यलाई समायोजन गर्नुपर्ने प्रस्ताव गरेको थियो । यसअघि विशेष महाधिवेशनको विरुद्धमा रहेका सबैलाई एकमुष्ट समायोजन गर्ने पक्षमा संस्थापन देखिएको थिएन ।
कार्यसम्पादनको आजको बैठकले सभापति गगन थापा नेतृत्वको समितिमा आउन इच्छुक सबैलाई भिर्त्याउने निर्णय गरेको छ ।
क्रियाशील सदस्यता अद्यावधिक गरेका मात्रै १५ औं महाधिवशेनका सदस्य हुने पूर्व अडानबाट संस्थापन पछि हटेको छ ।
सक्रिय सहभागिताका लागि अपिल :
यसैबीच, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नु भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
महामन्त्री पौडेलले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई पार्टीको साङ्गठनिक तथा राजनीतिक जीवनको महत्त्वपूर्ण अवसरका रूपमा लिँदै सबै तहका अधिवेशनमा उत्साहपूर्ण रुपमा भाग लिन आह्वान गर्नु भएको हो ।
सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने सबैलाई पार्टीले धन्यवाद ज्ञापन गरेको महामन्त्री पौडेलको भनाइ छ ।
बैठकले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले कुनै असहमति भएमा आफ्ना धारणा राख्ने र समाधान खोज्ने उपयुक्त स्थान महाधिवेशन नै भएको निर्णय गरेको छ । महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण बनाउन कांग्रेस प्रतिबद्ध रहेको निर्णय गरेको महामन्त्री पौडेलले उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्र खुला मञ्चमा असोज १६ गते दिउँसो १ बजे गर्ने निर्णय गरेको छ । कांग्रेस महाधिवेशनको बन्द सत्रका लागि असोज १५ गतेदेखि २० गतेसम्म राष्ट्रिय सभागृह बुक गरिसकिएको छ ।
समयाभावका कारण जिल्ला र प्रदेशको अधिवेशन भने महाधिवेशन पछि गरिने भएको छ ।
संस्थापनको निर्णय अर्थहीन : देउवा पक्ष
नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा आउने बाटो खुलाएको छ । तर, पूर्वसभापति देउवानिकट रहेका नेताले भने पार्टीको उक्त निर्णयको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् ।
देउवा निकट नेता
ले पार्टीको कार्यसम्पादन समितिले लिएको निर्णय पार्टीभित्रको विवादको अन्तर्वस्तु नै नरहेकाले त्यसको अर्थ नभएको बताउनु भयो । उहाँका अनुसार पार्टीभित्र अहिलेको विवाद केही थान नेतालाई अदला–बदली गर्दैमा, वा केही थान नेतालाई जिम्मेवारी दिँदैमा समाधान हुन्न । उहाँले भन्नुभयो, ‘त्यो निर्णयले पार्टीभित्रको विवादको अन्तर्वस्तुबारे कुनै समाधान दिँदैन, विवादको मूल विषय १५ औं महाधिवेशन कसले गर्ने भन्ने हो । १४ औं महाधिवेशनबाट निर्वाचित समितिले गर्ने कि, विशेष महाधिवेशनको समिति गर्ने भन्ने हो । यो प्रश्न कानुनी, राजनीतिक र सैद्धान्तिक प्रश्न हो । त्यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।’
त्यसको उत्तर केन्द्रीय समितिको वैधतासँग जोडिएको उहाँको तर्क छ । भन्नुहुन्छ, ‘यो गम्भीर कानुनी विषय हो । त्यही भएकाले हामी सर्वोच्च अदालतमा पुनरवलोकनमा गएका हौं ।’
नेता साउदले भन्नुभयो, ‘यो केही व्यक्तिलाई लैजान मात्रै गरिएको कुरा हो । यो नैतिकतासँग पनि जोडिएको विषय भएकाले स्वीकार्ने कुरा होइन ।’ केही मान्छे यताउता आउने–जाने क्रम चलिरहने पनि बताउँदै यस विषयमा आफ्नो पक्षले बैठक बसेर आवश्यक निर्णय लिने नेता साउदले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८३ भाद्र २९, सोमबार ०८:३२ गते