त्रिशूलीको बाढी : मृत्यु, त्रासदी र विपत्तिमा ‘डार्क टुरिजम’

त्रिशूलीको बाढी : मृत्यु, त्रासदी र विपत्तिमा ‘डार्क टुरिजम’

के. वि. मसाल

@antaranganews

२०८३ भदौ ३० गते बुधबार १०:४५

भोटेकोशीमा आएको विशाल हिमबाढी नेपालको पछिल्लो इतिहासकै सबैभन्दा कहालीलाग्दो विपद हो । नदी किनारका बस्ती बगेर रसुवा र नुवाकोटमा हजारौं बेपत्ता र विस्थापित भएका छन । बाढी त्रिशूली हुँदै देवीघाटसम्म झर्दा थप विनाश भयो । 

भोटेकोशी अहिले हेर्ने ठाउँ होइन, सुन्ने र सिक्ने ठाउँ हो । यही सुन्ने–सिक्ने यात्रानै ‘डार्क टुरिजम’ हो । भोटेकोशीको बाढीले पीडा मात्र होइन, ठूलो पाठ पनि सिकायो ।

पर्यटन भन्नासाथ हामी रमाइलो खोज्छौं, तर अहिले रसुवा– नुवाकोटमा भइरहेको पर्यटन रमाइलोको होइन, सम्झना र सिकाइको हो । यसैलाई ‘डार्क टुरिजम’ भनिन्छ । पर्यटनका लागि भोटेकोशी–त्रिशूली करिडोर अहिले विपदको अध्यन केन्द्र बनेको छ । रसुवा, नुवाकोट र धादिङ अहिले यसको ज्वलन्त उदाहरण बनेका छन् । भाद्र १० गते चीनको तिब्बतबाट आएको भोटेकोशीको विनाशकारी बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती हुँदै नुवाकोटको त्रिशूली बजार, ढुंगे, देवीघाटसम्मका बस्ती, जलविद्युत आयोजना र गल्छी– स्याफ्रुबेसी सडक नै तहसनहस बनायो । त्यही भग्नावशेष हेर्न जाने पर्यटकहरूको सख्या अहिले बढेको छ ।
‘डार्क टुरिजम’ भनेको मृत्यु, त्रासदी, विपत्ति, युद्ध वा डरसँग जोडिएका ठाउँहरूको यात्रा गर्ने पर्यटन हो । बिशेष गरी पर्यटन फुर्सदको बेला रमाइलोका लागि गरिन्छ भने, डार्क टुरिजम इतिहास, मानव पीडा र जीवनको अर्को पाटो बुझ्नका लागि गरिन्छ । यसलाई अंग्रेजीमा थानाटोरिज्म भनिन्छ ।  थानाटोस भनेको ग्रीक भाषामा मृत्युको देवता हो । साधारण पर्यटनमा पर्यटक सुन्दरता हेर्न यात्रा गर्दछन  । तर, डार्क टुरिजममा पर्यटक त्रासदी बुझ्न पुग्दछन । पर्यटन यात्राको उद्देश्य फरक हुन्छ । हिमाल र प्रकृतिसंगको सौन्दर्यतामा रमाउने पर्यटन भन्दा डार्क टुरिजमको उद्देश्य के भयो ? किन भयो ? भन्ने कुरामा पर्यटकहरूको सोच केन्द्रित हुन्छ । यो यात्रामा संवेदनशीलता र फोटो खिच्ने हतार होइन मौनता हुन्छ । डार्क टुरिजममा विपदले छोएको संवेदनशील भूमि र मानवीय पीडालाई नजिकबाट बुझने यात्रा हो । त्यसैले यस यात्रामा रमाइलो भन्दा पनि जिम्मेवारी र आचारसंहिता ठूलो हुन्छ । डार्क टुरिजममा पर्यटकहरूले गर्ने सबैभन्दा ठूलो कुरा भनेको सुन्ने र बुझ्ने हो । स्थानीयसँग बसेर सोध्ने कति बजे पानी बढयो ? तपाईं कसरी ज्यान जोगाएर निस्कनुभयो ? त्यो रात के भयो ? यी संवादबाट नै विपदको वास्तविक रुप, त्यसको पीडा र बाँच्ने साहस बुझ्न सकिन्छ ।

यो यात्रा फोटो खिच्ने र भिडिओ बनाउने भन्दा पनि विपदका कथा सुन्ने हुन्छ । यस यात्रामा रमाइलो भन्दा ज्यान ठूलो हुन्छ । गृह मन्त्रालयले नै भोटेकोशी– त्रिशूली तटीय क्षेत्र र गल्छी– रसुवा सडकखण्डलाई उच्च जोखिमयुक्त क्षेत्र भनेर घोषणा गरेको छ । त्यसैले प्रशासनको आधिकारिक सूचना नबुझी, सडक खुलेको र बन्द भएको अवस्था नहेरी यात्रा गर्नु हुँदैन । भग्नावशेषमा उभिएर सेल्फी नखिचौँ, टिकटक नबनाऔँ । कसैको भत्केको घर, बाढीले बगाएको जीवनभरको कमाइको अगाडि हाँसेर फोटो खिच्नु भनेको पीडितको घाउमा नुनचुक छर्कनु सरह हो । यात्राका पर्यटकहरूको एक क्षणको रमाइलोले उहाँहरूको जीवनभरको पीडालाई गिज्याउन सक्छ । अहिले भोटेकोशी र त्रिशूली करिडोर घुम्ने ठाउँ होइन, उद्धार र पुनः निर्माण क्षेत्र हो । त्यहाँ अझै सेना, चिकित्सक र उद्धारकर्मीहरू दिनरात खटिरहेका छन । पर्यटकको गाडीहरूले एम्बुलेन्सको बाटो छेक्नु हुँदैन, डोजर रोकिनु हुँदैन । यात्रामा हल्ला र अफवाह नफैलाऔँ । आधिकारिक पुष्टि नभई यति जना मरे, उति जना बेपत्ता भनेर नबोलौँ, नलेखौँ । अपुष्ट संख्याले त्रास मात्र फैलाउँछ, सत्यलाई कमजोर बनाउँछ । डार्क टुरिजमले प्रकृतिको शक्ति र मानवीय संवेदनशीलता दुबै सिकाउँछ । त्यसैले हेरौँ, सुनौँ, बुझौँ तर पीडालाई सम्मान गर्न सिकौ ।

default

डार्क टुरिजमको सुरुवात खोज्ने हो भने, यो शब्द पहिलो पटक सन् १९९६ मा प्रोफेसर जोन लेनन र माल्कम फोलीले प्रयोग गरेका थिए । तर मानिसहरू पहिलेदेखि नै यस्ता ठाउँमा पुग्ने गर्दथिए । जस्तै रोमन कालमा ग्लाडिएटर लडाइँ हेर्न जाने वा मध्ययुगमा सार्वजनिक मृत्युदण्ड हेर्न जाने गर्दथिए । पर्यटनको भाषामा डार्क टुरिजम धेरै किसिमका हुन्छन । तर सबै डार्क टुरिजम एउटै तहको भने हुँदैन । पहिलो जहाँ मृत्यु हुन्छ त्यहाँ पीडाको प्रत्यक्ष अनुभव हुन्छ । अर्कोतर्फ विपत्ति पछिको अवशेष हेर्ने हुन्छ । मानिसहरू विपत्ति पछिको अवस्था बुझ्न, श्रद्धाञ्जली दिन र मृतकहरूप्रति सम्मान व्यक्त गर्न पुग्दछन । पर्यटन केवल रमाइलो मात्र होइन, कहिलेकाहीँ मृत्यु, पीडा र त्रासदी बुझ्ने माध्यम पनि हो । पर्यटनका लागि पोल्याण्डको अस्विटज, युक्रेनको चेरनोबिल र जापानको हिरोशिमा जस्ता पर्यटकीयस्थल दशकौंपछि, पूर्ण सुरक्षा जाँच र शैक्षिक उद्देश्यका साथ मात्र खोलिएका हुन । नेपालमा पनि डार्क टुरिजमको सम्भावना भएका ठाउँ धेरै छन । तर हामीले व्यवस्थित रुपमा पर्यटन भनेर विकास गरेका छैनौं । दरबार हत्याकाण्ड नारायणहिटी दरबार संग्रहालय, २०७२ सालको भूकम्पले बिनास गरेको गोरखाको पारपाक र अन्य गाउँका अवशेषहरू मात्र नभएर सशस्त्र द्वन्द्वसँग जोडिएका गाउँ ठाउँहरू जस्ता विपत्तिका ठाउँहरू धेरै छन ।

त्रिशूली नदीले रसुवा, नुवाकोट र धादिङमा बिनाशकारी बाढीले धेरै ठाउँमा नक्सा नै बदलेर गयो । ३३ हजारभन्दा बढी जीवन अहिले महाविपत्तिमा छन । यो बाढीले केवल घर बगाएन । यसले आश्रय बगायो, रोजगारी बगायो, र आफन्तका अन्तिम चिनोहरू बगायो । २०७२ को महाभूकम्पमा दर्जनौँ आफन्त र घरबास गुमाएर उठेको गाउँ मैलुङ, फेरि उजाड बनायो । भूकम्पले त मानिस र संरचना मात्र ढालेको थियो । यसपटकको बाढीले त बाँच्ने भूमि नै बगाइदियो । जीवन जिउने आधार नै सकियो । यो पानीको बाढी थिएन । यो त पहाडको बाढी थियो । माथि हिम पहाड चिरा चिरा परेर फुट्यो । आकाशबाट पहाड खसेजस्तै घरजत्रा बरफका ढिक्का, विशाल चट्टान, माटो र गेग्रानको भीमकाय डेब्रिज हुंकार गर्दै साँघुरो खोला च्यापेर सिंगो पहाड नै बगिरहेको थियो । केही मिनेटमा तलका बस्तीहरूको इतिहास सकियो । मानिसले बुझने, सोच्ने समय नै पाएनन । यस्तो भूगोलको पर्यटन सुन्दरताको लागि होइन, सत्यको लागि हो । सर्वस्व गुमाएर आँखामा आँसु लुकाएर बसिरहेका जीवित मानिसहरूको कहाली लाग्दो र भावविह्वल पर्यटन हो ।

default

भोटेकोशी अझै शोकमा छ, बाढीले बगाएका मानिसहरूको खोजी कार्य जारी छ । टिमुरे, रसुवागढी भन्सार, घट्टेखोला, स्याफ्रुबेँसी, मैलुङ हुँदै विदुरसम्म सखाप पार्ने यो सामान्य बाढी थिएन । हिमाल फुटदा तराईसम्म त्रास फैलाउने जलवायु विपत्तिको नमुना हो । बाढीले थुनेर बनेका अस्थायी ताल जुनसुकै बेला फुटन सक्छन, भिरबाट पहिरो जाने जोखिम उत्तिकै छ । यस्तो अवस्थामा विपत्ति हेर्न जानु गलत होइन, तर विपत्ति चलिरहेकै बेला रमिता हेर्न जानु भने गलत हो । भोटेकोशी अहिले हेर्ने होइन, बुझ्ने र सिक्ने ठाउँ हो । यस्तो बेला त्यहाँ जानु उद्धारमा बाधा पु¥याउनु र आफै जोखिम मोल्नु हो । आजभोलि देवीघाटमा बजार छैन, बगर मात्रै छ । तर बगरमा हजारौं मानिसहरू हुन्छन । बिहान ५ बजेदेखि नै त्रिशूली किनारमा लौरो टेकेर, प्लास्टिकको झोला र हराएका आफन्तको फोटो बोकेर उभिनेहरूको लामो लाइन हुन्छ । त्यहाँ कोही कसैलाई चिन्दैन, नाम सोध्दैन । सबैको एउटै प्रश्न हुन्छ तपाईंको को हरायो ? कसैको छोरा रसुवागढीको सुरुङमा थियो, कसैकी आमा बेत्रावतीको पसलमा थिइन, कसैको श्रीमान चिलिमेको पावर हाउसमा ड्युटीमा थियो ।
अकल्पनीय बाढीले बेत्रावती बजारलाई बगर बनायो । टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली र देवीघाटसम्म उस्तै असाधारण र हृदयविदारक दृश्य छ । बाचेका परिवारहरू हरेक दिन त्रिशूली किनारमा आफ्नो मानिस भेटिने आशामा कुरिरहेका छन । बगरमा तालिमप्राप्त कुकुरले शव खोजिरहेका छन, देवीघाटमा बौद्ध भिक्षुहरू मृतकको सुगतिका लागि प्रार्थना गरिरहेका छन । यो विपद आफैंमा डार्क टुरिजमको क्षेत्र बनेको छ । तर यसलाई सस्तो मनोरञ्जन बनाउनु हुँदैन । विपद देख्नुले मानिसलाई सचेत बनाउँछ । जलवायु परिवर्तनले हिमाल पग्लिएर नदी कसरी उर्लिन्छ भन्ने किताबमा पढ्नुभन्दा त्रिशूली किनारमा उभिएर बुझ्नु बढी प्रभावकारी हुन्छ । तर त्रासदीलाई कन्टेन्ट बनाउन थाल्दा समस्या सुरु हुन्छ । उद्धार चलिरहँदा ड्रोन उडाएर भ्युज बटुल्नु पर्यटन होइन । आफन्त रोइरहेको ठाउँमा गाइज, यहाँ त बबाल बाढी आयो भनेर चिच्याउनु ‘डार्क टुरिजम’ होइन, शोकको व्यापार हो । पर्यटनको भाषामा डार्क टुरिजम भनेको मृत्यु, विपत्ति र त्रासदीले चिनिएको ठाउँमा गरिने यात्रा हो । भोटेकोशी– त्रिशूलीमा आएको विनाशकारी बाढीले सयौँको ज्यान लिएर, हजारौँलाई बेपत्ता पारेर सिंगो मुलुकलाई शोकमा डुबाएको छ । रसुवा लगायत तटीय क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । सरकारी विवरण अनुसार नै बेत्रावतीदेखि स्याफ्रुबेँसी– रसुवागढी जोड्ने ४० किलोमिटर सडक र ४१ वटा पुल पूर्ण रुपमा बगेका छन । त्यसैले सर्वसाधारण देवीघाट, त्रिशूली, बेत्रावतीसम्म पुग्न सके पनि त्योभन्दा माथि मैलुङ, स्याफ्रुबेँसी, घट्टेखोला, टिमुरेसम्म सेना, प्रहरी र राहतको हेली बाहेक कोही पुग्न सक्दैन । यही कारण क्षतिको यथार्थ विवरण अझै आउन सकेको छैन । यस्तो बेला ‘डार्क टुरिजम’मा जानेले फोटो खिच्ने होइन, मानवीय ऐक्यबद्धता, समवेदना र पीडितप्रति सहानुभूति देखाउनुपर्छ ।
बाढीले बगेको त्यो ठाउँ नाका मात्र होइन, इतिहास पनि हो । लिङ्दे र केरुङ खोला मिलेर भोटेकोशी बन्ने दोभानमा रहेको रसुवागढी, डेढ शताब्दी पुरानो गढी हो । १८५० को दशकमा जंगबहादुर राणाले तिब्बत अभियानका क्रममा बनाएको रसुवागढी किल्ला दुई शताब्दीभन्दा बढी चलेको नाकाको साक्षी थियो, जुन केही मिनेटमै ध्वस्त भयो । त्यस क्षेत्रको दर्दनाक दृश्यले सबैको मन स्तब्ध बनाउछ । बाढीले स्याफ्रुबेसी बजार र टिमुरे भन्सार क्षेत्रलाई सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँ रहेका ठूला होटल, लज तथा भन्सार क्षेत्रमा काम गर्ने मजदुर र कर्मचारीहरूलाई बाढीले बगाएको छ । भन्सार यार्डमा रोकिएका सवारी साधन, मालबाहक ट्रक र तिनका चालकहरू पनि बाढीको चपेटामा परेका छन । यसैगरी नेपाल हुँदै मानसरोवर कैलाशको यात्रा गर्न आएका पर्यटकहरू समेत बेपत्ता भएका छन । टिमुरे नाकामा यात्रा तयारीमा रहेका केही पर्यटक समूह सम्पर्कविहीन भएका छन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले पनि बेपत्ताहरूको खोजी कार्यलाई तीव्रता दिएको छ । तर लगातारको वर्षा, लेदो र भत्किएको सडकका कारण उद्धार र खोजी कार्यमा कठिनाइ भइरहेको छ । स्याफ्रुबेसी– रसुवागढी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध हुँदा उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न समेत समस्या परेको छ । अहिलेसम्म धेरै शवहरू फेला परेका छन, कैयौँको पहिचान हुन सकेको छैन । बेपत्ता हुनेको संख्या अझै यकिन हुन सकेको छैन ।
भोटेकोशीमा आएको विशाल हिमबाढी नेपालको पछिल्लो इतिहासकै सबैभन्दा कहालीलाग्दो विपद हो । नदी किनारका बस्ती बगेर रसुवा र नुवाकोटमा हजारौं बेपत्ता र विस्थापित भएका छन । बाढी त्रिशूली हुँदै देवीघाटसम्म झर्दा थप विनाश भयो । देवीघाटमा पृथ्वीनारायण शाहको समाधिस्थल बाढीले पुरिदिएको छ । तादी र त्रिशूलीको संगममा रहेको देवीघाट बजार घर बगेर बगर र हिलो  बालुवाले पुरिएका छन । बजार मसानघाट जस्तै सुनसान छ, विस्थापित भएर परिवारलाई होल्डिङ सेन्टरमा राखिएका छन । तादीका दुवै पुल बगाउँदा टुटेको रसुवागढी– गल्छी सडक अहिले नेपाली सेनाले बेलिब्रिज र एक्रोब्रिज बनाएर जोडेको छ । रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म त्रिशूली किनारका बस्तीको जनजीवन अस्तव्यस्त छ । कोही सिंगो परिवार नै बेपत्ता छन, कोहीले आफन्त गुमाएका छन, कोही आफन्त कहाँ त कोही होल्डिङ सेन्टरमा छन । जीवनभरको कमाइ, घर, कागजात, सुन सबै भग्नावशेषमा परिणत भएको छ । भग्नावशेष हटाउने, नदी व्यवस्थापन, कटान पहिरो नियन्त्रण र पुनः स्थापनाका लागि ठूलो रकम र समय लाग्ने देखिन्छ ।
विपदको बेला त्यो ठाउँ हेर्न जाने, समाचार बनाउने उत्सुकता हुनु स्वाभाविक हो । मान्छेमा जिज्ञासा हुन्छ । विपद वा युद्धस्थललाई जिज्ञासा र शिक्षाका लागि हेर्नु नै डार्क टुरिजम हो, जुन आफैंमा नराम्रो होइन । तर समस्या तब सुरु हुन्छ, जब पीडितको पीडालाई कन्टेन्ट बनाएर भाइरल हुने होड चल्छ । त्यो पर्यटन होइन, सोझै आँसुको व्यापार हो । अहिले देवीघाट, विदुर र बेत्रावतीमा बाइक र कारको भीडले एम्बुलेन्स, डोजर र राहतका ट्रक रोकिएका छन । यो घुम्ने बेला होइन । कृपया याद राख्नुहोस भग्नावशेषमा चढेर सेल्फी, टिकटक, रिल्स नबनाउनुहोस । शवको पृष्ठभूमिमा फोटो नखिच्नुहोस । स्थानीयको घर र पसलमा बिना अनुमति नपस्नुहोस । राहतको खाना, बाटो र डुंगा आफ्नो घुमफिरका लागि प्रयोग नगर्नुहोस । रोइरहेका बालबालिका र शवको नजिकबाट भिडियो खिच्ने, अनि राहतको लाइनमा विज्ञापन जोडेर पैसा कमाउने प्रवृत्ति पीडामाथिको थप पीडा हो । मृतकको अनुहार र क्षतविक्षत शवको क्लोजअप कहिल्यै नदेखाउनुहोस । परिवारको सहमति बिना नाम, ठेगाना सार्वजनिक नगर्नुहोस । महिला, बालबालिका र घाइतेको अनुहार, विशेषगरी रुँदा कराउँदाको अवस्था ब्लर गर्नुहोस । ‘आमाको बिचल्ली’ जस्ता सनसनीपूर्ण थम्बनेल नबनाउनुहोस ।
पत्रकार साथीहरूलाई अनुरोध हचुवामा संख्या नभन्नुहोस, विपद प्राधिकरण र जिल्ला प्रशासनको आधिकारिक स्रोत उद्धृत गर्नुहोस । निषेधित क्षेत्रमा प्रेस कार्ड देखाएर जबरजस्ती नपस्नुहोस । एउटै परिवारलाई १० वटा माइकले नघेर्नुहोस । उद्धार हेलिकप्टरको बाटो छेक्ने गरी ड्रोन नउडाउनुहोस । त्यहाँ पुगेर ‘कस्तो लागिरहेको छ ? होइन, अहिले तपाईंलाई के आवश्यक छ ?’ भनेर सोध्नुहोस यदि विपदको भिडियोबाट कमाउनुहुन्छ भने आम्दानीको केही प्रतिशत पीडितलाई दिने खुला घोषणा गर्नुहोस, नत्र त्यो आँसुको व्यापार नै ठहरिन्छ । भोटेकोशी अहिले हेर्ने ठाउँ होइन, सुन्ने र सिक्ने ठाउँ हो । यही सुन्ने–सिक्ने यात्रानै ‘डार्क टुरिजम’ हो । भोटेकोशीको बाढीले पीडा मात्र होइन, ठूलो पाठ पनि सिकायो ।
जापानको सुनामी मेमोरियल र इन्डोनेसियाको ज्वालामुखी संग्रहालयजस्तै, विपदकै ठाउँमा स्मृति र सिकाइका केन्द्र बनेका छन, जहाँ लाखौं पर्यटकहरू पुग्छन । अब भोटेकोशी र त्रिशूलीका किनारलाई स्मृति पार्क र विपद संग्रहालय बनाऔं । पार्कमा बाढीले बगाएका गाडीका अवशेष, भत्किएको मितेरी पुलका टुक्रा र बेपत्ता भएकाहरूको नामावली सम्मानका साथ राखौं । संग्रहालयमा बाढी कसरी आयो र कसरी जलविद्युत, भन्सार र सडक सखाप बनायो भन्ने वैज्ञानिक चित्रण गरौं । यसो गर्न सकियो भने ती ठाउँ केवल भग्नावशेष रहँदैन । विद्यार्थी, इन्जिनियर र पत्रकारका लागि विपद व्यवस्थापन सिक्ने लाइभ ल्याब बन्छ । पर्यटकका लागि नयाँ र गम्भीर गन्तव्य बन्छ । चहलपहल बढेपछि होमस्टे, गाइड, क्याफे चल्छ, स्थानीय रोजगारी सिर्जना हुन्छ र अर्थतन्त्र चलायमान हुन्छ । यो नै बेपत्ता र दिवंगतप्रति साँचो सम्मान हुनेछ ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलो रोज्नु भई लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)

प्रकाशित मिति २०८३ भाद्र ३१, बुधबार १०:४५ गते
हजुरको प्रतिक्रिया