
बेसीशहर– निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याव्सन लमजुङले सञ्चालन गरेको माविस्तरीय छात्र–छात्रा व्याडमिन्टन तथा आधारभूतस्तरीय छात्र–छात्रा टेबल टेनिस २ दिने प्रतियोगिताको समापन गरिएको छ । विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजित दुवै प्रतियोगिताको भदौ २८ गते समापन गरिएको हो ।
प्रतियोगिताको दुवै विधामा जिल्लाका विभिन्न १२/१२ विद्यालयका विद्यार्थीले भाग लिएका थिए । माध्यमिकस्तरीय व्याडमिन्टन प्रतियोगिता बेसीशहरस्थित फिटनेस कम्प्लेक्समा सञ्चालन गरिएको थियो । त्यस्तै, आधारभूतस्तरीय टेबल टेनिस प्रतियोगिता भूपू सैनिक आवासीय विद्यालयमा सञ्चालन भएको प्याव्सन लमजुङका सचिव विनोद गुरुङले बताउनु भयो । उहाँका अनुसार यी प्रतियोगिता प्याव्सनको नियमित कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो ।
उहाँले भन्नुभयो ‘मा.वि.स्तरीय ब्याडमिटन प्रतियोगितामा पहिलो एलोन्जा तामाङ (भू. पू. सैनिक आ.मा.वि., बेसीशहर), दास्रो ग्रीष्मा लामा (युनिभर्सल एकेडेमी), तेस्रो सुप्रिया बोहोरा (विद्या विकास) भएका छन् । सोही खेलको छात्र तर्फ पहिलो कुशल गुरुङ (ग्लोबल भिजन, भोटेओडार), दोस्रो सुविध गुरुङ (युनिभर्सल एकेडेमी), दिप्सन श्रेष्ठ (अर्थली प्याराडाइज) तेस्रो भएका छन् ।’
यसैगरी, नि.मा.वि.स्तरीय टेबल टेनिस प्रतियोगितामा छात्रातर्फ, पहिलो बसन्ती गुरुङ (विद्या विकास आ.मा.वि.), दोस्रो जुलियाना तामाङ (हिमचुली आ.मा.वि.), तेस्रो काश्मी गुरुङ (भू. पू. सैनिक आ.मा.वि., बेसीशहर) छन् भने छात्रतर्फ पहिलो सुगम भण्डारी (हिमचुली आ.मा.वि.), दोस्रो आशिष सुनार (ग्लोबल भिजन, भोटेओडार) र तेस्रो नीरज गुरुङ (युनिभर्सल एकेडेमी, बेसीशहर) भएको प्याव्सन लमजुङका सचिव गुरुङले बताउनु भयो ।
उहाँका अनुसार प्याव्सन लमजुङका प्रमुख सल्लाहकार मेनबहादुर घले प्रमुख अतिथ्यतामा भएको सो प्रतियोगिता अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा भएको थियो । प्याव्सन लमजुङका उपाध्यक्ष विमल अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव विनोद गुरुङले गर्नु भएको थियो । उहाँले प्रतियोगितामा विजयी हुने विद्यार्थी तथा विद्यालयलाई प्याव्सन दिवस– २०८३ का अवसरमा आउँदो पुस २४ गते पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।
सो अवसरमा प्याव्सनका जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू तथा प्रतियोगितामा भाग लिएका विद्यालयका प्रिन्सिपलहरूको सहभागिता थियो ।
विद्यालयस्तरमा खेलकुद गतिविधिलाई प्राथमिकता दिँदै आयोजना गर्ने गरिएका यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा लुकेका खेल प्रतीभाको पहिचान र विकास गर्नुका साथै जिल्लाको विद्यालयस्तरीय खेलकुद प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति २०८३ भाद्र ३१, बुधबार १७:३८ गते