आज विश्वकर्मा पूजा एवम् यसको धार्मिक महत्त्व

आज विश्वकर्मा पूजा एवम् यसको धार्मिक महत्त्व

एजेन्सी

@antaranganews

२०८३ भदौ ३१ गते बिहिबार ०७:२४

उनै विश्वकर्माले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको धार्मिक विश्वास रहेको छ । ऋग्वेदमा उनको महत्वका ११ ऋचा लेखिएका छन् ।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ ।

काठमाडौं– आज विश्वकर्मा पूजा गर्ने दिन । यो दिन भगवान विश्वकर्माको जन्म भएको हुँदा यो दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । हरेक वर्ष कन्या संक्रान्ति(असोज १ गते)को दिन विश्वकर्मा पूजा गरिन्छ । खासगरी कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउने गर्दछन् ।
विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनको पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेतको आज पूजाआराधना गरिन्छ ।
विभिन्न कलकारखानामा भगवान विश्वकर्मा बाबाको तस्वीरमा विधिपूर्वक पूजाआराधना गरी श्रमिकले दिवस भव्यताका साथ मनाउने तयारी गरेका छन् । विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ, र ऋग्वेदमा उनको महत्वका ११ ऋचा लेखिएका छन् ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको हो ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
को हुन् भगवान विश्वकर्मा बाबा ?
भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएको शास्त्रीय मत छ । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।
विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिने विश्वकर्माले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेको धार्मिक विश्वास रहेको छ ।
विश्वकर्माकै अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।
भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरू लेखेर गरिएको छ ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ ।
लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित शहर एवम् आवास निर्माण गर्नेको संख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवम् अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
यसैगरी, आजै कन्या संक्रान्तिका दिन काठमाडौंसहित देशभर विश्वकर्मा पूजा मनाइँदैछ ।

प्रकाशित मिति २०८३ आश्विन १, बिहीबार ०७:२४ गते
हजुरको प्रतिक्रिया