बेसीशहर(लमजुङ)– प्रथम टुर दी लमजुङ २०२६ मा भाग लिन देशभरका पाँच सय बढी साइकल धावकहरू लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा भेला भएका छन् । उक्त कार्यक्रमको तयारी पुरा भएको छ । उक्त साइक्लिङको सम्पूर्ण यात्रा करिब ४० किमि दूरीको रहेको आयोजकले बताएका छन् ।
लमजुङ साइक्लिङ संघ लमजुङको आयोजनामा प्रथम टुर दी लमजुङ २०२६ को आयोजना गरेको हो । विभिन्न जिल्लाबाट बस रिजर्भ गरेर सहभागीहरू बेसीशहर आइपुगेका छन् । उक्त कार्यक्रममा भाग लिनका लागि मेरी– महाकाली, महाकाली– मेची यात्राका सहभागीहरू समेत भाग लिन आएका छन् ।

काठमाडौंको नारायणस्थानबाट ६५ वर्षीय यादव ढकाल घरदेखि नै साइकल चलाएर आएको बताउनु भयो । उहाँले पहिलो दिन अस्ति भदौ ३१ गते आएर कुरिनटार आएर बसेको र हिजो बिहान १०ः४५ बजे बेसीशहर आइपुगेको बताउनु भयो । आज पनि खुदीसम्म घुमेर आएँ, साइकलमै उहाँले सुनाउनु भयो ।
यसैगरी, साइकल टिसी हेटौडाबाट १२ जनाको टोली आएको जानकारी दिदै सो संस्थाका अध्यक्ष लेखनाथ ढकालले बताउनु भयो । सो संस्थाका महासचिव रामप्रसाद फुयाँल तथा संस्थापक अध्यक्ष दिपक खड्का तीन जनाको टोली कहिल्यै नछुटेको महासचिव फुयाँलले बताउनु भयो । ‘म पहिले दमको रोगी थिएँ । बा– आमाले त मर्छस् भन्नुहुन्थ्यो तर म ऐले स्वस्थ्य भएको छु,’ उहाँले गर्वका साथ सुनाउनु भयो । उहाँका अनुसार आफ्नो संस्थाको आयोजनामा हेटौडादेखि सौराहसम्म ४५० जनाको साइकल यात्रीको टोलीलाई सहभागी गराई जंगल सफारी गराई दुई दिने कार्यक्रम गरेका छौं, विगतमा दुई पटक गरिएको यो कार्यक्रम आउँदो वर्ष फेरि गर्ने कार्यक्रम छ । उहाँले आफू दमको रोगी भएर पनि दिनमै १६५ किमिको यात्रा साइकलबाट पुरा गरेको गरेको सुनाउनु भयो । उहाँसँग हात छाडेर साइकल चालउने सक्ने क्षमतासमेत रहेको उहाँका साथी उक्त संस्थाका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

हेटौडाकै हिमाललयन राइडर सोसाइटीका सदस्य सीता श्रेष्ठले भन्नुभयो, ‘नेपाल भएको बेलामा हुने यस्ता कार्यक्रममा प्रायः म छुट्दिन ।’ यसैगरी, ललितपुर महानगरपालिका– १६ न्यालखु टोलकी मञ्जरी शाक्यले म शरीरको सन्तुलन र मनोरञ्जन तथा नयाँ ठाउँ हेर्ने शोखको लागि भाग लिन आएकी हुँ भन्नुभयो । त्यस्तै, ललितपुर महानगर– १९ की शर्मिला शाहीले ‘अब बुढेसकाल लाग्यो, रमाउनका लागि आएकी हुँ’ भन्नुभयो ।
यसैगरी, बाराको डुमरमानाबाट पहेलो सटमा राजकुमार अर्यालको नेतृत्वमा एक टोली भाग लिन आएको समेत जानकारीमा आएको छ ।

कार्यक्रमको उद्देश्य :
लमजुङलाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउने उद्देश्यले पर्यटन प्रवद्र्धनका लागि उक्त कार्यक्रम गरिएको आयोजक लमजुङ साइक्लिङ संघका अध्यक्ष एवम् संघका गण्डकी प्रदेश सदस्य ध्रुवराम प्रधानले बताउनु भयो । उहाँका अनुसार सहभागीहरू असोज २ बिहान ११ बजेदेखिनै आउने क्रम सुरु भएको हो । उहाँका अनुसार केही सहभागी त हिजै पनि आउनु भएको हो । उहाँले भन्नुभयो ‘सहभागीहरू सबै आज नै आइपुग्ने कार्यक्रम छ ।’
सहभागीहरूको स्वागत सत्कार एवम् बासका लागि होटलको प्रवन्ध लगायतका काममा स्वयम्सेवकहरू खटिएको आयोजकको भनाइ छ ।

उक्त साइकल यात्रामा पाँच सय बढीले भाग लिने भएको आयोजकको भनाइ छ । आयोजक संस्थाका सदस्य एवम् नाम दर्ता तथा आवास व्यवस्थापन उपसमितिका संयोजक सञ्जोग लामिछानेले उक्त कार्यक्रममा ४६ भन्दा बढी जिल्लाबाट ५४७ सहभागीहरूले नाम दर्ता गराएको बताए । उनका अनुसार कुल सहभागीमध्ये ५२ जना महिला छन् । उनले भने, ‘यसअघि उक्त साइकल यात्रामा देशभरका विभिन्न जिल्लाबाट करिब ४ सय साइकल यात्री सहभागी हुने आंकलन सुरुमा गरिएको थियो तर अपेक्षाभन्दा बढी सहभागी हुने भएपछि हामी थप उत्साहित भएका छौं ।’ करिब ३५ जनाले विपद्का कारण आउन नसक्ने जानकारी गराएका छन् छामिछानेले भने ।

सहभागीका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँमा नाम दर्ता गर्न सक्ने प्रवन्ध गरिएको आयोजकले बताए । सहभागीलाई आधिकारिक टी–सर्ट, कार्यक्रम व्याग, तीन दिनको भोजन, खाजा, दुई रातको आवास प्रवन्ध गरिएको आयोजक समितिका सदस्य लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम सम्पन्न गर्नका लागि करिब २८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, ‘उक्त साइक्लिङको सम्पूर्ण यात्रा करिब ४० किमि दूरीको रहेको छ ।’
‘कार्यक्रमले लमजुङलाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न तथा साथै ग्रामीण पर्यटनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’ लमजुङ साइक्लिङ संघका अध्यक्ष एवम् संघका गण्डकी प्रदेश सदस्य ध्रुवराम प्रधानले भने ‘यस जिल्लाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले साइकल यात्रा मार्फत जिल्लाको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्य छ ।’

प्रथम टुर दी लमजुङ २०२६ लमजुङको पर्यटन प्रवद्र्धनसँगै जिल्लामा साइकल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
कार्यक्रमको उद्घाटन असोज ३ गते विहान बेसीशहर नगरपालिका– ८ को सेरा चोकमा गर्ने तयारी रहेको आयोजक समितिका अर्का सदस्य भरत रानाले जानकारी दिनु भयो । उहाँका अनुसार त्यस दिन बेसीशहर आसपासका क्षेत्रहरूमा यात्रा गराइनेछ । दोस्रो दिन बेसीशहरबाट चण्डीडाँडा, बिन्दाबेसी, बाग्लुङपानी, कपुरगाउँ हुँदै जिल्लाको पहिलो पर्यटकीय स्मार्ट घलेगाउँसम्म साइकल यात्रा गराइने छ । त्यस दिन साइकल यात्रीलाई सोही स्मार्ट घलेगाउँको होमस्टेमा बास बसाइने र साँझ गुरुङ सांस्कृति कार्यक्रम प्रदर्शन गरिने छ रानाले उल्लेख गर्नुभयो ।

आयोजकका अनुसार तेस्रो दिन घलेगाउँबाट नायुँ, घनपोखरा, रोप्लेफाँट, साम्बा चोक, सुरुङ मार्ग, भुलभुले हुँदै हमखोला झरनामा पुगेर कार्यक्रम समापन गर्ने तयारी छ ।
उक्त कार्यक्रमको मुख्य उद्देश्यमा लमजुङको पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपालमा साइकल पर्यटनको विकासलाई प्रोत्साहन गर्नु रहेको छ । यससँगै खेलकुद मार्फत स्वस्थ जीवनशैलीको प्रवद्र्धन, वातावरणमैत्री यातायातको सन्देश प्रवाह, युवा पुस्तालाई साहसिक पर्यटनतर्फ आकर्षित गर्ने, स्थानीय कला, संस्कृति, परम्परा र आतिथ्य व्यवसायलाई प्रवर्द्धन गर्ने तथा स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने समेतको लक्ष्य रहेको आयोजकको भनाइ छ ।
पर्यावरण संरक्षण र दिगो पर्यटनको अवधारणालाई व्यवहारमा उतार्न पनि कार्यक्रमले सहयोग पु¥याउनुको साथै साइकल यात्रीबीच अनुभव आदान प्रदानको अवसर मिल्ने विश्वास छ । त्यस्तै, ग्रामीण क्षेत्रमा पर्यटकको आगमन बढ्दा स्थानीय होटल, होमस्टे, कृषि उत्पादन तथा साना व्यवसायमा प्रत्यक्ष आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ ।

यस वर्षबाट सुरु हुन लागेको ‘टुर दि लमजुङ’लाई आगामी वर्षहरूमा अझ बृहत् राष्ट्यि तथा अन्तर्राष्ट्यि साइकल महोत्सवका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
लमजुङमा पहिलो पटक आयोजना हुन लागेको यस प्रकृतिको साइकल यात्राले जिल्लाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास आयोजकको छ ।

प्रकाशित मिति २०८३ आश्विन २, शुक्रबार २०:२२ गते