
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सचिवालय बैठक सो दलको केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेको अध्यक्षतामा आज बस्यो । बैठकले ७ वटा निर्णय गरेको असोज ४ गते सार्वजनिक गरिएको हो ।
बैठकमा रास्वपाका सभापति रवि लामिछानेले संगठन बलियो बनाउन पार्टी, सरकार र संसदबीचको दूरी घटाउनुपर्ने विषयमा जोड दिनुभयो । उहाँले संगठन बलियो बनाउनतिर लाग्न सबैलाई निर्देशन दिनु भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताउनु भयो । उहाँका अनुसार बैठकले रसुवा बाढीका पीडितहरूलाई राहत र पुनस्र्थापना एकैपटक गर्नुपर्ने अवस्था भएको र यसलाई सकेसम्म प्रभावकारी बनाउनुपर्ने सुझाव सरकारलाई बैठकले दिएको छ ।
बाढीमा परेर ज्यान गुमाएकाहरूको डिएनए संकलन, शव व्यवस्थापन र मृत्यु प्रमाणपत्र दिने विषयमा छलफल भएको प्रवक्त खरेलको भनाइ छ । बैठकमा रास्वपाकी उपसभापति समेत रहेकी कानुनमन्त्री सोबिता गौतमले बाढीमा परेर बेपत्ता भएकाहरूको परिवारलाई तत्काल मृत्यु प्रमाणपत्र दिन कानुनी अड्चन रहेको जानकारी गराउनु भएको थियो ।
सचिवालय बैठकले भने बाढीमा परेर बेपत्ता भएकाहरूको शव पहिचान नभए पनि परिवारले चाहे मृत्यु प्रमाणपत्र दिन मिल्ने गरी कानुनी अड्चन फुकाउन भनेको प्रवक्ता खरेलले उल्लेख गर्नुभयो । उहाँका अनुसार आजको सचिवालय बैठकमा सेप्टेम्बर २२ देखि सुरू हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन शाह अमेरिका जाने विषयबारे छलफल भएको छ । प्रधानमन्त्री शाह असोज ६ गते महासभामा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ ।
प्रवक्ता खरेलले भन्नुभयो ‘नेपालमा राजनीतिक परिवर्तन भएको र रास्वपाले नेतृत्व गरेको सरकारले आर्थिक तथा समृद्धिका लागि काम गरिरहेको भनेर अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिनुपर्ने, क्लाइमेट जस्टिसका विषय उठाउनुपर्ने र रसुवा बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय सहयोग चाहिएको लगायतका विषय उठाउनु पर्ने सचिवालयको सुझाव छन् ।’
विभिन्न विभागमा सदस्यहरू थप :
यसैबीच, रास्वपाले आजको सचिवालय बैठकले आफ्ना विभिन्न विभागमा सदस्यहरू थप गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टी केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिइएको छ । सो आयोगमा अधिवक्ता हरिचन्द्र भट्टराई, अधिवक्ता सुशीला सिंखडा, रामचन्द्र कार्की, अधिवक्ता शान्ता थापा, अधिवक्ता नन्दन तिमिल्सिना, अधिवक्ता रोहन बोहजू, अधिवक्ता भविन्द्र राई, अधिवक्ता सन्तोष आचार्य, अधिवक्ता सन्तोष बिसुंखे र अधिवक्ता श्वेता कुमारी मनोनित हुनु भएको छ ।
युवा तथा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखमा ज्ञानेन्द्र मल्ललाई मनोनयन गरिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्कीलाई मनोनयन गरिएको पार्टीका प्रवक्ता खरेलले बताउनुभयो । उहाँका अनुसार सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई मनोनित गरिएको छ ।
पार्टीका गतिविधिहरू पुनः सुचारु गर्ने निर्णय भएको जानकारी दिदै प्रवक्ता खरेलले भन्नुभयो, भोटेकोशी विपद्का कारण राष्ट्रिय शोक र राहतमा केन्द्रित हुनुपरेकाले स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधिहरू पुनः सुचारु गर्ने निर्णय भएको छ । यसअन्तर्गत ‘हामी सुन्छौँ अभियान,’ ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया लगायतका साङ्गठनिक तथा जनसम्पर्कका कार्यक्रमहरू अब अविलम्ब अघि बढाउने निर्णय भएको छ ।

प्रकाशित मिति २०८३ आश्विन ४, आईतवार १९:२७ गते