
लमजुङ– नेपाल प्रेस युनियन लमजुङ शाखाको ८ औं अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति डा टकराज गुरुङको प्रमुख आतिथ्यता सो अधिवेशन असोज ६ गते भएको हो । नवनिर्वाचितहरूलाई पद समेत हस्तान्तरण गरिएको छ ।
अधिवेशनले निरज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ भने सचिवमा विराट न्यौपान चयन हुनु भएको छ । निरज अधिकारीले रेडियो चौतारीबाट पत्रकारिता सुरु गर्नु भएको हो भने न्यौपानेले जिल्लाको पहिलो पत्रिका अन्तरङ्गबाट पत्रकारितामा प्रवेश गर्नु भएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा जिवी घिमिरे र दिलु तामाङ, सचिवमा विराट न्यौपाने, सहसचिवमा समिता पौडेल र कोषाध्यक्षमा सुजन बानियाँ चयन भएको बताइएको छ । खुला सदस्यमा सञ्जय गुरुङ, महिला सदस्यमा शोभा ठकुरी र आदिवासी जनजाति सदस्यमा सोमराज गुरुङ चयन भएका छन् ।
यसैगरी, केन्द्रिय प्रतिनिधीमा रामजी राना, शान्ता कमली, सृजना बराल, आश बहादुर गुरुङ, ऋषि अधिकारी, र सुनिल बसौला चयन हुनुभएको छ भने प्रदेश प्रतिनिधमा सन्तोष पौडेल, सन्देश पौडेल र बसन्ता भट्ट चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन :
यसैबीच, नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको छ । युनियनका निवर्तमान अध्यक्ष सन्तोष पौडेलले नवनिर्वाचित अध्यक्ष निरज अधिकारीलाई बैठक पुस्तिका हस्तान्तरण गर्नु हुँदै पद हस्तान्तरण गर्नु भएको हो । उहाँको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा प्रेस यूनियनका केन्द्रिय सदस्य परमेश्वर अधिकारीले कार्यकालको शुभकामना दिनुभएको थियो ।
पदस्थापना पश्चात नवनिर्वाचित समितिको बैठकले श्रमजीवी पत्रकारहरूको आपतकालीन राहत वा कल्याणकारी कोष स्थापनाको निर्णय गरेको छ । जिल्लाका क्रियाशील पत्रकारहरू भवितव्यमा पर्दा, बिरामी हुँदा वा शंकटमा पर्दा तत्काल सहयोग पुर्याउने उद्देश्यले एक निश्चित रकमबाट प्रेस युनियन आपतकालीन पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरिएको हो ।
प्रेस युनियनको नयाँ समितिले शाखालाई थप संस्थागत र सुदृढ बनाउने, श्रमजीवी पत्रकारहरूको पेशागत हकहित तथा सुरक्षाका विषयलाई प्राथमिकताका साथ उठाउने, पेशागत मर्यादा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संगठनको संस्थागत विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताइएको छ ।
सञ्चारमाध्यम खासगरी छापामाध्यममा प्रतिदिन बढ्दो शंकटप्रति चालु आवदेखि सरकार समेत निर्मम निर्णय गरी सञ्चारमाध्यम र तिनमा कार्यरत पत्रकारहरूको मर्ममा प्रहार गरिरहेको बेलामा युनियनको नयाँ नेतृत्वले उक्त पेचिलो स्थितिलाई चिर्नका लागि के कसरी कस्तो कदम चाल्ने हो ? प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति २०८३ आश्विन ७, बुधबार २२:२६ गते