
भोर्लेटार(लमजुङ)– नेपाली काँग्रेस १५ औँ महाधिवेशन अन्तरगत भएको तेस्रो नगर अधिवेशनमा सभापति पदमा २३ मत अन्तरले कम प्रसाद गुरुङ विजयी हुनु भएको छ । उहाँले अर्का प्रत्यासी ओमवीर गुरुङलाई असोज ८ गते पराजित गर्नु भएको घोषणा गरिएको हो ।
सो नगरपालिकामा कुल २५४ प्रतिनिधि भएको मतदाता संख्यामा २४१ मत अर्थात ९४.८५ प्रतिशत मत खसेको सो अधिवेशनका निर्वाचन अधिकृत रामकृष्ण घिमिरेले बताउनु भयो । उहाँका अनुसार सम्पन्न मतदानमा कम प्रसाद गुरुङ १३२ मत प्राप्त गर्नु भएको थियो भने अर्का प्रत्यासी ओमवीर गुरुङले १०९ मत मात्र प्राप्त गर्नु भएको छ । उहाँहरूका बीचमा २३ मतको अन्तर देखियो र कम प्रसाद गुरुङ विजयी हुनु भएको छ ।
विजयी कमप्रसाद गुरुङ सोही नगरपालिका– ७ को रामबजार स्थित कुसुमाकर माविमा लेखापाल हुनुहुन्छ । उहाँको पैतृक थलो लमजुङकै क्ब्होलासोंथर गाउँपालिका– ९ को गिलुङ हो ।
अर्का प्रत्यासी ओमवीर गुरुङ सोही पालिका– ५ को वडाध्यक्ष पदमा कार्यरत हुनुहुन्छ ।
लमजुङका आठ पालिका रहेका छन् । सभापतिमा मतदान हुनेमा सम्भवतः मध्यनेपाल नगरपालिका मात्र हुने जस्तो स्थिति देखिएको छ । अन्य छ पालिकाहरूमा निर्विरोध रुपमा सभापतिको चयन भएको छ । राइनास नगरपालिकाको सभापति पदमा पाँच जना प्रत्यासी भएपनि आज मतदान गरिएन । सहमति गराउने भनिए पनि यो समाचार तयार गर्दासम्म त्यस्तो निर्णय सार्वजनिक गरिएको छैन ।
तस्विर : सुरज गुरुङ ।

प्रकाशित मिति २०८३ आश्विन ८, बिहीबार १९:०४ गते