
न्यूयोर्क— संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले विश्व शान्ति र कल्याणको कामना गर्नु भएको छ । प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै असोज ९ गते विहान त्यस्तो कामना गर्नु भएको हो ।
प्रधानमन्त्री शाहले सम्बोधनको अन्त्यमा भन्नुभयो, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते !’
रसुवा विपत्ति एकमात्र विषय :
नेपालको उत्तरी भूभाग रसुवामा हालै आएको विनाशकारी बाढी– पहिरोको विपत्तिलाई आफ्नो मन्तव्यको एकमात्र र मुख्य एजेन्डा बनाउनु भएको छ । उहाँले परम्परागत कूटनीतिक औपचारिकतालाई पन्छाउँदै रसुवा शंकट र त्यसले निम्त्याएको जनधनको क्षतिलाई विश्वसामु गम्भीर रूपमा प्रस्तुत गर्नु भएको हो । विश्व समुदायका शीर्ष नेताहरूको उपस्थितिमा भएको उच्चस्तरीय बहसमा प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा रसुवामा भएको मानवीय क्षति, विस्थापन र भौतिक पूर्वाधारको विध्वंस केवल नेपालको स्थानीय समस्या मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष र चरम असर भएको स्पष्ट्याउनु भएको हो ।
अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’को विषयलाई सशक्त ढंगले उठाउँदै प्रधानमन्त्री शाहले कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालजस्ता हिमाली मुलुकहरूले विश्व तापमान वृद्धिको सबैभन्दा ठूलो मार खेप्नुपरेको उल्लेख गर्नुभयो । उहाँले ठूला र औद्योगिक राष्ट्रहरूले जलवायु कोषका नाममा गरेका प्रतिबद्धताहरू कागजी प्रतिवेदनमा मात्र सीमित हुन नहुने चेतावनी दिनु भएको छ ।
अल्पविकसित देश भएर पनि नेपालको वातावरणीय योगदान विश्वमै उल्लेखनीय रहेको समेत प्रधानमन्त्री बालेन शाहले महासभामा प्रष्ट्याउनु भएको छ । उहाँले नेपाल अति कम विकसित देश भएर पनि दायित्वभन्दा बढी वातावरणीय योगदान गरिरहेको दाबी गर्नुभयो । नेपालका आधाजसो भूभाग वनजङ्गलले ढाकिएको, जलविद्युत् उत्पादन तीव्र गतिमा बढाइएको र विद्युतीय सवारीसाधन प्रवद्र्धन गरिएको उहाँले उल्लेख गर्नुभयो । बढ्दो जलवायु विपद्सँग जुध्न स्थानीयस्तरका जलवायु अनुकूलनका कामलाई थप बलियो बनाउने प्रतिबद्धता समेत प्रधानमन्त्री शाहले व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री बालेन शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा पनि कम योगदान गरे तापनि जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको बताउनु भयो । राष्ट्रसंघको महासभामा विश्वको ध्यानाकर्षण गराउँदै उहाँले नेपालका लागि जलवायु महाविपत्ति केवल मानवीय घटना मात्र नभई ‘विकासको आपत्काल’ भएको स्पष्ट्याउनु भयो । नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चहन्छ प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो । उहाँले ७२ घण्टाभित्र हतियार पुग्ने विश्वमा किसानलाई आवश्यक वस्तु नपाउने अवस्था स्वीकार्य हुन नसक्ने उल्लेख गर्नुभयो । यो समस्या जलवायु न्याय र विश्वव्यापी आर्थिक व्यवस्थासँग जोड्दै कमजोर देशका नागरिकले आफैँले नबनाएको संकटको भार बोक्नुपरेको प्रधानमन्त्री शाहले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले युद्धका लागि त्रुटिरहित रसद प्रणाली र खाद्यान्नका लागि भताभुङ्ग रसद प्रणाली भएको संसार बनाएका छौँ ।’
जलवायु न्याय केवल पैसाको विषय होइन, यो वितरणात्मक न्यायको विषय हो भन्नु्हुँदै प्रधानामन्त्री बालेनले जलवायु न्याय राष्ट्रसंघको दस्ताबेजमा मात्र सीमित सुन्दर वाक्य बन्नु हुँदैन भन्नुभयो । उहाँले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित, अति कम विकसित देश र भविष्यका पुस्ताको आवाज महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति २०८३ आश्विन ९, शुक्रबार ०७:५३ गते