पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी : वरिष्ठ नेता सहित एमालेमा दोस्रो बरियतामा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी : वरिष्ठ नेता सहित एमालेमा दोस्रो बरियतामा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ८ गते शुक्रबार ०९:३९

अध्यक्ष ओलीले पार्टीलाई मनोमानी ढंगले चलाएको र यही कार्यशैलीले पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका आधा दर्जन बढी पदाधिकारीहरूले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गर्नु भएको हो ।

एमालेका अध्यक्ष ओलीले सात नेता स्थायी कमिटीमा मनोनीत केन्द्रीय समिति विस्तार गर्नु भएको छ । तर उहाँको राजीनामा माग्ने क्रम भने रोकिएको छैन ।

काठमाडौं– नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेपछि असोज ८ गतेको बैठकबाट अनुमोदन गरिएको हो । आजै बसेको सचिवालय बैठकमा पनि भण्डारीलाई वरिष्ठ नेता बनाउनेबारे कुराकानी चलेको थियो ।
भण्डारी एमालेकी पूर्वउपाध्यक्ष समेत हुनुहुन्छ । राष्ट्रपति पदबाट बाहिरिएपछि उहाँले पुनः एमालेको राजनीतिमा सक्रिय हुने भन्दै पार्टी सदस्यता नवीकरण गराउनु भएको थियो । उहाँले आफू एमालेमै रहेर राजनीतिक यात्रा अघि बढाउने बताए पनि एमालेले उहाँको सदस्यता नवीकरण केही समय होल्ड गरेको थियो ।
सात नेता एमाले स्थायी कमिटीमा मनोनीत : केन्द्रीय समिति विस्तार 
यसैबीच, नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले ७ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्नु भएको छ । थप हुनुभएकाहरूमा ईश्वर पोखरेल, थममाया थापा, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, काशीनाथ दवाडी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फेलाई मनोनीत गरिएको हो । यसको जानकारी आजको केन्द्रीय कमिटी बैठकमा दिइएको हो ।
यसैगरी, अध्यक्ष केपी शर्मा ओलीले आज केन्द्रीय सदस्यहरू मनोनीत गर्नु भएको छ । सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरू मनोनीत गरिएको विषय जानकारी गराइएको थियो । केन्द्रीय सदस्य मनोनीत हुनेहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, बिमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, हरि घिमिरे, प्रेम दंगाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, शान्तिलाल महत, नन्दलाल देवकोटा हु्नुहुन्छ ।
अन्यमा पाल्तेन शेर्पा जी गुरुङ, बिनोद पाण्डे, पुष्पा श्रेष्ठ, जानुका सिम्खडा, कौशला खत्री, महमुद इष्ट्याक, प्रमोद यादव, डा. अब्दुल हुसैन, भवानी खापुङ, दीपक साउद, जया गोले, बाबी चाम्लिङ, श्रीप्रसाद शर्मा, धर्म निरौला, ध्रुवराज बिष्ट, अर्जुन राई, धर्म गिरी केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।
केही नेताहरूद्वारा अध्यक्ष ओलीको केन्द्रीय कमिटीमा राजीनामा माग :
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमै केही पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेको खुलासा भएको छ । अध्यक्ष ओलीले पार्टीलाई मनोमानी ढंगले चलाएको र यही कार्यशैलीले पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका आधा दर्जन बढी पदाधिकारीहरूले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गर्नु भएको हो । केही दिन अघिदेखि चर्किएको यो विषयले निकास पायो भनिए पनि उहाँको राजीनामा माग्ने क्रम भने नरोकिएको स्रोतको भनाइ छ ।
उहाँहरूले नेतृत्व हस्तान्तरण गरी अघि बढ्नुपर्ने समेत बताउनु भएको स्रोतको भनाइ छ । त्यस्तो माग गर्नेहरूमा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङलगायत रहेको बुझिएको छ । उपाध्यक्ष गुरूङले एमालेलाई निजी कम्पनीजस्तो बनाउन खोजिएको दावी गदै यसरी पार्टी चल्न नसक्ने भएकाले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताउनु भएको हो ।
‘एमाले कसैको निजी कम्पनी होइन, यसरी पार्टी चल्दैन पनि, त्यसकारण अध्यक्षले मार्गप्रशस्त गर्नुपर्छ,’ असोज ७ गतेको केन्द्रीय कमिटीमा धारणा राख्दै गुरूङले भन्नु भएको थियो ।
अर्का उपाध्यक्ष गोकर्ण विष्ट र रघुजी पन्तले पनि पार्टी सञ्चालनको वर्तमान शैलीप्रति आपत्ति जनाउनु भएको छ । उहाँहरूले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिनु भएको थियो । अध्यक्ष ओलीको राजीनामा माग गर्नेहरूमा उपमहासचिव योगेश भट्टराई समेतका नेताहरू हुनुहुन्छ ।
रघुजी पन्तको सुझाव ओलीलाई ‘ग्रेसफुल एक्जिट’ रोज्नु :
नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले अध्यक्ष केपी शर्मा ओलीलाई ‘ग्रेसफुल एक्जिट’को बाटो रोज्न सुझाव दिनु भएको छ ।
एमाले केन्द्रीय कमिटी बैठकमा पन्तले दुई हप्ता अगाडि केही नेतासँग भएको साढे दुई घन्टाको कुराकानीमा आफूले ओलीलाई पार्टीलाई एकजुट बनाउँदै नेतृत्व परिवर्तनको विषय समाधान गर्न गम्भीर छलफल गर्न आग्रह गरेको बताउनु भएको हो ।
‘आफैले ग्रेसफुल एग्जिटको बाटो रोज्नुहोस्’ भनेर भनेको थिएँ । ‘म यो मान्यतामा कायमै छु,’ पन्तले भन्नुभयो । उहाँले लोकतन्त्रमा चुनावको नेतृत्व गर्ने व्यक्तिले जिते सरकारको नेतृत्व गर्ने र हारे नेतृत्व छोड्ने परम्परा रहेको धारणा राख्नु भएको छ । उहाँले थप भन्नुभयो, ‘लोकतन्त्रमा जसको नेतृत्वमा चुनावमा गइन्छ, जिते ऊ प्रधानमन्त्री बन्छ, हारे नेतृत्व छोड्छ ।’ नेता पन्तले एमालेमा नेतृत्व परिवर्तनसँगै केन्द्रीय नेतृत्वदेखि वडा तहसम्म पुनर्गठन आवश्यक रहेको पनि बताउनु भएको छ ।
अध्यक्ष ओलीको राजीनामा माग गर्नेहरूमा उपाध्यक्ष गोकर्ण विष्ट, सचिव त्रय हिक्मत कार्की, यामलाल कँडेल र राजन भट्टराई समेत हुनुहुन्छ ।

प्रकाशित मिति २०८३ आश्विन ९, शुक्रबार ०९:३९ गते
हजुरको प्रतिक्रिया