
बेसीशहर(लमजुङ)– लमजुङमा खराब मौसमी वातावरणका कारणले गर्दा नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तरगत हुने निर्वाचन क्षेत्र तथा महाअधिवेनशन प्रतिनिधि छनौट प्रक्रियाको अधिवशेन प्रभावित भएको छ । सोही कारणले ती अधिवेशन दुई दिन पछि सारिएको आज नेपाली काँग्रेसले एक सूचना जारी गर्दै असोज ९ गते उल्लेख गरेको हो ।
यसअघि जिल्लाका आठ पालिका अधिवेशनमा सम्पन्न अधिवेशनको क्रममा सात पालिका निर्विंरोध नेतृत्व भएको छ भने एक नगरपालिकामा मतदानबाट नेतृत्व चयन गरिएको छ ।
नेपाली कांग्रेस लमजुङले आज जारी गरेको सूचना अनुसार प्रदेश सभा (क) क्षेत्रीय अधिवेशन र प्रदेश सभा (ख) को क्षेत्रीय अधिवेशन तथा जिल्ला अधिवेशन अन्तरगत महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया असोज १२ गते शुरु हुनेछ । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसकेमा १३ गते बिहान ८ बजे मतदान हुने भएको सूचनामा उल्लेख गरिएको छ ।
यसअघि ती कार्यक्रम असोज १० गते हुने कार्यतालिका सार्वजनिक गरिएको थियो ।
जिल्ला सभापतिमा मुख खोल्न सकस :
विगतका अधिवेशन ताका यतिबेलासम्म जिल्ला सभापतिका लागि गरमागरम बहस चल्ने प्रचार प्रसार सुरु हुने गरेको थियो । यस पटक भने महाधिवेशन प्रतिनिधिलेमात्र सभापति लड्न पाउने भनिएका कारणले जिल्ला सभापति पदका आकांक्षीहरूलाई मुख खोल्न सकस परेको छ । कारण महाधिवेशन प्रतिनिधिमै हार्न पनि सक्ने भएका कारणले त्यस्तो स्थिति उत्पन्न भएको स्रोतको भनाइ छ ।
महाधिवेशन प्रतिनिधि छनौट नभएमा सभापति निर्वाचित हुन नपाउने भएका कारणले यसपटक जिल्ला सभापतिका लागि हुने निर्वाचन पेचिलो बनेको हो । कतिपय जिल्ला सभापति हुन इच्छा राख्नेहरू महाधिवेशन प्रतिनिधि छनौट नभएमा सभापतिमा निर्वाचन लड्न पाउने छैनन् त्यसैले पनि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया पेचिलो बन्न पुगेको हो ।
जिल्लामा महाधिवेशन प्रतिनिधिको संख्या ३३ जना हुनेछ । त्यो संख्यामा थप १० जना पदेन हुने महाधिवेशन प्रतिनिधिले जिल्ला सभापतिमा चुनाव लड्न नपाउने काँग्रेसको विधानमा उल्लेख छ ।
सात पालिकामा निर्विरोध सभापति चयन : एकमा मदतान
लमजुङका आठमध्ये सात पालिकामा नेतृत्व सर्वसम्मत चयन भएता पनि मध्यनेपाल नगरपालिकामा भने मतदानमार्फत सभापति चयन गरिएको छ ।
सो पालिकामा २५४ मतदाता रहेकोमा २४१ मत खसेको थियो । तीमध्ये २३ मत अन्तरले कमप्रसाद गुरुङ सभापति चयन हुनु भएको छ । मतदानमा कम प्रसाद गुरुङ १३२ मत प्राप्त गर्दा अर्का प्रत्यासी ओमवीर गुरुङले १०९ मत मात्र प्राप्त गर्नु भई पराजित हुनु भयो ।
काँग्रेसका अनुसार जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिकाको सभापतिमा पूर्णबहादुर थापा, सुन्दरबजार नगरपालिकाको सभापतिमा उत्तम गुरुङ निर्विरोध चयन हुनु भएको छ भने राइनास नगरपालिकाको सभापतिमा नुरराज कडरिया सर्वसम्मत चयन हुनु भएको घोषणा गरिएको छ । सो पाकिलामा पाँच जना सभापतिका लागि प्रत्यासी देखिनु भएको थियो । अन्त्यमा नेताहरूको दबाबमूलक कार्यशैलीले मतदानको प्रक्रिया रोकिएको बताइएको छ ।
त्यस्तै जिल्लाका चार गाउँपालिकाहरूमा पनि सभापतिको चयन निर्विरोध भएको बताइएको छ । जसमा दूधपोखरी गाउँपालिकामा कमल धिताल, दोर्दी गाउँपालिकामा लालबहादुर गुरुङ, मस्र्याङ्दी गाउँपालिकामा लोकनाथ घिमिरे र क्व्होलासोथार गाउँपालिकामा राजु गुरुङ चयन हुुनु भएको काँग्रेस स्रोतको भनाइ छ ।

प्रकाशित मिति २०८३ आश्विन ९, शुक्रबार १७:२३ गते