
काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सरगर्मी बढी रहेको छ । त्यसका लागि १५ वटा समितिहरू गठन गरिएका छन् । महाधिवेशन केन्द्रीय निर्देशन समितिमा सभापति गगन थापा आफै बस्नु भएको छ । असोज ९ गते ती समिति गठन गरिएको हो । तर पार्टीलाई एक बनाउने सम्भावना भने क्षीण हुँदै गएको छ ।
केन्द्रीय निर्देशन समितिको संयोजकमा सभापति गगन थापा रहनु भएको छ । निर्देशन समितिको सदस्यहरूमा विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, उमेश श्रेष्ठ, महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी हुनुहुन्छ । सदस्य सचिवमा प्रताप पौडेल हुनुहुन्छ ।
आर्थिक व्यवस्थापन समितिको संयोजक कोषाध्यक्ष उमेश श्रेष्ठ राखिनु भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताउनु भएको छ । उहाँद्वारा जारी विज्ञप्तिमा महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन समितिहरू गठन गरिएको उल्लेख छ ।
यसैगरी, प्रवक्ता देवराज चालिसकेको संयोजकत्वमा सूचना, सञ्चार र प्रविधि समिति गठन गरिएको छ । सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिमा उदयशमशेर राणा र अतिथि स्वागत समितिमा डा. डिला संग्रौला पन्तलाई संयोजक तोकिएको छ ।
महाधिवेशन समारोह स्थल व्यवस्थापनमा काठमाडौं जिल्ला सभापति, प्रदेश तथा स्थानीय तहगत समन्वयमा बहादुरसिंह लामा, जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वयमा सुधीर शिवाकोटी र स्वयंसेवक व्यवस्थापनमा गणेश लामालाई संयोजक बनाइएको छ ।
भोजन व्यवस्थापनमा तिलक रानाभाट, आवास व्यवस्थापनमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापनमा विजयबहादुर स्वाँर र सांस्कृतिक–साहित्यिक संयोजनमा सीता गुरुङ संयोजक रहनु भएको छ ।
महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मको तस्विर तर एकताको सम्भावना क्षीण :
कांग्रेसको १५औँ महाधिवेशनको लोगो असोज ८ गते सार्वजनिक गरेको छ । जसमा बीपीदेखि देउवासम्मको तस्बिर समावेश गरिएको छ तर पार्टीमा एकताको सम्भावन भने क्षीण हुँदै गएको छ ।
नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको लागि लोगो सार्वजनिक गरेको हो । जसमा संस्थापक नेता बीपी कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्मका नेताहरूको तस्बिर राखिएको छ ।
लोगोमा विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको तस्बिरका साथै चन्द्र र सूर्य समेत राखिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनको मूल नारा ‘गौरव, गति र गन्तव्य’ रहेको छ र यसको स्लोगन ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ उल्लेख छ ।
कांग्रेसको महाधिवेशन असोज १६ देखि १९ सम्म हुँदैछ ।
उता, देउवा समूहले समानान्तर महाधिवेशन गर्नका लागि ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोक्ने काम गरेको छ । पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाइएको छ । त्यसैले पनि पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको हो ।
काँग्रेसको इतर पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति २०८३ आश्विन १०, शनिबार ०८:४९ गते