
दुराडाँडा(लमजुङ)– खाना खाने क्रममा खाना सर्केपछि यहाँ एक जनाको निधन भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ३ को दुराडाँडा स्थित खजेगाउँ निवासी रथबहादुर दुराको असोज ९ गते त्यसप्रकार निधन भएको हो । उहाँ ६६ वर्षका हुनुहुन्थ्यो ।
हिजो विहान करिब ११ बजेतिर खाना खाने क्रममा ‘मलाई त खाना सर्कियो’ भन्ने छोरा बुहारीहरूलाई सुनाएर आफ्नो कोठामा सुत्नु जानु भएछ । केही बेरमा उहाँको घर्रघर्र आवाज आएको बाहिर छोरा बुहारीले सुने पछि उहाँका कान्छा छोरा राजेशले बोकेर स्थानीय अस्पतालमा पुर्याउनु भएछ । त्यहाँबाट जति सक्यो छिटो अन्य माथिल्लो अस्पतालमा लग्नु भन्ने सल्लाह दिइएछ । त्यसपछि सुन्दरबजार स्थित नमूना सामुदायिक अस्पतालमा पुर्याइएछ । त्यहाँबाट ‘सिटिस्क्यान गर्नु पर्छ, भरतपुर वा पोखरा लग्नु’ भन्ने सुझाव दिइएछ ।
पोखरामा आफन्तजन पनि भएको हुँदा उपचारमा सहज हुने भन्दै उहाँको थप उपचारका लागि पोखरा लगिएछ । पोखरा स्थित गण्डकी अस्पतालमा दिउँसो ३ बजे पुर्याउँदा उहाँको बाटोमै निधन भइसकेको चिकित्सकले जानकारी दिएको उहाँका भाइबुहारी सीतादेवी दुराले बताउनु भएको छ ।
स्व. रथबहादुर दुराकी श्रीमतीको दुई वर्ष अघि क्यान्सर(अर्बुद) रोगका कारणले निधन भएको थियो । उहाँका तीन छोराहरू क्रमशः टीकाराम, बद्रस र राजेशमध्ये बद्रस वैदेशिक रोजगारीमा हुनुहुन्छ भने टीकाराम र राजेश घरमै हुनुहुन्छ । उहाँको एकमात्र छोरी अमृता हुनुहुन्छ ।
यसअघि टाउको दुखेको बेलामा सिटामोलसमेत खान नमान्ने बानी रहेका थरबहादुर दुराको अप्रत्यासित रुपमा निधन भएकोमा यतिबेला गाउँनै शोकमा डुबेको छ ।
स्व. रथबहादुर दुराको आफ्नै जन्म गाउँमा दुरा संस्कार संस्कृति अनुसार आज असोज १० गते अन्तिम संस्कार गरिदैछ । स्व. रथबहादुर दुराका तीन छोरा, एक छोरी, चार जना नाती र एक नातिनी हुनुहुन्छ ।

प्रकाशित मिति २०८३ आश्विन १०, शनिबार १०:२६ गते