
काठमाडौँ– नेपाली कांग्रेसको देउवा समूहले १५औँ महाधिवेशनका लागि ७ लाख ८३ हजार ८ सय ३६ जना क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ । सो समूहको निर्वाचन समितिलाई सो विवरण असोज १० गते हस्तान्तरण गरेसँगै त्यस्तो खुलासा भएको हो । इतर समूहले १५ मा देशभर वडा अधिवेशन गर्ने आज पत्रकार सम्मलन गरी जानकारी दिएको हो ।
सांगठनिक सुदृढीकरण र महाधिवेशनको प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको देउवा समूहले जनाएको छ । काठमाडौँको महराजगञ्ज, चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई उक्त विवरण हस्तान्तरण गरिएको हो । सोही क्रममा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन नयाँ वेबसाइट पनि सार्वजनिक गरिएको छ ।
इतर समूहले सदस्यता वितरणका लागि ‘वेबसाइट’ पनि ‘लञ्च’ गरेको छ । ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ का संयोजक डा. शशांक कोइरालाले ‘वेबसाइट’ पनि ‘लञ्च’ गर्नु भएको हो ।
असोज ९ गतेसम्म वितरण र नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाउँदै क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक पौडेलले कूल सदस्य संख्या सात लाख ८३ हजार ८३६ रहेको जानकारी दिनु भएको हो । यसपटक ५ लाख ७३ हजार २ सय ६९ पुराना सदस्यको नवीकरण र २ लाख १० हजार ५ सय ६७ नयाँ गरी कुल ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यताको विवरण लिपिवद्ध गरिएको संयोजक किरण पौडेलले बताउनु भयो । उहाँका अनुसार अघिल्ला महाधिवेशनमा सदस्यता विवादका कारण अधिवेशन प्रभावित भएको दृष्टान्त दिँदै यसपटक त्यसलाई सच्याउँदै सबै विवरण निर्वाचन समितिलाई बुझाइएको छ ।
निर्वाचन समितिका संयोजक पोखरेलले तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले असोज १५ गते देशभरका वडाहरूमा अधिवेशन सुरु हुने र त्यसको नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिनु भयो । साथै, आगामी दिनमा सदस्यताका लागि आवेदन दिन चाहनेहरूले अनलाइनमार्फत नै प्रक्रिया सुरु गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
सो समूहको मंसिर २१– २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ ।
इतर समूहले १५ औं महाधिवेशनका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरेको छ । समितिले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ ।

प्रकाशित मिति २०८३ आश्विन १०, शनिबार २०:१२ गते