बेसीशहर– लमजुङ जिल्ला सदरमुकाम यहाँ केन्द्रीय कार्यालय रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) का अध्यक्ष प्रभुराम प्रधानले यो सहकारीसँग हाम्रो इज्जत जोडिएको छ, सबै सहकारी उस्तै हुन् भन्ने लेख्ने गर्नु भएन पत्रकारहरूसँग आग्रह गर्नु भएको छ । अध्यक्ष प्रधानले आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ११ गते त्यस्तो बताउनु भएको हो ।
प्रधानकै अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा उहाँले हामी सामाजिक कार्यकर्ता हौं, यो सहकारीसँग हाम्रो इज्जत जोडिएको छ त्यसैले हामीले यसलाई विग्रन नदिन शिर उचो हुने गरी काम गरिरहेका छौं भन्नुभयो । उहाँले हामी समाजसेवी हौं, दिनरात नभनी यही सहकारीमा खटिरहेका छौं, यहाँहरूले कलम चलाउँदा सबै सहकारीलाई यौटै डालोमा राखेर सबै उस्तै हुन् भन्न भएन भन्ने आग्रह गर्नु भयो । गत वर्ष नेफ्स्कुनको प्रदेशस्तरीय पुरस्कार हातेमालोले पाएबाट पनि यहाँहरूले बुझ्नु भएको हुनुपर्छ उहाँले स्मरण गराउनु भयो ।

त्यसअघि उक्त साकोसका मुख्य प्रवन्धक हिराबहादुर रावलले साकोसको ऐतिहासिक पृष्ठभूमिबारेमा जानकारी दिदै संस्थाले मासिक रुपमा संस्थाको वित्तीय प्रगति विभिन्न माध्यमबाट सार्वजनिक गरी पारदर्शी रुपकम का गर्ने गरेको जानकारी दिनु भयो । उहाँले गत असार मसान्तसम्म संस्थाको कुल मुनाफा एक करोड, आठ लाख, सात हजार ८५२ रुपैयाँ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संस्थाको १६ औं वार्षिक साधारणसभाको तयारी गरिरहेको र त्यसका लागि यो वर्ष केही नयाँ कार्यक्रम सेयर सदस्यहरूको सक्रिय सहभागिताका लागि गर्ने तयारीमा छौं ।’
उहाँले यो वर्षको वार्षिक साधारण सभामा समयमा उपस्थित भएर कार्यक्रम अवधिभर पुरा समय बस्ने सेयर सदस्यहरूको प्रोत्साहनका लागि तीन जनालाई एक एक वटा खसी र आठ जनालाई प्रतिव्यक्ति एक एक वटा डिएक्सन विद्युतीय चुल्हो चिठ्ठा(गोला प्रथा) मार्फत प्रदान गर्ने भएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसका लागि केन्द्रीय कार्यालय र दुई सेवा केन्द्रमा एक एक वटा खसी र डिएक्सन चुल्हो केन्द्रमा चार वटा र सेवा केन्द्रस्थलमा २/२ वटा वितरण गरिने छ । उहाँले भन्नुभयो, ‘सेयर सदस्य संख्याको आधारमा केन्द्र र सेवाकेन्द्रस्तरमा फकर गरिएको हो ।’

पछिल्ला वर्षमा जो कसैलाई पनि सिधैं नगद हातमा दिन सरकारले मनाही गरेको हुँदा हाम्रो सहयोग प्रायः जिन्सीमा नै हुने गर्दछ उहाँले भन्नुभयो । उहाँका अनुसार संस्थामा पाँच हजार पाँच सय सेयर सदस्य रहेको, तीमध्ये तीन हजार १७६ जना महिला सेयर सदस्य रहेको र तिनमा पनि ३३ संस्थागत सदस्य रहेको, ऋणी संख्या ६७७ जना रहेको बताउनुभयो । उहाँले यो वर्ष संस्थाले गत आज २०८२/८३ को अवधिमा एक करोड बढी मुनाफा आर्जन गरेको भन्दै ११.०६ प्रतिशत बोनस खुवाउने प्रस्ताव गरेको समेत सगर्व जानकारी दिनु भएको थियो ।

ऋणीहरूलाई पनि विशेष सहुलियत प्रदान गरेको, बीमा सुविधा, ऋणमा पनि बोनसको प्रवन्ध आदि व्यवस्था गरिएको साकोसका मुख्य प्रवन्धक रावलले उल्लेख गर्नु भयो । उहाँले संस्थाको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिने क्रममा २०६७ माघ १४ गते २८ जना समाजसेवी, राजनीतिज्ञ व्यापारी र शिक्षकहरूले मिलेर सहकारी मुल्य मान्यतामा आधारित र सदस्यहरूले ढुक्कले भरोसा गर्न सक्ने वचत ऋण सहकारी खोल्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार २०६७ फागुन १५ हातेमालो सहकारी तात्कालिन सदसमुकाम सहित ५ वटा गाविसहरू कार्यक्षेत्र रहनेगरी तत्कालिन सहकारी डिभिजन कार्यालय दमौलीमा दर्ता भई २०६८ जेष्ठ ५ गतेबाट वचत ऋणको कारोवार शुरु भयो र जेष्ठ ८ गते मुख्य कार्यालय सञ्चालनमा आएको जानकारी दिनुभयो ।

उहाँका अनुसार संस्थाको परिकल्पना सम्पूर्ण वित्तीय सेवा दिन सक्षम समुदायको पहिलो रोजाई हातेमालो साकोस हो । त्यस्तै, संस्थाको ध्येय सक्षम जनशक्ति नीति विधि र प्रविधिको अधिकतम प्रयोग गरी गुणात्मक तथा प्रतिस्पर्धी वित्तीय तथा गैह्र वित्तीय सेवा मार्फत उद्यमशीलता र स्वरोजगारको माध्यमवाट सदस्यहरूको आर्थिक सामाजिक तथा साँस्कृतिक जीवनमा सम्वृद्धि हासिल गराउने रहेको रावलको भनाइ छ ।
रावलले भन्नुभयो, ‘संस्थाका उद्देश्यहरूमा सदस्य र कर्मचारीको वित्तीय व्यवस्थापन सम्वन्धि क्षमता अभिबृध्दि गरी प्रतिष्पर्धी गुणस्तरीय र आधुनिक सेवा प्रदान गर्न सक्ने दक्ष जनशक्तिको विकास र उत्पादन गर्ने, वचत तथा ऋणको प्रकारहरूमा विविधिकरण गर्दै सदस्यहरूलाई वित्तिय सेवा प्रदान गर्ने, संस्थागत पूँजी बृद्धि गरी संस्थालाई वित्तीय हिसावमा अनुशासित बनाउने, सहकारीका सिद्धान्त मुल्य मान्यता र भावनालाइ आत्मसात गर्दै सदस्यहरूमा एकता र सहयोगी भावनाको विकास साथै व्यवसायिक बनाउन सहजीकरण गर्ने, संस्थाबाट प्रवाह गरिने सेवालाई अधुनिकीकरण गर्न भौतिक पुर्वाधार विस्तार आधुनिक प्रविधि र उपकरणको व्यवस्थापन गर्दै श्रोत साधन सम्पन्न संस्थाको रुपमा विकास गर्ने लगायत ११ बुँदा रहेका छन् ।’

पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्देश पौडेललगायतका जिल्लाका क्रियाशील पत्रकारहरू सहभागी रहेको उक्त पत्रकार सम्मेलनमा उक्त साकोसका उपाध्यक्ष राजेन्द्र बोहरा, सचिव गोपाल परियार, कोषाध्यक्ष नन्दलाल श्रेष्ठ, कर्जा व्यवस्थापक विष्णु थापा लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८३ आश्विन १२, सोमबार ०८:१७ गते