
बेसीशहर(लमजुङ)– नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा लमजुङबाट पत्रकार स्वस्तिका पन्थी प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनु भएको छ । लमजुङको निर्वाचन क्षेत्र ‘क’का लागि हिजो भएको उम्मेदवारी दर्तामा उहाँको मात्र उम्मेदवारी दर्ता भएसँगै निर्विरोध रुपमा असोज १२ गते निर्वाचित हुुनु भएको हो ।
लामो समयदेखि पत्रकारितामार्फत समाजका विविध विषयलाई उजागर गर्दै आएकी पन्थी पछिल्लो समय छिटोपोष्टको सञ्चालिकाका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले उक्त सञ्चारमाध्यममा कार्यक्रम, समाचारको उत्पादन तथा प्रस्तुतिकरण गर्दै आउनु भएको छ । अबका दिनमा भने उहाँले पार्टीको संगठनात्मक भूमिकामार्फत जिल्लाको विकास, समृद्धि र नागरिकका सवाललाई थप प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
आफ्नो उम्मेदवारीका साथ ‘स्वच्छ, समावेशी र समृद्ध लमजुङ’ निर्माणलाई मुख्य प्रतिबद्धताका उहाँले मूलतः आवाज बिहीन निम्न वर्गका जनताको आवाजका साथमा न्यायका पक्षमा तथा अनियमितता एवम् भ्रष्टाचारका विरुद्धमा खरो उत्रने विगतको शैलीमा थप निखारता ल्याउने उल्लेख गर्दै सहभागिता र प्रतिनिधित्वलाई प्राथमिकता दिने बताउनु भयो ।
पत्रकारिताका माध्यमले सञ्चार क्षेत्रमार्फत समाजका आवाजलाई सार्वजनिक बहसमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने गर्नु भएको उहाँले विशेषगरी स्थानीय तहका नागरिकका समस्या, विकास निर्माण, महिला तथा युवा सरोकार, सामाजिक विषय र जिल्लाका समसामयिक मुद्दालाई समाचार तथा सञ्चारका माध्यमबाट उजागर गर्नेमा उहाँको सक्रियता प्रशंसनीय रहँदै आएको छ ।
युवालाई जिल्लामै अवसर सिर्जना गर्ने, स्थानीय उत्पादन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा कृषि र पर्यटनको सम्भावनालाई आर्थिक विकाससँग जोड्ने विषयलाई उनले प्राथमिकतामा राखेको उहाँको कथन छ । जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण र प्राकृतिक स्रोतको संरक्षणलाई पनि विकासको अभिन्न पक्षका रूपमा अघि सार्ने उहाँको प्रतिवद्धता छ । उहाँले भन्नुभयो पदीय भूमिकाका सीमितता भन्दा पनि काम गर्ने इच्छा शक्तिले मानिसलाई सवल र सफल बनाउछ म त्यस्तर्फ पत्रकारिताबाट हासिल गरेको अनुभवलाई सार्वजनिक तथा राजनीतिक भूमिकामा उपयोग गर्छु उहाँले उल्लेख गर्नुभयो ।
उहाँका साथमा सोही पदमा शशी मित्र पन्त पनि निर्विरोध निर्वाचित हुनु भएको छ ।
प्रदेशसभा क्षेत्र ‘क’को सभापतिमा विजय गुरुङ निर्विरोध :
बेसीशहर– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत लमजुङको प्रदेशसभा क्षेत्र ‘क’को क्षेत्रीय सभापतिमा अन्ततः विजय गुरुङ निर्विरोध चयन हुनुभएको छ । अन्तरङ्ग न्यूजडटकमले आज असोज १२ गते विहानै त्यस्तो सम्भावना औल्याएको थियो ।
लमजुङको राइनास नगरपालिका– ४ निवासी विजय गुरुङ निर्विरोध चयन हुनु भएको हो । सालिन व्यक्तित्वका धनी गुरुङ सामाजिक, सहकारी अभियानकर्ता हुनुहुन्छ भने पछिल्ला दिनमा प्रदेश अस्पतालको व्यवस्थापन समितिको समेत अध्यक्ष हुनु भएको छ ।
उहाँलाई नेपाली कांग्रेसको जिल्ला कार्यसमितिमा मनोनीत सदस्यसमेत बनाइएको छ । जसका कारण उहाँलाई लमजुङ क्षेत्र नं. १ (क) का प्रदेशसभा सदस्य डा. टकराज गुरुङ निकट भन्दै बिल्ला भिराउनेको संख्या पनि कम छैन ।
यसैगरी, निविरोध निर्वाचित हुनेहरूमा सो समितिको उपसभापतिमा पशुपति अधिकारी पनि निर्विरोध चयन हुनु भएको छ भने सचिवमा योगेश्वर घिमिरे चयन हुनु भएको छ ।
सहसचिवमा गंगाबहादुर कुताल र जितबहादुर भण्डारीका बीचमा निर्वाचन हुँदैछ भने सदस्य पदमा पनि निर्विरोध भएको छ । उहाँहरू लक्ष्मण गुरुङ, चुडामणि थापा, शिवराम शिलवाल लगायत हुनुहुन्छ ।
प्रदेश सभा क क्षेत्रमा अधिकांश पदमा निर्विैरोध भएको छ भने प्रदेश सभा निर्वाचन क्षेत्र ख मा निर्वाचन हुने तयारी भएको छ ।
गुटगत राजनीतिले थिलो थिलो बन्दै आएको नेपाली काँग्रेस लमजुङ अबका दिनमा के कसरी अघि बढ्ने हो ? त्यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति २०८३ आश्विन १३, मंगलवार ११:५७ गते