
बेसीशहर– नेपाली काँग्रेस लमजुङको आज भइरहेको निर्वाचन क्षेत्रको नेतृत्व चयन, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन निर्वाचनमा साझ छ बजेसम्म करिब १४ सय मत खसेको छ । अब मतदान गर्ने लाइनमा करिब ६० जना जति बाँकी रहेको र मतदान गर्ने घेरामा पस्ने समय असोज १३ गते साझ ६ बजे समाप्त भएको बताइएको छ ।
यो समाचार तयार गर्दासम्म एक हजार ३९८ जनाले मतदान सकेका छन् । बाँकी रहेको करिब ६० जनालाई मतदान गर्न दिने र बाँकीलाई सो घेरामा बस्न नदिने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।
लमजुङ काँग्रेसमा रहेको दुई गुट यो पटक पनि छलाछुल्ल भयो । मतपत्रका नमूनामा आ–आफ्नो समूहका व्यक्तिको नाममा टिक मार्क(ठीक चिह्न) लगाएर पर्चा वितरण गरिएबाट त्यस्तो खुलासा भएको हो ।
पुराना त्याग गरेका व्यक्तिहरूलाई सम्मान गर्न सकेको देखिएन । केन्द्रीय प्रतिनिधिमा ८७ वर्षीय विदुर पुरुष शुभनाथ मिश्र समेत उठ्नु भएको थियो । उहाँलाई नउठ्नका लागि चित्त बुझाउन पार्टी नेतृत्व तयार देखिएन भने दुई प्यानल कतै तिर पनि उहाँ पर्नु भएन यसबाट पुरानाको के कति सम्मान हुने हो ? भन्ने स्थिति उजागर भएको छ ।
‘ख’ निर्वाचन क्षेत्रको सभापति पदमा केही दिन अघिमात्र सक्रिय राजनीति नगर्ने घोषणा गर्नु भएको लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेश थापा पनि उठ्नु भएको छ । उहाँले न त आफ्नो प्यानल बनाएको देखियो न त घोषित दुई प्यानलमा नै पर्नु भयो ।
पाठक वर्गलाई थाहै छ, ‘काँग्रेसको दुई समूहमध्ये एकको नेतृत्व निवर्तमान सभापति भेषबहादुर पौडेलले गर्नु भएको छ भने अर्को समूहको नेतृत्व वर्तमान सभापति डा. टकराज गुरुङले गर्नु भएको छ ।’
निर्वाचन क्षेत्र ख को निर्वाचनको सभापति पदमा पौडेल पक्षबाट ई. दिपेन्द्र रावल चुनावी मैदानमा हुनुहुन्छ भने गुरुङको पक्षबाट अमृत न्यौपाने चुनावी मैदानमा हुनुहुन्छ ।
यो निर्वाचनमा जिल्लाभरबाट एक हजार ८०२ जनाले केन्द्रीय प्रतिनिधि चयनमा मतदानमा भाग लिदै छन् । त्यस्तै निर्वाचन क्षेत्र नं ‘ख’ मा मतदाता संख्या ९५५ रहेको थियो । करिब चार सय प्रतिनिधि अनुपस्थित रहने देखिएको छ ।

प्रकाशित मिति २०८३ आश्विन १३, मंगलवार १८:३३ गते