बडादशैं पर्वको आगमनसँगै रौनक सुरु भएको छ । गाउँ घरमा बडादशैंको चहलपहल बढेको छ । अध्ययन र रोजगारीको सिलसिलामा स्वदेश तथा विदेशमा रहेका धेरै नेपालीहरू बडादशैं मनाउन गाउँ फर्किरहेका छन । मनसुनी वर्षा पनि बिस्तारै बाहिरिंदै छ । बडादशैंमा शक्ति पीठको दर्शन र घुम्ने संस्कृतिको पनि बिकास भएको छ । घुम्न रुचि राख्ने मानिसहरूका लागि बडादशैंंैको लामो बिदा सुनौलो अवसर हुन्छ । तर धेरै मानिसहरू कहाँ घुम्न जाने ? भन्ने दोधारमा अलमलिन्छन । यदि समय र खर्चको उचित जोहो गर्न सकियो भने नेपालमा घुम्न लायक ठाउँहरूको कुनै कमी छैन ।
पर्यटनको यात्रालाई खुला विश्वविद्यालय पनि भनिन्छ । किनभने पर्यटन आफैंमा एक जीवन्त र व्यावहारिक शैक्षिक माध्यम हो । यात्राका क्रममा प्राप्त हुने ज्ञान किताबी ज्ञानभन्दा कयौं गुणा जीवन्त, रोचक र व्यवहारिक हुन्छ । घुम्ने बानी परेका मानिसहरूको रुचि उमेर, शिक्षा, पेशा र चाहनाअनुसार फरक–फरक हुन्छ । परिवार, साथीभाइ वा आफन्तहरूसँग मिलेर कुन क्षेत्रमा घुम्न जाने भन्ने कुरा तपाईंको समय, बजेट र गन्तव्यमा भर पर्दछ । घुम्न जाँदा प्याकेज कार्यक्रम मिलाएर जानु सबैभन्दा बुद्धिमानी हुन्छ । तर, धेरैजसो नेपाली पर्यटकहरूमा अझै पनि प्याकेजमा घुम्ने संस्कृति बसेको छैन भन्दा पनि हुन्छ । प्याकेज भनेको नै घुम्ने आवधिक र व्यवस्थित योजना हो । योजनाबद्ध रुपमा यात्रा गर्दा यात्रा सुरक्षित मात्र हुँदैन, धेरै कुरामा सहजता पनि हुन्छ ।
पर्यटन प्याकेज बनाउँदा कति जना जाने, कति दिन घुम्ने, कुन बाटो हुँदै जाने, पदयात्रा गर्ने कि नगर्ने, ऐतिहासिक तथा पुरातात्विक सम्पदाले भरिएका ठाउँहरूमा पुग्ने कि नपुग्ने, कुन शक्तिपीठमा तीर्थाटन गर्ने, कुन पार्क वा फनपार्कमा रमाउने, कुन तालमा पुगेर डुंगा सयर गर्ने, साहसिक खेलका लागि कहाँ जाने, होमस्टेमा बसेर सांस्कृतिक मनोरञ्जन लिन कुन गाउँको होमस्टे रोज्ने, यात्राको क्रममा कहाँ कहाँ बास बस्ने र त्यसका लागि कति रकम आवश्यक पर्छ भन्ने जस्ता सम्पूर्ण कुरा यात्रामा निस्कनुअघि नै तय गर्नुपर्दछ । यसरी प्याकेजमा गरिने घुमफिरले यात्रालाई सजिलो मात्र बनाउँदैन, अनावश्यक खर्चलाई समेत बचत गराउँछ ।
बडादशैंको बेला प्राय धेरै मानिसहरू शक्तिपीठको दर्शनमा निस्कन्छन । बडादशैं शक्ति उपासनाको सबैभन्दा ठूलो पर्व हो । बडादशैंको नवरात्रमा सतीदेवीबाट उत्पन्न भएकी आद्यशक्ति दुर्गाका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । शक्तिपीठ तिनै दुर्गाको मूल घर हो । त्यसैले नवरात्रमा शक्तिपीठमा गएर पूजा गर्दा देवी प्रत्यक्ष उपस्थित हुन्छिन भन्ने विश्वास छ । मुख्य रुपमा ५१ वटा शक्तिपीठ मानिन्छ, कतै कतै ५२ वटा पनि भनिन्छ । यी शक्तिपीठ भारत, नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका र तिब्बतसम्म फैलिएका छन । नेपालमा रहेका प्रमुख शक्तिपीठहरूमा गुह्येश्वरी सतीदेवीको दुवै घुँडा खसेको मानिन्छ । पशुपतिनाथलाई भैरव मानिन्छ । दक्षिणकाली खुट्टाको पाइताला र शोभा भगवती, बिजेश्वरी, नक्साल भगवती, भद्रकाली यी काठमाडौं उपत्यकाका चार प्रमुख शक्तिपीठ हुन । गोरखा मनकामनालाई पनि धेरैले शक्तिपीठ मान्छन । पाथीभरा, ताप्लेजुङ, छिन्नमस्ता, सप्तरी, गढीमाई, बारा र गाउँघरमा रहेका हरेक कालिका, दुर्गा, भवानी, महालक्ष्मीका थानहरुलाई पनि शक्तिपीठको स्वरुप मानिन्छन ।
शास्त्रमा शक्तिपीठको कथा यसरी बर्णन गरिएको छ । हिन्दु पुराण अनुसार दक्ष प्रजापतिले विशाल यज्ञ गरे । आफ्नै ज्वाइँ शिवजीलाई अपमान गर्ने मनसायले उनले शिवलाई निम्तो दिएनन । आफ्नो बाबुले आफ्ना पतिको अपमान गरेको सहन नसकेर सतीदेवी त्यही यज्ञमा गएर योग अग्निद्वारा आफ्नो शरीर त्याग गर्नुभयो । यो खबर सुनेर शिवजी अत्यन्त क्रोधित र शोकमा डुब्नुभयो । उहाँले सतीदेवीको मृत शरीर काँधमा बोकेर ताण्डव नृत्य गर्न थाल्नुभयो । शिवको ताण्डवले सृष्टि नै विनाश हुने डरले भगवान विष्णुले आफ्नो सुदर्शन चक्रले सतीदेवीको शरीरलाई ५१ ठाउँमा टुक्रा पारिदिनुभयो । सतीदेवीको शरीरका अंगहरू जहाँ जहाँ खसे, ती ठाउँहरू पवित्र र शक्तिशाली मानिए । त्यही ठाउँहरूलाई शक्तिपीठ भनिन्छ । जहाँ देवीको अङ्ग खस्यो, त्यहाँ शिवजी पनि भैरवको रुपमा वास गर्नुहुन्छ भन्ने मान्यता छ । त्यसैले हरेक शक्तिपीठमा देवी र भैरव दुवैको पूजा हुन्छ ।
बडादशैंको पौराणिक कारण दुर्गाले ९ दिनसम्म युद्ध गरेर दशौँ दिनमा महिषासुर राक्षसलाई मारेको कथा हो । त्यस्तै रामले रावणलाई मार्नु अघि शक्तिको पूजा गरेका थिए । त्यसैले यो पर्वले हामीभित्र भएको लोभ, अहंकार, डर जस्ता राक्षसी प्रवृत्तिमाथि जित हासिल गर्ने प्रेरणा दिन्छ । दसैको बेला शक्तिपीठमा गएर हामी त्यही आसुरी शक्तिलाई हराउन बल माग्छौं । नवरात्रको समयमा पृथ्वीको अक्ष र सूर्यको स्थितिले गर्दा वातावरणमा एक विशेष प्रकारको उर्जा बढी हुन्छ । यस बेला मन एकाग्र गरेर जप, ध्यान र शक्तिपीठको दर्शन गर्दा त्यो उर्जा हामीलाई बढी लाग्छ । त्यसैले दसैंमा मासु, मदिरा र रजोगुणी खानाबाट टाढा रहेर शुद्ध भएर देवीको पूजा गर्दा मन शान्त र शरीर बलियो हुन्छ । त्यसैले बडादशैंमा शक्तिपीठको दर्शन गर्नु परम्परा मात्र होइन । यो आफूभित्र सुतेको शक्तिलाई जगाउने, आफ्नो कुलदेवीप्रति कृतज्ञता देखाउने र म एक्लै छैन, मभित्र आद्यशक्तिको अंश छ भन्ने आत्मविश्वास लिने सबैभन्दा सुन्दर अवसर पनि हो ।
सतीदेवीको शरीर त्याग गरेको ठाउँ दक्षको यज्ञशाला अहिलेको भारतको उत्तर प्रदेशमा पर्दछ । हिङलाज माता पाकिस्तानमा, कामाख्या आसाममा, गुह्येश्वरी काठमाडौंमा र एउटा श्रीलंकामा पर्दछ । हजारौं किलोमिटरको दुरी, त्यो पनि पैदल, लास बोकेर घुम्नु भौतिक रुपमा सम्भव थियो त ? अहिलेका भौतिबादीहरूमा प्रश्न उठन सक्दछ । त्यसैले यो शास्त्रको इतिहास होइन, भूगोल र संस्कृतिलाई जोडने मिथक हो । ऋषिमुनिहरूले त्यतिबेला आदिवासी समाजले कुनै शक्तिशाली देवी जस्तै पहाडकी देवी, खोला किनारकी देवी, जंगलकी देवीको पूजा गर्थे, ती सबै स्थानीय देवीलाई एउटै ठूलो कथामा जोडिदिए । तिम्रो गाउँकी देवी पनि त्यही सतीदेवीकै अंग हुन भनेपछि सारा उपमहाद्वीपका मानिसहरू एउटै धार्मिक भावनामा जोडिए । यो एक प्रकारको सांस्कृतिक एकीकरण थियो । त्यसैले शक्तिपीठ भनेको शिव घुमेको प्रमाण होइन, हाम्रा पुर्खाले बनाएको पवित्र नक्सा हो भन्दा पनि हुन्छ ।
शास्त्रमा मानिएका ५१ शक्तिपीठको नाम, ठाउँ र कुन अंग खसेको हो भन्ने कुरा देवी भागवत, कालिका पुराण, शिवचरित्र जस्ता हजार वर्ष पुराना ग्रन्थमा लेखिएको छ । अहिले कुनै नयाँ मन्दिर बन्यो र स्थानीय मान्छे वा पुजारीले यो पनि शक्तिपीठ नै हो भनेर प्रचार गर्नु भनेको शास्त्रीय शक्तिपीठ होइन । विज्ञानले शक्तिपीठ छ कि छैन भन्न सक्दैन, किनकि विज्ञानले भौतिक प्रमाण खोज्छ, आस्थाले प्रमाण खोज्दैन । शक्तिपीठको कथा सत्य हो कि होइन भन्दा पनि, त्यसले के काम गर्यो भन्ने महत्वपूर्ण हुन्छ । त्यसले मान्छेलाई डर, प्रकृति र नारी शक्तिप्रति सम्मान गर्न सिकायो । हरेक पहाड, खोला र ढुंगामा देवी छिन भनेर जोगाउन सिकायो । त्यसैले शक्तिपीठलाई इतिहास र संस्कृतिको धरोहर मानेर सम्मान गर्न सिकाएको छ ।
बडादशैंका लागि आवश्यक सर सामान किनमेल गर्नेहरूको चहलपहल बजारमा बढन थालेको छ । रोजगारी, अध्ययन र जीविकोपार्जनको सिलसिलामा देशभित्र र विदेशिएका युवा युवती घर फर्कने क्रम तीव्र भएको छ । नेपालमा बडादशैंलाई वर्षको सबैभन्दा ठूलो पर्वका रुपमा लिइन्छ । यो पर्व केवल धार्मिक श्रद्धा भक्तिमा मात्र सीमित छैन । यसले हाम्रो सामाजिक, सांस्कृतिक, पारिवारिक र मनोवैज्ञानिक जीवनसँग गहिरो सम्बन्ध राख्दछ । यही बहुआयामिक विशेषताका कारण पछिल्लो समय बडादशैंमा घुम्ने संस्कृतिको समेत विकास भएको छ । लामो बिदा, चाडको उल्लास र बदलिँदो जीवनशैलीले घुमफिरको परम्परालाई अझ बलियो बनाएको छ । बडादशैं आनन्द र उमंगको पर्व हो । नयाँ कपडा, विशेष परिकार, घर आँगन सजाउने र लिपपोत गर्ने चलनले मानिसमा नयाँ उर्जा र उच्च मनोबल भर्छ । बडादशैं केवल टीका जमरा लगाउने कर्मकाण्ड मात्र होइन, यो छरिएका परिवार र नातागोतासँग भेटघाट गर्ने, आत्मीयता साट्ने पवित्र अवसर पनि हो । यही उत्सवपूर्ण माहोलमा मानिस बाहिर निस्कन, परिवार र साथीभाइसँग घुम्न र रमाइलो गर्न चाहन्छ ।
बडादशैं धर्मभन्दा माथिको सांस्कृतिक महत्व मानिन्छ । वर्षभरिका पर्वहरूमध्ये सबैभन्दा ठूलो बडादशैंैंलाई नेपाली एकता, उमंग र आशाको प्रतीक मानिन्छ । यसले धार्मिक अनुष्ठानसँगै पारिवारिक भेटघाट, सामुदायिक मेलमिलाप र घुमफिरलाई समेत जोडेको छ । दसैं मूलतः असत्यमाथि सत्यको, दुष्टमाथि सद्गुणको र अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो । देवी दुर्गा भवानीले महिषासुर राक्षसको वध गरेको पौराणिक कथा यसको धार्मिक आधार हो । त्यसैले बडादशैंलाई शक्ति, साहस र धर्मको विजय जयन्तीका रुपमा स्मरण गरिन्छ । घर घरमा दुर्गा पूजा, जमरा राख्ने, फूलपाती भित्र्याउने, टीका जमरा थापेर मान्यजनबाट आशीर्वाद लिने चलनले पुस्तान्तरणको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । बदलिँदो घुम्ने संस्कृति पहिले दसैं गाउँघरमै सीमित थियो, तर अहिले यसले नयाँ स्वरुप पाएको छ । शहर वा विदेशमा रहेका नेपाली दसैंमा घर फर्किन्छन र यही बहानामा पर्यटन र घुमफिरको चहलपहल बढ्छ ।
शहरमा बस्नेहरू आफ्नो मूल थलो फर्कँदा गाउँको प्रकृति, परम्परा र मौलिक संस्कृतिसँग पुनः जोडिने अवसर पाउँछन । यो केवल यात्रा होइन, आफ्नै पहिचानको पुनः खोज हो । लामो बिदालाई सदुपयोग गर्दै धेरै परिवार नयाँ ठाउँ घुम्न निस्कन्छन । यसले अन्तर सांस्कृतिक अनुभव दिलाउँछ । विभिन्न जातजाति र समुदायले दसैं कसरी मनाउँछन भन्ने प्रत्यक्ष बुझने मौका मिल्छ । कतै रोटेपिङ र लिंगेपिङमा मच्चिने हर्ष, कतै सांस्कृतिक तथा सांगीतिक प्रस्तुति, कतै सामूहिक भोज र मेलाले हाम्रो सांस्कृतिक विविधताको स्वाद चाख्न पाइन्छ । यसरी बडादशैंसँग जोडिएको घुम्ने संस्कृतिले आर्थिक चलायमानता पनि ल्याएको छ । बडादशैंको बेला यातायात, होटल रेस्टुरेन्ट, पर्यटकीय गन्तव्य र स्थानीय बजारमा विशेष चहलपहल देखिन्छ । बडादशैं अब केवल धार्मिक र पारिवारिक उत्सव मात्र रहेन, यो सामाजिक र आर्थिक गतिविधिको प्रमुख प्रेरक पनि बनेको छ ।
बडादशैं नेपाली समाजको आस्था, संस्कार र जीवनशैलीको उज्यालो दर्पण हो । हिन्दू परम्पराअनुसार शक्तिपीठको पूजा, दुर्गा आराधना, बली प्रथा जस्ता धार्मिक संस्कार यसका आधार हुन, तर आज यसले धार्मिक सीमाना नाघेर बृहत सांस्कृतिक उत्सवको रुप लिइसकेको छ । यसको सबैभन्दा सुन्दर पक्ष भनेको यसको समावेशी चरित्र हो । दसैंले नेपाली समाजलाई एउटै सूत्रमा बाँध्छ । हिन्दू मात्र होइन, बौद्ध, किराँत, इसाई लगायत सबै धर्मावलम्बीले पनि दसैंलाई सामाजिक एकता, भेटघाट र रमाइलोको अवसरका रुपमा आत्मसात गरेका छन । धर्मभन्दा माथि उठेर यसलाई संस्कृतिका रुपमा मनाउने परम्पराले दसैंलाई नेपालीपनको साझा चिनारी बनाएको छ । त्यसैले बडादशैं हिन्दूहरूको मात्र होइन, सम्पूर्ण नेपालीको साझा सांस्कृतिक पर्व हो । यसले धर्मलाई मात्र होइन, परिवारलाई एकताबद्ध गर्ने, समाजलाई जोडने, राष्ट्रिय एकतालाई सुदृढ गर्ने र घुमफिरमार्फत नयाँ अनुभव तथा सांस्कृतिक सम्पर्क स्थापित गर्ने पुलको काम गरेको छ ।
बडादशैं मनाउने परम्पराको सुरुवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद र इतिहासकारहरूका भिन्न भिन्न दृष्टिकोण छन । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या विश्लेषण गरेका छन भने कसैले शासक वर्गको वीरता र शौर्यको महिमागान गर्ने उद्देश्यले यसको थालनी भएको तर्क गर्दै आएका छन । अझै कसैले त यो पर्व मातृसत्तात्मक समाजको अवशेष हो भन्ने मत पनि राखेका छन । तर यी सबै मतहरूलाई केलाएर हेर्दा एउटा गहन सत्य के देखिन्छ भने, बडादशैं मूलतः किसान जनसमुदायसँग सम्बन्धित सबैभन्दा पुरानो लोकपर्व हो । हाम्रो कृषि चक्र नै यसको सबैभन्दा ठूलो प्रमाण हो । असार साउनको हिलाम्मे खेतीपाती, रोपाइँको चटारो सकिएपछि असोजको निर्मल आकाश, अनुकूल मौसम र प्रशस्त अन्नबालीको आगमनसँगै किसानले थकाइ मार्ने र रमाउने अवस्था आउँछ । वर्षदिनको कठोर श्रमपछि केही दिन आनन्दले बाँच्ने, आफन्त भेट्ने नाचगान र आमोद प्रमोद गर्ने सहज मानवीय आवश्यकताबाटै यस चाडको चलन चलेको हुनुपर्छ । हामी नेपाली प्रकृतिप्रेमी हौं । त्यसैले नेपालका विविध जातजातिका किसानले मनाउने यस विश्राम र उत्सवको पर्वलाई पछि हिन्दु धर्मबाट अभिप्रेरित शासक वर्गले आफ्नो संस्कृति बनाउँदै लग्यो र यसलाई सामन्ती संस्कार एवं राजकीय चाडको रुप दियो ।
कृषिप्रधान समाजका जनताले विश्रामको आवश्यकता महसुस गरेर यसको चलन चलाएका हुन भन्ने तर्क, धार्मिक र सामन्ती तर्कभन्दा धेरै गहन र दरिलो छ । यो नितान्त वर्ष दिनको कामकाज र खेतीपाती सकेर थकाइ मार्ने किसानको जीवन आवश्यकताबाट विकसित लोकसंस्कृतिको चाड हो । पछिल्लो कालमा शासक वर्गले यसै लोकपर्वलाई रुपान्तरण गरेर आफ्नो स्वार्थ अनुकूल धार्मिक आवरण दिने प्रयत्न गरेपछि मात्र सत्यमाथि असत्यको वा आसुरी शक्तिमाथि दैवी शक्तिको विजय को रुपमा बडादशैंको उत्पत्तिको कथा विकसित गरिएको हो । यसमा शासक वर्गको वर्गीय स्वार्थ र चालबाजी नै प्रतिबिम्बित भएको छ । त्यसैले त्यस आरोपित धार्मिक सामन्ती आवरणलाई हटाएर हेर्दा, बडादशैं कुनै आयातित धार्मिक अनुष्ठान होइन, यो विशुद्ध रुपमा नेपाली माटो, श्रम र लोकजीवनसँग गाँसिएको सांस्कृतिक पर्व हो ।
बडादशैंमा सबैतिर भीड हुन्छ, त्यसैले घुम्न जादै हुनुहुन्छ भने गाडीको टिकट र बस्नको लागि होटल अगाडि नै बुक गर्नुहोस । केवल मन्दिरको दर्शन मात्र होइन, गाउँको पिङ, बजारको रौनक र आफन्तसँगको बसाइलाई पनि घुमाइको हिस्सा बनाउनुहोस । लामो यात्रामा आफ्नो स्वास्थ्यको ख्याल राख्नुहासे, प्रसादको रुपमा धेरै मासु र जाँड रक्सीबाट बच्नुहोस । बडादशैंमा घुम्ने संस्कृतिले घर, परिवार र आफन्तहरुसंग जोडछ । शक्तिपीठको दर्शन केवल धार्मिक कर्तव्य मात्र होइन, यो आफैंभित्रको शक्ति चिन्ने यात्रा पनि हो । बडादशैंमा आफ्नो व्यस्त जीवनबाट केही दिन निकालेर आफन्त भेटनुहोस र कुनै एक शक्तिपीठको दर्शन गरेर नयाँ उर्जा लिएर फर्कनुहोस ।
(लेखक : लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ लमजुङ जन्म थलो भई दाङलाई कर्मथलोका रुपमा रोज्नु भई नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)
प्रकाशित मिति २०८३ आश्विन १७, शनिबार १०:१९ गते