रास्वपा केन्द्रीय समितिद्वारा १३ वटा केन्द्रीय विभागका प्रमुखको मनोनयन

रास्वपा केन्द्रीय समितिद्वारा १३ वटा केन्द्रीय विभागका प्रमुखको मनोनयन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज १७ गते आईतबार ११:०२

रास्वपाले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने निर्णय गरेएको छ ।

लमजुङका सांसद धर्म केसी.वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभाग प्रमुख

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका साथ विभिन्न १३ वटा केन्द्रीय विभागका प्रमुखहरूको मनोनयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले असोज १६ गते सो कार्य गरेको हो । बैठक रास्वपाका सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको थियो ।
रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि महामन्त्री विपिन आचार्यको संयोजकत्वमा रहेको उम्मेदवार छनोट समितिमा सात जना सदस्य मनोनयन गरेको हो । समितिमा मिलन लिम्बू, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी सदस्य चयन हुनुभएको पार्टी प्रवक्ता जगदीश खरेलले जारी विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार सो समितिमा पार्टीका सातै प्रदेशका सभापति समितिको पदेन सदस्य रहने व्यवस्था छ ।
बैठकले १३ वटा केन्द्रीय विभागका प्रमुखहरू :
प्रवास सम्पर्क विभागमा मनिष झा,
आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान,
कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य,
सामाजिक न्याय तथा समता प्रवद्र्धन विभागमा रिमा विश्वकर्मा,
सामाजिक न्याय, लैंगिक समानता तथा समावेशिता विभागमा रूबिना आचार्य,
सुशासन तथा राज्य व्यवस्था विभागमा सुदिप ढकाल,
विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल,
कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता,
वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी.,
श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दिपक कुमार साह (महोत्तरी),
आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल,
विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्द बहादुर चन्द,
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी, सो समितिको सदस्यमा सम्राट बुढाथोकीलाई मनोनयन गरिएको छ ।
यसैगरी, अभियान तथा प्रचारप्रसार विभागका उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभागका उपप्रमुखमा डिल्लिश्वोर कार्की (रोहन) मनोनयन हुुनु भएको छ ।
साथै, मधेस प्रदेशमा पार्टी संगठनमा देखिएका समस्या र त्यसको समाधानबारे सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन पनि बैठकमा पेस भएको छ ।
कार्यदलले उक्त प्रतिवेदन पार्टी सभापति लामिछानेलाई बुझाएको छ । प्रतिवेदन अध्ययन गरेपछि उपयुक्त कदम चाल्ने रास्वपाले जनाएको छ ।
यस्तै, रास्वपाले असोज २० देखि २७ गतेसम्म ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्ने निर्णय गरेएको छ ।
उक्त अभियान अन्तर्गत केन्द्रीय सदस्य र सांसदहरू ७७ जिल्लाका ७५३ स्थानीय तहसम्म पुगेर जनता, पार्टीका सदस्य तथा सरोकारवालासँग छलफल गर्ने र सुझाव संकलन कार्य गर्नेछन् ।
बैठकले सबै केन्द्रीय सदस्य र सांसदलाई अभियानमा अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिएको छ ।
रास्वपाले काठमाडौं उपत्यकामा पार्टीको नयाँ केन्द्रीय कार्यालयका लागि जमिन वा घर खोज्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गरेको छ ।
रास्वपा बैठकले विजया दशमी दीपावली छठ लगायतका पर्वमा सबैलाई शुभकामना पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति २०८३ आश्विन १८, आईतवार ११:०२ गते
हजुरको प्रतिक्रिया