
सुन्दरबजार(लमजुङ)– सांसद धर्मराज के.सी.द्वारा सुन्दरबजार अस्पताल लमजुङको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । सांसद केसीले असोज १८ गते उक्त अस्पतालको निरीक्षण, अनुगमन गर्नु भएको हो ।
सुन्दरबजार अस्पताल लमजुङ जिल्लाको शैक्षिक तथा व्यावसायिक केन्द्रका रूपमा परिचित सुन्दरबजार नगरपालिका मध्यपहाडी लोकमार्ग तथा डुम्रे–बेसीशहर राजमार्गको महत्त्वपूर्ण केन्द्रमा अवस्थित छ । सो अवसरमा सांसद के.सी.सँग सुन्दरबजार अस्पतालको भवन निर्माण, स्तरोन्नति तथा स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको थियो ।
छलफलका क्रममा अस्पतालबाट हस्तान्तरण गरिएको निवेदन ग्रहण गर्दै सांसद के.सी.ले सुन्दरबजार अस्पताल लमजुङ जिल्लाको मात्र नभई देशकै केन्द्रविन्दुमा अवस्थित महत्त्वपूर्ण अस्पताल भएकाले यसको विकास र स्तरोन्नतिमा आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, अस्पतालको जग्गा प्राप्ति भएको हुँदा भवन निर्माणका साथ आवश्यक यन्त्र–उपकरण तथा एम्बुलेन्सको व्यवस्थाका लागि पहल गर्ने र अस्पतालको गुरुयोजना निर्माण गरी सोही अनुसार योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने सुझाव दिनु भयो ।
सांसदज्यूको सकारात्मक सुझाब र प्रतिबद्धताले अस्पतालको विकासमा थप आशा र ऊर्जा थपेको अस्पतालका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले बताउँदै अस्पतालको दिगो विकासका लागि स्पष्ट गुरुयोजना, पर्याप्त बजेट, आवश्यक जनशक्ति, आधुनिक उपकरण र प्रभावकारी समन्वय अपरिहार्य छ भन्नुभयो ।
सांसद केसीलाई सुन्दरबजार अस्पताल व्यवस्थापन समितिले प्रदान गरेको ध्यानाकर्षण पत्रको पूर्ण विवरण :
श्रीमान् माननीय धर्मराज के.सी.ज्यू
प्रतिनिधिसभा सदस्य, लमजुङ ।
विषयः सुन्दरबजार अस्पतालको भवन निर्माण, स्तरोन्नति तथा स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेट विनियोजन र समन्वय गरिदिनुहुन अनुरोध ।
महोदय,
लमजुङ जिल्लाको शैक्षिक तथा व्यावसायिक केन्द्रका रूपमा परिचित सुन्दरबजार नगरपालिका मध्यपहाडी लोकमार्ग तथा डुम्रे–बेसीशहर राजमार्गको महत्त्वपूर्ण केन्द्रमा अवस्थित छ । यस क्षेत्रको बढ्दो जनसङ्ख्या, यातायातको चाप तथा स्वास्थ्य सेवाको आवश्यकतालाई दृष्टिगत गर्दा सुन्दरबजार अस्पतालको भवन निर्माण, स्तरोन्नति र सेवा विस्तार आजको अपरिहार्य आवश्यकता बनेको छ ।
हाल यस अस्पतालले उपस्वास्थ्य चौकीको पुरानो भवनबाट स्वास्थ्य सेवा सञ्चालन गरिरहेको छ। पर्याप्त भौतिक पूर्वाधारको अभावमा दैनिक सेवा लिन आउने बिरामीलाई सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भइरहेको छ । यस अस्पतालबाट सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका, मध्यनेपाल नगरपालिकाका केही वडा तथा तनहुँ जिल्लाको भानु नगरपालिकाका वडा नं. ९, १० र ११ का नागरिकले समेत स्वास्थ्य सेवा लिँदै आएका छन्। साथै, अस्पतालमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालनमा रहेको छ ।
अस्पतालमा हाल २८ जनाको स्थायी दरबन्दी रहेको भए तापनि सीमित भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्तिको अभावले स्वास्थ्य सेवा प्रभावकारी रूपमा विस्तार गर्न सकिएको छैन । हाल मुख्यतः बहिरङ्ग (ओपीडी) तथा आकस्मिक सेवा सञ्चालनमा रहेकाले नागरिकले आवश्यक थप उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था छ ।
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक, आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने हक तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ । यस संवैधानिक व्यवस्थाको मर्मअनुसार नागरिकले आर्थिक अवस्था वा बसोबासको क्षेत्रका कारण गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न स्थानीय स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्नु आवश्यक छ ।
विशेषगरी न्यून आय भएका परिवार, गरिब, विपन्न, भूमिहीन तथा सुकुम्बासी नागरिकका लागि सरकारी अस्पताल नै उपचारको प्रमुख आशा र भरोसाको केन्द्र हुने गर्दछ । निजी अस्पतालमा उपचार गर्न आर्थिक कठिनाइ भोगिरहेका नागरिकलाई आफ्नै क्षेत्रमा सहज र सुलभ उपचार उपलब्ध गराउन सुन्दरबजार अस्पतालको स्तरोन्नति अत्यन्त महत्त्वपूर्ण छ ।
सुन्दरबजार अस्पतालमा आवश्यक सेवा तथा पूर्वाधारको अभाव हुँदा थप उपचारका लागि कतिपय बिरामीलाई पोखरा, चितवन वा काठमाडौंलगायतका सहरमा जानुपर्ने अवस्था आउँछ। यस क्रममा बिरामी र आफन्तले लामो यात्रा, यातायात खर्च, खाना, बसोबास तथा उपचारसम्बन्धी अतिरिक्त खर्च बेहोर्नुपर्ने हुन्छ । गम्भीर बिरामीका लागि समयको महत्त्व झनै संवेदनशील हुन्छ । आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यस्तो यात्रा र खर्च थप पीडादायी बन्न सक्छ । यदि सुन्दरबजार अस्पतालमै आवश्यक जनशक्ति, उपकरण र उपचार सेवा उपलब्ध गराउन सकियो भने धेरै नागरिकले स्थानीय स्तरमै उपचार पाउनेछन् । यसबाट बिरामी तथा परिवारको समय र खर्च बचत हुनुका साथै आकस्मिक अवस्थामा समयमै स्वास्थ्य सेवा प्राप्त गर्ने अवसरसमेत बढ्नेछ ।
सुन्दरबजार अस्पतालको भवन निर्माणका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा नेपाल सरकारको मिति २०८१/१२/१८ को मन्त्रिपरिषद् निर्णयअनुसार सुन्दरबजार नगरपालिका– ७, तार्कुटारस्थित नेपाल सरकारको नाममा दर्ता रहेको १५ रोपनी १ आना १ पैसा जग्गा अस्पतालको भवन तथा भौतिक संरचना निर्माणका लागि उपयोग गर्न स्वीकृति प्राप्त भएको थियो। यसले अस्पतालको व्यवस्थित भवन निर्माण तथा भविष्यमा स्वास्थ्य सेवा विस्तार गर्ने महत्त्वपूर्ण आधार तयार गरेको छ ।
अस्पतालको विकासमा जग्गादाता तथा स्थानीय सहयोगीहरूको योगदान पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ । अहिले सन्चालनमा रहेको अस्पतालका लागि ३ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराउन योगदान पुर्याउनुहुने जयराम रेग्मी, दिपेन्द्र कडरिया र रमेश बाबु सापकोटाप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । उहाँहरूको योगदान अस्पतालको विकास र स्थानीय नागरिकको स्वास्थ्य सेवासँग जोडिएको अमूल्य सामाजिक योगदान हो ।
त्यसैगरी, वर्तमान अस्पताल व्यवस्थापन समितिले जिम्मेवारी सम्हालेपछि अस्पतालको विकास, सेवा सुधार तथा पूर्वाधार निर्माणका लागि सुन्दरबजार नगरपालिका, सुन्दरबजार नगरपालिका वडा नं. ७, नेपाल बैंक लिमिटेड, मर्स्याङ्दी पाखा सामुदायिक वन, म्ज्क्ष् नेपाल तथा सुरेन्द्रमान श्रेष्ठ, सबिन मिश्र, तेजेन्द्र गुरुङ, कृष्ण पण्डित, रामचन्द्र अधिकारीलगायत विभिन्न संघसंस्था, समाजसेवी तथा सहयोगी व्यक्तित्वहरूबाट प्राप्त सहयोग, सद्भाव र सहकार्य पनि अत्यन्त महत्त्वपूर्ण रहेको छ ।
यी सबैको सहयोग र सामूहिक प्रयासले अस्पतालप्रति स्थानीय समुदायको अपनत्व, विश्वास र जिम्मेवारीलाई थप मजबुत बनाएको छ । यसका लागि सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तित्वहरूप्रति अस्पताल व्यवस्थापन समितिको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। तथापि, बढ्दो जनस्वास्थ्य आवश्यकता पूरा गर्न अस्पतालको व्यवस्थित भवन निर्माण, स्तरोन्नति र सेवा विस्तारका लागि सरकारी लगानी तथा नीतिगत पहल अपरिहार्य रहेको छ ।
अस्पताल भवन निर्माण तथा स्तरोन्नतिका लागि आवश्यक पहल :
अस्पतालका लागि जग्गा उपयोग गर्ने स्वीकृति प्राप्त भइसकेको सन्दर्भमा अब भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ । यसका लागि चालु आर्थिक वर्ष २०८३/८४ मै आवश्यक बजेट विनियोजन तथा स्रोत सुनिश्चित गर्न, सम्बन्धित मन्त्रालय र सरकारी निकायसँग समन्वय गर्न तथा निर्माण प्रक्रिया अघि बढाउन माननीयज्यूबाट विशेष पहल गरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौँ ।
अस्पतालको वर्तमान सेवा क्षेत्र, नागरिकको आवश्यकता तथा भविष्यमा प्रदान गर्न सकिने स्वास्थ्य सेवालाई ध्यानमा राख्दै निम्न विषयमा आवश्यक पहल गरिदिनुहुन हामी विशेष अनुरोध गर्दछौँ ।
क) अस्पतालको वर्तमान भौतिक अवस्था र आवश्यकताअनुसार व्यवस्थित भवन निर्माण तथा अस्पतालको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन र स्रोत सुनिश्चित ।
ख) आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको दरबन्दी थप गरी चौबीसै घण्टा आकस्मिक सेवा र आवश्यकताअनुसार अन्य स्वास्थ्य सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था ।
ग) अस्पतालमा चालकको दरबन्दी रहे पनि एम्बुलेन्स उपलब्ध नभएकाले बिरामीको सहज आवागमन तथा आकस्मिक सेवाका लागि आवश्यक एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था ।
घ) अस्पतालको हालको भवनमा आवश्यक पूर्वाधारको उपयोग गर्दै दन्त सेवा र आँखा उपचार कक्ष सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरण तथा बजेटको व्यवस्था ।
ङ) अस्पतालमा आवश्यक प्रयोगशाला, औषधि, उपचार उपकरण तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू क्रमशः विस्तार गर्न आवश्यक सहयोग र समन्वय,
च) अस्पतालको सेवा क्षमता र जनताको आवश्यकतालाई ध्यानमा राखी भविष्यमा आवश्यक पर्ने थप विशेषज्ञ सेवा, शैय्या तथा उपचार सुविधाको विकासका लागि दीर्घकालीन योजना र स्रोत व्यवस्थापन,
आदरणीय माननीयज्यू !
स्वास्थ्य सेवा कुनै एउटा संस्था वा स्थानीय तहको मात्र विषय होइन; यो नागरिकको जीवन, सम्मान र संविधानप्रदत्त अधिकारसँग जोडिएको विषय हो। सुन्दरबजार अस्पतालको विकासले सुन्दरबजारवासीलाई मात्र नभई आसपासका लमजुङका स्थानीय तह र तनहुँको भानु नगरपालिकाका नागरिकलाई समेत प्रत्यक्ष लाभ पुर्याउने छ ।
माननीयज्यू यसै क्षेत्रको स्थायी बासिन्दा तथा जनताको प्रतिनिधि हुनु भएकाले यहाँका नागरिकको स्वास्थ्यसम्बन्धी आवश्यकता र अस्पतालको वर्तमान अवस्थालाई नजिकबाट बुझ्न सक्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । आफ्नै क्षेत्रको स्वास्थ्य सेवामा दीर्घकालीन सुधार ल्याउने यस महत्त्वपूर्ण अवसरलाई प्राथमिकतामा राखी अभिभावकीय भूमिका निर्वाह गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेका छौँ ।
जनप्रतिनिधिको नेतृत्व र पहलबाट जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने परिवर्तन नै सार्वजनिक सेवाप्रतिको विश्वासको आधार हो । सुन्दरबजार अस्पतालको भवन निर्माण र स्तरोन्नति सम्पन्न हुन सकेमा यो हजारौँ नागरिकको स्वास्थ्य सुरक्षामा गरिएको महत्त्वपूर्ण लगानी हुनेछ । यसबाट नागरिकले आफ्नै ठाउँमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने आधार तयार हुनेछ। साथै, गरिब तथा विपन्न परिवारले उपचारका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता र अतिरिक्त आर्थिक भारसमेत कम गर्न सकिनेछ ।
अस्पतालको जग्गा प्राप्तिदेखि हालसम्म विभिन्न व्यक्ति, संघसंस्था, स्थानीय तह तथा समुदायबाट प्राप्त सहयोगले यो काम सामूहिक प्रतिबद्धताबाट अघि बढिरहेको स्पष्ट हुन्छ । अब यस प्रयासलाई पूर्णता दिन संघीय सरकारको आवश्यक बजेट, सम्बन्धित निकायको समन्वय र जनप्रतिनिधिको सक्रिय पहल महत्त्वपूर्ण छ । माननीयज्यूको नेतृत्व र प्रभावकारी समन्वयबाट अस्पताल भवन निर्माण तथा स्तरोन्नतिको कामले ठोस गति लिनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।
अतः नागरिकको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको यस विषयलाई उच्च प्राथमिकतामा राखी चालु आर्थिक वर्ष २०८३/८४ मै सुन्दरबजार अस्पतालको भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन तथा स्रोत सुनिश्चित गर्न, निर्माण प्रक्रिया अघि बढाउन, अस्पतालको स्तरोन्नति गर्न तथा आवश्यक जनशक्ति, एम्बुलेन्स र स्वास्थ्य सेवाको विस्तारका लागि सम्बन्धित मन्त्रालय तथा निकायमा प्रभावकारी पहल र समन्वय गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
सांसद केसीको सकारात्मक पहल र सहयोगबाट सुन्दरबजार अस्पतालको विकासले सार्थकता पाउने तथा यस क्षेत्रका नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिएका छौँ ।
भवदीय,
विष्णुकुमार श्रेष्ठ, अध्यक्ष
सुन्दरबजार अस्पताल व्यवस्थापन समिति
सुन्दरबजार नगरपालिका– ७, लमजुङ
सो अवसरमा सुन्दर बजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मी, सुन्दर अस्पतालका डाक्टर अर्जुन बि.क., अस्पतालका सदस्य मधु भट्टराई, समाजसेवी सुरेन्द्र लाल श्रेष्ठ, प्रशासन प्रमुख सीता राम प्रसाद साहलगायतको उपस्थिति थियोे ।

प्रकाशित मिति २०८३ आश्विन १८, आईतवार १२:३७ गते