
धापासी(काठमाडौं)– लमजुङको ऐतिहासिक थलो दुराडाँडा स्थित तुर्लुङकोट कालिका मन्दिरमा पनि महाआरती थालिने भएको छ । त्यस कार्यका लागि सामग्री हस्तान्तरण गरिएको छ । दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा यहाँ स्थित प्रतिष्ठानको कार्यालय परिसरमा दुराडाँडा क्षेत्रका विभिन्न मठ–मन्दिरमा आयोजना हुने महाआरतीलाई सहज र व्यवस्थित बनाउन आवश्यक सामग्री असोज १९ गते उपलब्ध गराइएको हो ।
दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारीले सनातन धर्म सेवा सङ्घ गुरुकुल आश्रम तथा सुन्दरबजार नगरपालिका– ३, दुराडाँडाका अध्यक्ष अमृत नेउपानेलाई उक्त सामग्री हस्तान्तरण कार्य भएको हो । सो कार्यको संयोजन कार्य उक्त प्रतिष्ठानका सदस्य रविकान्त अधिकारीले गर्नु भएको हो ।
सामग्री हस्तान्तरण गर्दै दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले हस्तान्तरण गरिएका सामग्रीहरू धार्मिक अनुष्ठानमा छिट्टै प्रयोगमा आएको शुभसमाचार सुन्न पाउने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले यी सामग्रीले तुर्लुङ कालिकालगायत दुराडाँडाका मठ मन्दिरमा आयोजना हुने महाआरती तथा अन्य धार्मिक अनुष्ठानलाई व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।
निकट भविष्यमा तुर्लुङ कालिकामा आयोजना हुन गइरहेको महाआरतीलगायतका धार्मिक अनुष्ठानमा सहजता पुगोस् भन्ने उद्देश्यका साथ प्रतिष्ठानले आरतीमा प्रयोग हुने आवश्यक सामग्री व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त भएको जानकारी संयोजक रविकान्त अधिकारीले बताउनु भयो । उहाँका अनुसार उक्त पहलको अर्को महत्वपूर्ण उद्देश्य पाणिनी संस्कृत माध्यमिक विद्यालय तथा सनातन धर्म सेवा सङ्घ गुरुकुल आश्रममा रहेका बटुक, गुरु तथा अभिभावकहरूको धार्मिक अनुष्ठानमा आवश्यक सामग्रीको व्यवस्था गर्दै उनीहरूको सीप विकास तथा दिगो आयआर्जनका अवसरमा समेत सहयोग पुर्याउनु हो ।
यसै क्रममा सोही क्षेत्रका पुराना व्यापारी घरानाका कृष्णराज श्रेष्ठ तथा रमेशचन्द्र अधिकारीबाट समेत यस पुण्य कार्यमा सहयोग गर्ने सदाशयता व्यक्त गर्नु भएपछि करिब संयुक्त रुपमा ७५ हजार बराबरका विभिन्न धार्मिक सामग्री जुटाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका सामग्रीहरू :
१. ठूलो आरतीदानी – ३ थान र चमर – ३ थान
— दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानबाट ।
२. शंख घण्ट २ थान स्थानीय ब्राह्मण भजनमा प्रयोग हुने खैजडी, बजारमा पाइने साँचो कस्न मिल्ने २ थान खैजडी गरि ४ थान र १ थान मजुरा
— स्वर्गीय दीर्घराज श्रेष्ठको स्मृतिमा कृष्णराज श्रेष्ठ, महालक्ष्मी श्रेष्ठ तथा परिवारबाट ।
३. कलश – ३ थान
— स्वर्गीय रामदत्त तथा जगतमाया अधिकारीको स्मृतिमा रमेशचन्द्र अधिकारीबाट ।
आरतीका समयमा हुने भजन– कीर्तनमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्वर्गीय दीर्घराज श्रेष्ठको स्मृतिमा कृष्णराज श्रेष्ठ, महालक्ष्मी श्रेष्ठ तथा परिवारबाट २ थान स्थानीय ब्राह्मण भजनमा प्रयोग हुने खैजडी, दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानबाट अर्डर गरिएका ठूला धुपौरा ३ थान, धुपौरो लगायत अन्य मयुर प्वाख जस्ता सामग्री पठाउन बाकी रहेको प्रतिष्ठानका सदस्य रविकान्त अधिकारीले जानकारी दिनु भएको छ । उहाँका अनुसार ती सामग्री निर्माणका लागि समय लागेको हुँदा तयार नभएकोले अन्य आवश्यक सामग्रीहरू भने आउन बाँकी रहेको हुँदा पछि पठाउने योजना रहेको छ ।
यो सहयोग केवल धार्मिक सामग्री हस्तान्तरणमा सीमित नरही उक्त क्षेत्रमा धर्म, संस्कार, संस्कृति, सीप विकास र दिगो आयआर्जनलाई जोड्ने तथा त्यसको सकारात्मक सन्देश देशभर प्रचारप्रशार हुँदै दुराडाँडाको गरिमालाई पुनर्जागरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
ती सामग्री हस्तान्तरण कार्यक्रममा दुराडाँडा सेवा समाजका अध्यक्ष देवीप्रसाद नेउपाने, दाता कृष्णराज श्रेष्ठ, नयनराज श्रेष्ठ, प्रतिष्ठानका सदस्य कृष्ण नेउपाने, शिव अधिकारी तथा रविकान्त अधिकारीको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८३ आश्विन २०, मंगलवार १८:२६ गते