अबको बेसीशहर : सम्भावनाबाट समृद्धितर्फ : भोला शर्मा

अबको बेसीशहर : सम्भावनाबाट समृद्धितर्फ : भोला शर्मा

भोला शर्मा

@antaranganews

२०८३ असोज २१ गते बिहिबार ०८:३९

अब बेसीशहरलाई टुक्रे योजना र तत्कालीन आवश्यकताका आधारमा मात्र होइन, कम्तीमा २०– ३० वर्षको दीर्घकालीन दृष्टिसहितको मास्टरप्लान बनाएर अघि बढाउनुपर्छ ।

अबको बेसीशहर कस्तो बनाउने भन्ने प्रश्न केवल राजनीतिक दल वा जनप्रतिनिधिको मात्र होइन, बेसीशहरका प्रत्येक नागरिकको साझा प्रश्न हो ।

बेसीशहर केवल एउटा नगरपालिका मात्रै होइन, लमजुङको आर्थिक, प्रशासनिक, शैक्षिक, पर्यटन र व्यावसायिक केन्द्र बन्ने ठूलो सम्भावना बोकेको नगर हो ।
यहाँको प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, कृषि, पर्यटन, व्यापार, शिक्षा, युवा जनशक्ति र सांस्कृतिक सम्पदा हाम्रो ठूलो पूँजी हो । तर सम्भावना आफैँ विकासमा रूपान्तरण हुँदैन । त्यसका लागि दूरदृष्टि, स्पष्ट योजना, सक्षम नेतृत्व, इमानदार कार्यान्वयन र निरन्तर जनसहभागिता आवश्यक हुन्छ ।
अबको बेसीशहर कस्तो बनाउने भन्ने प्रश्न केवल राजनीतिक दल वा जनप्रतिनिधिको मात्र होइन, बेसीशहरका प्रत्येक नागरिकको साझा प्रश्न हो ।
१. योजनाबद्ध र व्यवस्थित बेसीशहर :
अब बेसीशहरलाई टुक्रे योजना र तत्कालीन आवश्यकताका आधारमा मात्र होइन, कम्तीमा २०– ३० वर्षको दीर्घकालीन दृष्टिसहितको मास्टरप्लान बनाएर अघि बढाउनुपर्छ ।
सडक, ढल, खानेपानी, पार्किङ, बजार व्यवस्थापन, फोहोरमैला, सार्वजनिक स्थल, आवास क्षेत्र र व्यावसायिक क्षेत्रलाई व्यवस्थित गर्दै बस्न योग्य, सुरक्षित र आधुनिक शहर निर्माण गर्नुपर्छ ।
२. रोजगारी र उद्यमको केन्द्र :
युवालाई विदेश जान बाध्य बनाउने होइन, नगरपालिका भित्रै अवसर सिर्जना गर्ने नीति आवश्यक छ । स्थानीय उत्पादनमा आधारित उद्योग, कृषि प्रशोधन, पर्यटन व्यवसाय, सूचना प्रविधि, साना तथा मझौला उद्यम र स्वरोजगारलाई प्रोत्साहन गर्दै युवालाई सीप, पूँजी, प्रविधि र बजारसँग जोड्नुपर्छ ।
युवा विदेश पठाउने होइन, युवालाई उद्यमी बनाउने बेसीशहर चाहिन्छ ।
३. पर्यटनको नयाँ गन्तव्य :
बेसीशहर अन्नपूर्ण पदमार्गको प्रवेशद्वार मात्र होइन, आफैँमा पर्यटन गन्तव्य बन्न सक्छ । प्राकृतिक सम्पदा, धार्मिक तथा सांस्कृतिक स्थल, होमस्टे, पदमार्ग, झरना, ऐतिहासिक क्षेत्र र स्थानीय खानालाई एकीकृत गरेर बेसीशहर पर्यटन सर्किट विकास गर्न सकिन्छ । पर्यटक आउने मात्र होइन, बस्ने, घुम्ने र खर्च गर्ने वातावरण बनाउनुपर्छ । यसबाट स्थानीय व्यवसाय र रोजगारी दुवै बढ्छ ।
४. कृषिलाई व्यवसायसँग जोड्ने :
कृषि हाम्रो परम्परा मात्र होइन, आम्दानी र रोजगारीको ठूलो आधार बन्न सक्छ । स्थानीय उत्पादनको पहिचान, आधुनिक कृषि प्रविधि, सिंचाइ, कृषि संकलन केन्द्र, चिस्यान केन्द्र, प्रशोधन र बजार व्यवस्थापन गर्दै किसानलाई उत्पादनदेखि बजारसम्म जोड्नुपर्छ । किसानले उत्पादन गर्ने, बजारले उचित मूल्य दिने र नगरपालिकाले सहजीकरण गर्ने प्रणाली विकास गर्नुपर्छ ।
५. शिक्षा र स्वास्थ्यमा गुणस्तर :
बेसीशहरलाई शिक्षा र स्वास्थ्यको क्षेत्रीय केन्द्र बनाउने लक्ष्य लिनुपर्छ । विद्यालयको भौतिक संरचना मात्र होइन, गुणस्तरीय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल शिक्षा र सीपमूलक तालिममा जोड दिनुपर्छ ।
स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा, विशेषज्ञ सेवा, आधुनिक उपकरण र नागरिकमैत्री स्वास्थ्य प्रणाली विकास गर्नुपर्छ ।
६. सफा, सुन्दर र वातावरणमैत्री शहर :
फोहोर व्यवस्थापनलाई केवल उठाउने र फाल्ने विषयका रूपमा होइन, दीर्घकालीन वातावरणीय व्यवस्थापनको विषय बनाउनुपर्छ । घरबाटै फोहोर वर्गीकरण, पुनःप्रयोग, प्रशोधन, हरियाली क्षेत्र, सार्वजनिक पार्क र स्वच्छ सडक निर्माणमा विशेष ध्यान दिनुपर्छ ।
सफा बेसीशहर केवल नगरपालिकाको मात्रै जिम्मेवारी होइन— हामी सबैको संस्कार हो, बन्नुपर्छ !
७. प्रविधिमैत्री र पारदर्शी नगरपालिका :
अब नागरिकले सामान्य सेवाका लागि कार्यालय धाइरहनुपर्ने अवस्था अन्त्य गर्नुपर्छ । नगरपालिकाका सेवा क्रमशः डिजिटल, छिटो, सरल र पारदर्शी बनाउनुपर्छ । बजेट कहाँ खर्च भयो ? कुन योजना कति लागतमा बन्यो ? कामको प्रगति कति भयो ?(योजना गुणस्तर र समयमा सम्पन्न भयो, भएन)— यी सबै कुरा नागरिकले सहजै हेर्न पाउने व्यवस्था हुनुपर्छ । कर तिर्ने नागरिकलाई सम्मान र सेवा पाउने नागरिकलाई सहजता— सुशासनको पहिलो आधार हो ।
८. सबै क्षेत्र र सबै समुदायलाई समान अवसर :
सम्पूर्ण भूभाग र गाउँ–टोललाई समान विकासको अवसर दिनुपर्छ । केन्द्र बलियो बनाएर होइन, सबै क्षेत्रलाई जोडेर समृद्ध बेसीशहर निर्माण गर्नुपर्छ ।
९. अब बहस होइन, परिणाम चाहिन्छ :
बेसीशहरसँग सम्भावना छ भन्ने कुरा हामीले धेरैपटक सुनिसकेका छौँ । अबको पुस्ताले फेरि सम्भावनाको कथा मात्र सुन्न चाहँदैन । आफ्नो शहरमै भविष्य देख्न सक्ने वातावरण चाहिएको छ ।
त्यसैले अबको बेसीशहरको राजनीति व्यक्ति केन्द्रित होइन, नीति र परिणाम केन्द्रित हुनुपर्छ ।
मेरो दृष्टिमा अबको बेसीशहर !
सम्भावनालाई अवसरमा, अवसरलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा र रोजगारीलाई समृद्धिमा रूपान्तरण गर्ने बेसीशहर बन्नु पर्छ । हामीलाई अब केवल नयाँ सडक होइन, नयाँ सोच चाहिन्छ ।
केवल नयाँ भवन होइन, नयाँ प्रणाली चाहिन्छ । केवल बजेट होइन, बजेटको सही परिणाम चाहिन्छ ।
केवल नेतृत्व होइन, जवाफदेही नेतृत्व चाहिन्छ ।
अबको बेसीशहर !
सम्भावनाको चर्चा गर्ने शहर होइन, सम्भावनालाई समृद्धिमा बदल्ने शहर बन्नुपर्छ ।
– शर्माको फेसबुक वालबाट ।  बेसीशहर, लमजुङ ।

प्रकाशित मिति २०८३ आश्विन २२, बिहीबार ०८:३९ गते
हजुरको प्रतिक्रिया