अब देखिने छैन यो उन्मुक्त हाँसो : भारतका दिग्गज अभिनेता नानाको निधन

अब देखिने छैन यो उन्मुक्त हाँसो : भारतका दिग्गज अभिनेता नानाको निधन

एजेन्सी/अन्तरङ्ग

@antaranganews

२०८३ असोज २१ गते बिहिबार ०५:३१

मिरा नायरको ‘सलाम बम्बे’मा उनको अभिनयले प्रशंसा पायो । राष्ट्रिय चलचित्र पुरस्कार दिलायो । पुरस्कार पाउन सफल भए पनि एउटा शब्द उनको पछाडि लागिरह्यो— सहायक अभिनेता । ‘क्रान्तिवीर’ले उनलाई उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार दिलायो । अब उनलाई ‘सहायक अभिनेता’का रुपमा चिनाउन गाह्रो हुन गयो ।

उनको वास्तविक नाम विश्वनाथ पाटेकर थियो । नाना पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा परिचित थिए । नायक हुन नायकजस्तो देखिनुपर्दैन ! भन्ने सन्देश दिन सफल रहे उनी ।

काठमाडौं– बलिउडका चर्चित अभिनेता नाना पाटेकरको अब देखिने छैन यो उन्मुक्त हाँसो । उनको गोवास्थित निवासमा हृदयाघातका कारण निधन भएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले असोज २२ गते जनाएको छ । उनी ७५ वर्षका थिए ।
बलिउडमा ‘हिरो’को परिभाषा बदल्न सफल बनेका उनै हुन्— नाना पाटेकर । जसले आज यो धर्तीबाट विदा लिएको छ । उनले ‘नायक’को नयाँ मानक स्थापित गरेका थिए ।
गोवाको डोना पाउलास्थित घरमा बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो भने चिकित्सकहरूको टोलीले करिब ४५ मिनेटसम्म उनलाई बचाउने प्रयास गरेका थिए । तर उपचार प्रयास सफल हुन नसकेपछि बिहान करिब ५ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । नाना पाटेकरका छोरा मल्हार पाटेकरले उनको निधनको पुष्टि गरेका हुन् ।
उनको वास्तविक नाम विश्वनाथ पाटेकर थियो । नाना पाटेकर हिन्दी र मराठी चलचित्रका प्रभावशाली अभिनेताका रूपमा परिचित थिए ।
उनको मृत्युको कारण गम्भीर हृदयाघात भएको प्रारम्भिक विवरणमा बताइएको छ । पोस्टमर्टमपछि मृत्युको कारण थप स्पष्ट हुने अस्पतालका चिकित्सकको भनाइ छ ।
नायक हुन नायकजस्तो देखिनुपर्दैन ! भन्ने सन्देश दिन सफल रहे उनी । उसको अनुहारमा न ‘चक्लेटी’ चमक छ, न आवाजमा प्रेमिल मिठास । न आँखा स्थिर, न बोलीमा भावुकता । अनि आउँछ, एक आँधी— जसको चालढाल बलिउडका यी परम्परागत हिरोभन्दा बिल्कुलै भिन्न छ ।
अग्लो कद । चौडा छाती । मिलेको ज्यान । अनुहारमा चमक । हावामा लहराइरहेको कपाल । ऊ प्रेम गर्छ, गीत गाउँछ । ऊ असल छोरा हो, असल साथी पनि । असल पिता पनि उही, असल पति पनि । जिन्दगीमा लाख अप्ठ्यारा आओस्, जित सधैं उसैको हुन्छ । शत्रुहरूले जतिसुकै घेरून्, अन्त्यमा खलनायकलाई उसैले हराउँछ । ऊ आउँदा पृष्ठभूमिमा संगीत चर्किन्छ । उसले एक मुक्का हान्दा पाँच जना हावामा उड्छन् । र, आखिरीमा दर्शकको ताली खाँदै ऊ पर्दाबाट बिदा हुन्छ । हो यही अभिनय कलाले उसलाई, लामो समय हिन्दी सिनेमाको पर्दामा राज जमाएको ‘हिरो’ बनायो ।
अभिनेता नाना पाटेकर आफ्नो अभिनयलाई जीवन्त बनाउन कुनै पनि कसर बाँकी राख्दैनथे । सैनिक अफिसरको भूमिका निर्वाह गर्न उनले सेनाको तालिम नै लिएका थिए । चलचित्र ‘प्रहार’को चरित्रलाई हुबहु देखाउन उनले सैन्य तालिम लिएका थिए ।
‘प्रहारः द फाइनल अट्याक’मा आर्मी मेजरको भूमिका निर्वाह गर्न नाना पाटेकरले भारतीय सेनाको मराठा लाइट इन्फन्ट्रीसँग सैन्य तालिम लिएका थिए । उनले त्यहाँ तीन वर्ष तालिम लिएका थिए । आफ्नो तालिम पूरा गरेपछि, नाना पाटेकर प्रादेशिक सेनामा भर्ना भए । उनलाई मानार्थ कप्तानको रूपमा नियुक्त गरिएको थियो । पछि उनले मानार्थ लेफ्टिनेन्ट कर्नेलको रूपमा सेवा गरी सन् २०१३ मा उनले अवकाश लिएको दैनिक भाष्करले समाचारले लेखेको छ ।
सन् १९८४ को ‘आज की आवाज’ ले उनलाई हिन्दी सिनेमामा पहिचान दिएको हो । उनको अभिनयमा कुनै बनावट थिएन । यस्तो लाग्थ्यो, सडकमा हिँडिरहेको एक नागरिक सर्लक्कै सिनेमाको पर्दामा उभिएको छ । यही सजीव अभिनयको बलमा सन् १९८० दशकको अन्त्यसम्म आइपुग्दा उनी एक गम्भीर अभिनेताका रूपमा स्थापित भए ।
मिरा नायरको ‘सलाम बम्बे’मा उनको अभिनयले प्रशंसा पायो । सन् १९८९ को ‘परिन्दा’ ले उनलाई राष्ट्रिय चलचित्र पुरस्कार दिलायो । पुरस्कार पाउन सफल भए पनि एउटा शब्द उनको पछाडि लागिरह्यो— सहायक अभिनेता ।
सन् १९९१ मा ‘प्रहार’ निर्देशन गर्दै उनी आफै मुख्य भूमिकामा आए । अवकाशप्राप्त सैनिक अधिकृतको कथा थियो, जसले न्यायका लागि आफ्नै बाटो रोज्छ । तर उनको करिअरको निर्णायक मोड अझै आउन बाँकी थियो । त्यो आयो— ‘तिरंगा’ र ‘क्रान्तिवीर’ । ‘क्रान्तिवीर’ले उनलाई उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार दिलायो । अब उनलाई ‘सहायक अभिनेता’ भनेर चिनाउन गाह्रो हुन गयो ।
तर रोचक कुरा के थियो भने उनले हिरो बन्न परम्परागत हिरोको रूप धारण गरेनन् । उनी हिरो बने, तर हिरो जस्तो बनेनन् । उनले आफ्नो अनुहार बदलेनन् । आफ्नो आवाज नरम बनाएनन् । शरीरलाई परम्परागत एक्सन हिरोको ढाँचामा ढाल्न खोजेनन् । नानाको यही नै सबभन्दा ठूलो विद्रोह थियो ।
‘अब तक छप्पन’मा प्रहरी अधिकारीको भूमिकामा उनको संवादभन्दा मौनता बलियो थियो । ‘राजनीति’मा उनको उपस्थिति अर्कै किसिमको थियो । ‘नटसम्राट’मा उनी रंगमञ्चका वृद्ध कलाकार बने । हरेक पटक अनुहार उही थियो । तर मान्छे फरक । यही नै त हो, कलाकारको शक्ति !
सन् २००७ मा रिलिज भएको ‘वेलकम’मा नानाले खेलेको उदय शेट्टीको भूमिकाले कमेडीको मानक पनि बदलिदियो । उनको आवाज त उस्तै गम्भीर आवाज थियो । अनुहारमा रिस पनि झल्किन्थ्यो । धम्की दिने शैली उही । तर यसपटक दर्शक उनीसँग डराएनन् । बरू हाँसे । धेरै हाँसे ।
‘वेलकम’को उदय शेट्टीले नानाको अर्को ढोका खोलिदियो । उनले फेरि एकचोटि आफ्नो छवि भत्काए । जो पर्दामा अन्यायविरूद्ध चिच्याउँथ्यो, त्यही मान्छे केही वर्षपछि दर्शकलाई पेट मिचीमिची हँसाइरहेको थियो । यसबाट नानाले आफ्नो अभिनयको दायरा अझ फराकिलो पार्ने मौका मिल्यो ।
उनको अभिनयमा एउटा कुरा सधैं थियो— पूर्ण नियन्त्रणमा रहेको अराजकता । उनी कराउँदा पनि अभिनयजस्तो लाग्दैनथ्यो । चुप लाग्दा पनि दृश्य खाली हुँदैनथ्यो । उनको अनुहारमा संवादभन्दा पहिले कथा सुरू हुन्थ्यो ।
पर्दाभन्दा बाहिरको अर्को अध्याय :
उनको व्यक्तित्व विवादबाट मुक्त रहेन । तनुश्री दत्ताले २००८ मा ‘हर्न ओके प्लिज’को छायांकन क्रममा उनीमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । नानाले आरोप अस्वीकार गरे । २०१८ मा यो विषय भारतको ‘मीटू’ बहससँगै पुनः चर्चामा आयो । तर पछि यो आरोप पुष्टि हुन सकेन ।
तथापि हिन्दी सिनेमाको पर्दा र दर्शकहरूको सम्झनामा उनी सधैं जीवित रहने छन् । कहिले ‘क्रान्तिवीर’ बनेर । कहिले ‘अब तक छप्पन’को सादु बनेर । कहिले ‘नटसम्राट’को गणपत बेलवलकर बनेर । अनि कहिले ‘वेलकम’को उदय शेट्टी बनेर । सायद, उनको जीवनले हामी सबैलाई लगाएको गुन पनि यही हो— नायक हुन नायकजस्तो देखिनु पर्दैन ।
नानाको करिअरमा तीनवटा राष्ट्रिय चलचित्र पुरस्कार, चारवटा फिल्मफेयर पुरस्कार र पद्मश्रीजस्ता सम्मान आए । सन् १९७८ मा ‘गमन’बाट चलचित्रमा अभिनय यात्रा सुरु गरेका उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘नटसम्राट’लगायत चलचित्रमा अभिनय गरेका थिए । ‘क्रान्तिवीर’का लागि उनले उत्कृष्ट अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए भने ‘परिन्दा’ र ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार जितेका थिए । सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मान गरेको थियो ।
उनको अन्तिम ‘म्यासेज’ के थियो ?
बलिउड अभिनेता नाना पाटेकरले आफ्नो मृत्युअघि साथीलाई म्यासेज गरेर मृत्यु हुनुभन्दा अगाडि आफूलाई सन्चो नभएको बताएका थिए ।
मणिपाल अस्पतालका चिकित्सहरूले उनको अन्तिम क्षणहरूबारे विस्तृत जानकारी दिएका छन् । ‘हाम्रो एम्बुलेन्स बिहान ४ः२० बजे नाना पाटेकरको घरमा पुग्यो । हामी त्यहाँ पुग्दा उनी बेहोस अवस्थामा थिए,’ मणिपाल अस्पतालका अन्कोलोजी विभागका प्रमुख डा. शेखर सालुंखेले भने, ‘त्यसैले हाम्रो टोलीले बिहान ४ः३० बजे अस्पताल लगेर तुरुन्तै सीपीआर सुरु ग¥यो ।’ यद्यपि, बिहान ५ः२० बजे उनलाई मृत घोषित गरियो, उनले भने ।
अस्पताल लैजानु अघि नै उनको मृत्यु भएको थियो, त्यो बेलामा उनका परिवारका सदस्य कोही थिएनन् । एक साथी र सहयोगीले एम्बुलेन्सबाट अस्पताल पुर्याएका थिए ।

प्रकाशित मिति २०८३ आश्विन २२, बिहीबार १७:३१ गते
हजुरको प्रतिक्रिया