कांग्रेसको १५औँ महाधिवेशन : आज बिहान ७ बजेबाट मतदान सुरु, परिणाम आउन तीन दिन लाग्ने

कांग्रेसको १५औँ महाधिवेशन : आज बिहान ७ बजेबाट मतदान सुरु, परिणाम आउन तीन दिन लाग्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज २२ गते शुक्रबार ०७:१२

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् ।

निर्वाचन समितिले ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरु गर्ने जनाएको छ ।

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज असोज २३ गते मतदान हुँदै छ । हिजोका लागि तय गरिएको मतदान आज बिहान ७ बजेबाट हुन लागेको हो । निर्वाचन समितिले ज्येष्ठ मतदाताबाट मतदान प्रक्रिया सुरु गर्ने जनाएको छ ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै सम्बन्धित निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएको छ । मतदान समय दिउँसो ३ बजेसम्म हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । आजै साँझ ५ बजेसम्म मतदानको सबै प्रक्रिया पूरा हुने दाबी निर्वाचन समितिको छ ।
महाधिवेशनमा ८५० जनाले मनोनयनपत्र दर्ता गराएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिनु भयो । उहाँका अनुसार उनीहरूको उमेदवारीको वैधता परीक्षण गर्न धेरै समय लागेकाले मतपत्र छपाइमा ढिलाइ भएको हो । उहाँले भन्नुभयो, ‘एक लाख ८० हजार मतपत्र जम्मा आवश्यक हुने भयो । हामीले दुई लाख मतपत्र छपाइ गरेका छौँ ।’
मतपत्र छपाइमा ढिलाइ भएपछि एक दिन पछाडि सरेको मतदानका लागि निर्वाचन समितिले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन् ।
मतगणना कार्य सानेपामा : तीन दिनभित्र मतपरिणाम :
मतगणना कार्य कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ । आज मतदान भएपछि मतपेटिकाहरू मतगणनाका लागि कांग्रेस केन्द्रीय कार्यालय, सानेमा लगिनेछ । पार्टी कार्यालयमा १२ देखि १३ स्थानमा एकैपटक मतगणना गर्ने समितिको तयारी छ । मतगणनाका लागि पाँच सय कानुन व्यवसायीलाई तयारी गरिएको छ ।
कुल २३ वटा मतपत्र डिजाइन गर्दा जम्मा एक लाख ८० हजार आवश्यक पर्ने भए पनि समितिले दुई लाख प्रति मतपत्र छापेको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार मतदान सकिएको तीन दिनभित्र सबै नतिजा सार्वजनिक गरिने छ ।
प्रविधि मतदान किन भएन ?
निर्वाचन समितिले यसपटक डिजिटल भोटिङ (विद्युतीय मतदान)को प्रयोग गर्नेबारे प्राविधिक कम्पनीहरूसँग छलफल गरेको थियो । तर, उमेदवार र महाधिवेशन प्रतिनिधिहरूको संख्या अत्यधिक भएकाले प्रविधिको प्रयोग सम्भव नभएको सदस्यसचिव कटुवालले बताउनु भयो । उहाँका अनुसार प्राविधिक अध्ययनका क्रममा डिजिटल प्रणालीबाट एकजना प्रतिनिधिलाई मतदान गर्न ४० मिनेटसम्म लाग्ने देखिएको थियो ।
यस हिसाबले सबै प्रतिनिधिले मतदान गरिसक्न तीन दिनभन्दा बढी समय लाग्ने भएपछि अन्तिम समयमा कागजको मतपत्र नै छाप्ने निर्णय गरिएको समितिले स्पष्ट्याएको छ ।
मतदानमा प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन गर्न मताधिकार प्रयोग गर्नेछन् ।
यसअघि असोज २२ गतेभित्रै निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर मतपत्र छपाइमा ढिलाइ भएपछि निर्वाचन कार्यक्रम एक दिन लम्बिएको हो । निर्वाचन समितिले रातिको समयमा मतदान गराउनुभन्दा बिहान मतदान सुरु गर्नु उपयुक्त हुने निष्कर्षसहित नयाँ समयतालिका सार्वजनिक गरेको थियो ।
फितलो व्यवस्थापन उम्मेदवार र प्रतिनिधि हैरान :
पूर्वनिर्धारित कार्यतालिका अनुसार नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आज सकिनु पर्ने हो । १५ औँ महाधिवेशनको निर्वाचन तयारी नपुग्दा तोकिएको समयमा हुन सकेन । फितलो व्यवस्थापन उम्मेदवार र प्रतिनिधि हैरान भएका छन् । मतपत्र छपाइमा ढिलाइले गर्दा मतदानको समय पटकपटक सारियो, जसले गर्दा प्रतिनिधि र उम्मेदवारहरू निराश हुन पुगेका थिए । महाधिवेशनस्थलमा अनुहारमा उत्साह लिएर क्रियाशील हुनुपर्ने प्रतिनिधिहरू थकान र निराश मुद्रामा देखिन्थे ।
मतदान गर्न पाउने आसमा मतदानका लागि निर्धारण गरिएका राष्ट्रिय सभा गृह र खुलामञ्चमा प्रतिनिधिहरू बिहानै उपस्थित भएका थिए । १० बजे तयारी नपुगेको भन्दै दिउँसो १ बजेसम्मका लागि सारियो । त्यसपछि २ बजे, साढे २ बजे हुँदै आज बिहान ७ बजेसम्मका लागि मतदानको समय सारिएपछि महाधिवेशन स्थलमा रहेका प्रतिनिधिहरू निराश देखिका हुन् ।
व्यवस्थापनको कमजोरीले सङ्गठनात्मक क्षमतामा प्रश्न उठेको मात्र छैन महाधिवेशन लम्बिएसँगै पार्टीको ढुकुटीमा आर्थिक भार थपिएको छ ।
पार्टी ढुकुटी, प्रतिनिधि मात्रै होइन उम्मेदवारहरू पनि खर्च बढ्ने भएको छ । जसप्रति आक्रोशित देखिन्थे तर, मतमा प्रभाव पर्ने हुँदा उनीहरूले औपचारिक रूपमा धारणा दिन भने मानेनन् ।
तर, व्यवस्थापन त फितलो देखियो, तोकिएको समयमा महाधिवेशन हुन सकेन भन्ने पत्रकारहरूको प्रश्नमा कोषाध्यक्ष उमेश श्रेष्ठले महाधिवेशन प्रतिनिधिहरू धेरै रहेकाले थोरैमा भन्दा केही असहज हुनु स्वाभाविक भएको बताए ।
टाढा–टाढाबाट आएका प्रतिनिधिहरूका लागि काठमाडौँमा बस्ने र खाने खर्च आफैँले व्यहोर्नुपर्ने नियम अहिले कांग्रेसले बनाएको थियो । यसअघिका महाधिवेशनमा भने पार्टीले व्यहोर्ने गर्थ्यो ।
यसपटक पार्टीले प्रतिनिधिहरूका लागि चिया, खाजा र पानीको व्यवस्था गरेको छ । महाधिवेशन लम्बिएपछि यो खर्चमा पनि वृद्धि भएको छ । पार्टीको आर्थिक स्रोतमाथि पहिले नै विभिन्न कारणले दबाब रहेको अवस्थामा, महाधिवेशन लम्बिएपछि यो दबाब अझ बढेको छ । बढेको खर्च कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने प्रश्नमा कोषाध्यक्ष श्रेष्ठले कार्यकर्ताहरूबाट उठ्ने लेबीबाट र महाधिवेशनमा सहभागीको दर्ताबाट उठेको रकमबाट व्यवस्थापन गरिने जानकारी दिनु भयो ।
कांग्रेसले यो पटक महाधिवेशन प्रतिनिधिलाई नाम दर्ता गर्न प्रत्येकबाट ३ हजार ५ सय रुपैयाँ लिएको थियो ।
फितलो व्यवस्थापन र त्यसले सिर्जना गरेको अव्यवस्थाले पार्टीको सङ्गठनात्मक क्षमतामा प्रश्न चिह्न खडा गरेको छ । समयसँगै कांग्रेसलाई सुधार्छाैँ भनेर आएको नेतृत्वले आफ्ना कार्यकर्ताहरूको समय, पैसा र भावनाको कदर गर्न सकेको देखिएन ।
पार्टीलाई लोकप्रिय र विश्वसनीय बनाउने नारासहित विशेष महाधिवेशनबाट आएको नेतृत्वले समग्र पार्टी सङ्गठनको व्यवस्थापकीय क्षमता वृद्धि गर्न नसकेको आरोप स्वयम् प्रतिनिधिहरूले लगाइरहेका थिए ।
आचारसंहिता विपरित प्रचारप्रसार :
यसैबीच, प्रतिनिधिहरू पनि व्यवस्थित तथा अनुशासित भएको देखिएन । कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको आचारसंहिताले महाधिवेशनस्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा रोक लगाएको छ । तर, महाधिवेशनस्थल परिसरका पोल, भुईंभर प्रचार सामग्री देखिन्छन् ।
कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबिच प्रतिस्पर्धा हुँदैछ । आगामी ४ वर्षे कार्यकालका लागि कार्यसमिति चयन गर्ने निर्वाचन फित्तलो व्यवस्थापनका कारण पटक पटक सर्दै आएको छ ।
मतदान स्थल निर्माणमा सहभागीले दिएको जानकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने सक्छ ।
कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ । मतदान भने खुलामञ्चका अतिरिक्त राष्ट्रिय सभागृह र नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने प्रवन्ध गरिएको छ ।

प्रकाशित मिति २०८३ आश्विन २३, शुक्रबार ०७:१२ गते
हजुरको प्रतिक्रिया