
काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा सभापति पदमा गगनकुमार थापा सार्वधिक ९४.२५ प्रतिशत मतका साथ विजयी हुनु भएको छ । असोज २४ गते बिहान घोषित मत परिणाम अनुसार थापा विजयी हुनु भएको हो ।
कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ भने थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी हुनु भएको महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमले बताउनु भयो । उहाँका अनुसार सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले मात्र ३७५ मत प्राप्त गर्नु भएको छ ।
कुल खसेको मतमा थापाले ९३.८८ प्रतिशत मत र बदर मत घटाउँदा ९४.२५ प्रतिशत मत प्राप्त गरेका छन् । खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ । थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गर्नु भएको स्थिति छ ।
तत्कालीन महामन्त्री थापासहितका नेताहरूको पहलमा भएको विशेष महाधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको थियो । कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित थापा पार्टीभित्र नेतृत्व परिवर्तन र संगठनात्मक सुधारको अभियानमा सक्रियपूर्वक लाग्नु भएको थियो ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयमा बहस भने चलिरहे कै छ । तर त्यसपछि भएको १५औँ महाधिवेशनबाट थापा सभापतिमा विजयी हुनु भएको हो ।
७०३९ मत खस्यो :
असोज २३ गते बिहान साढे ८ बजेबाट सुरु भएको मतदान राति १० बजे सकिएको थियो । मतदान सकिएलगत्तै मतगणा सुरु भएको थियो । निर्वाचन समितिले मतदानको समय पटक पटक थप्दा मतदान राती १० बजे मात्र सकिएको हो ।
महाधिवेशनमा कुल मतदाता ७ हजार ३१७ थिए । कुल सात हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गरेको जानकारी दिइएको छ । कुल मतदाताको ९६.२० प्रतिशत मत खसेको छ । कुल मतदातामध्ये २७८ जनाले मतदान गरेका थिएनन् ।
वर्षाका कारण सभापतिको मतगणना रोकियो :
वर्षाका कारण केही समय प्रभावित बनेको नेपाली कांग्रेसको सभापति पदको मतगणना अन्ततः सुरु भएको छ । मौसममा सुधार आएपछि खुला मञ्चमा रहेका सम्पूर्ण मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा ल्याइएको हो । वर्षाले गर्दा मतपेटिका भिज्ने जोखिम बढेपछि ढुवानी रोकिएको थियो । तर, वर्षा रोकिएसँगै निर्वाचन समितिले सम्पूर्ण मतपेटिका राष्ट्रिय सभा गृहमा संकलन गरी २४ गते बिहान १ः०० बजेदेखि मतगणना सुरु गरेको हो ।
आगामी चार वर्षीय कार्यकालका लागि २२८ पदका लागि भएको निर्वाचन अन्तर्गत अहिले राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भएको थियो ।
मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्ने काम भइरहेको छ भने मतगणना सीसी क्यामेराको निगरानीमा मत गणना कार्य गरिएको हो ।
सभापति पदको मतगणना राष्ट्रिय सभा गृहमै सम्पन्न भए पनि बाँकी अन्य पदहरूका मतपेटिका भने सुरक्षित रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपा पु¥याइएको छ । अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको मतगणना सानेपामै गरिने तयारी गरिएको छ ।

प्रकाशित मिति २०८३ आश्विन २४, शनिबार ०८:४३ गते