सस्मरण : बडादशैँको खुसी, आर्थिक अभाव र उधारो खसी

सस्मरण : बडादशैँको खुसी, आर्थिक अभाव र उधारो खसी

के. वि. मसाल

@antaranganews

२०८३ असोज २३ गते शनिवार ०९:५६

म पत्रकार ! त्यो बेला पत्रकारिता पेशा होइन, तपस्या थियो । बाहिरबाट हेर्दा पत्रकारको परिचय आकर्षक र सम्मानित लाग्थ्यो, तर धर्म नछाडी, निष्ठा नबेची कलम चलाउनेहरूका लागि त्यो कठोर साधना थियो (ऐले पनि छ– सं.)। मेरो एउटा समाचारले सिंगो जिल्ला हल्लाउँथ्यो । मेरो एक शब्दले अन्यायमा परेको आँखामा आँसु र अत्याचारीको निधारमा पसिना ल्याउँथ्यो । बाटोमा रोक्दै मान्छेहरू भन्थे ‘तपाईंको समाचारले छोयो है ।’ विडम्बना ! त्यही छुने समाचारले मेरो आफ्नै भान्सा छुन सक्दैनथ्यो । पत्रकारिताबाट बाँच्ने आधार थिएन ।

अभावको बीचमा पनि बडादशैँ मान्नै पर्ने एउटा बाध्यता थियो, एउटा नलेखिएको नियम थियो । त्यो बाध्यताभन्दा बढी रहर पनि थियो । किनकि बडादशैँ बाह्रै महिना आउँदैन, वर्ष दिनमा एकपटक मात्र आउँछ । गाउँ र टोलभरिका घर घरमा खसी काटेको, मासु सुकाएको, भान्सामा भुटेको मासुको बासना आएको बेला आफ्नो घरको चुलो चिसो हुनु भनेको गरिबीभन्दा पनि ठूलो लाज हुन्थ्यो ।

बडादशैँ भन्नेबित्तिकै नयाँ कपडा, टीका–जमरा, मीठो खानेकुरा, वर्षौदेखि छुटेका आफन्तको आत्मीय भेटघाट हुनु हो । बाल्यकालदेखि नै बडादशैँ मेरा लागि सबैभन्दा विशेष चाड हो । तर जीवनका धेरै बडादशैँहरू बिर्सिए पनि २०५२ सालको बडादशैँ भने आजसम्म पनि सस्मरण भैरहन्छ । उधारो खसी किनेर मानेको त्यो बडादशैँ  । आज पनि बडादशैँ आउँदा मलाई त्यही उधारो खसी र अभावबीच पनि खुसी खोजेको त्यो बडादशैँको सम्झना हुन्छ ।
म पत्रकार ! त्यो बेला पत्रकारिता पेशा होइन, तपस्या थियो । बाहिरबाट हेर्दा पत्रकारको परिचय आकर्षक र सम्मानित लाग्थ्यो, तर धर्म नछाडी, निष्ठा नबेची कलम चलाउनेहरूका लागि त्यो कठोर साधना थियो । मेरो एउटा समाचारले सिंगो जिल्ला हल्लाउँथ्यो । मेरो एक शब्दले अन्यायमा परेको आँखामा आँसु र अत्याचारीको निधारमा पसिना ल्याउँथ्यो । बाटोमा रोक्दै मान्छेहरू भन्थे ‘तपाईंको समाचारले छोयो है ।’ विडम्बना ! त्यही छुने समाचारले मेरो आफ्नै भान्सा छुन सक्दैनथ्यो । पत्रकारिताबाट बाँच्ने आधार थिएन । सत्यको पछि कुदन मोटरसाइकलमा हाल्ने पेट्रोल आफ्नै गोजीबाट निकाल्नुपथ्र्यो । त्यो बेलाको महँगो ल्यान्डलाइन फोनको बिल, घण्टौँ लाइन बसेर गर्नुपर्ने फ्याक्सको खर्च सबै आफ्नै खल्तीबाट जान्थ्यो । इज्जत थियो, पहिचान थियो, तर खल्ती रित्तै थियो । त्यस्तै रित्तो खल्तीको बेला बडादशैँ आँगनमा आइपुग्यो । बजार गुञ्जायमान थियो । खसीबोकाको व्यापारले चहलपहल बढेको थियो । मान्छेहरू नयाँ लुगाका झोला बोकेर हर्षित मुद्रामा घर फर्किरहेका हुन्थे । तर मेरो घरभित्र भने सन्नाटा थियो । नयाँ लुगा त परको कुरा, बडादशैँका लागि खसी किन्ने पैसा समेत हातमा थिएन । बडादशैँ खर्च दिने कुनै सरकारी कार्यालय मेरा लागि थिएन । कसैसँग हात फैलाउने आँट पनि थिएन ।
मेरो घरको ठ्याक्कै अगाडि हुलाक कार्यालय थियो । फुर्सद मिल्नेबित्तिकै म त्यही पुग्थेँ, कर्मचारी साथीहरूसँग गफ गरेर मन हलुका पार्न । हाकिम हुनुहुन्थ्यो दण्डमणि भुसाल । कृषिमा जे.टी.को जागिरबाट लोकसेवा परीक्षा उत्तीर्ण गरी हुलाक सेवामा आउनुभएका भुसाल सबैसँग समन्वय गर्न खोज्नुहुन्थ्यो । मसँग उहाँको राम्रो सम्बन्ध थियो । त्यसबेला हुलाक कार्यालयमा प्रेमप्रसाद देवकोटा, धनबहादुर केसी, डम्बरबहादुर श्रेष्ठ, पूर्णबहादुर खडका, ईश्वरीप्रसाद गौतम, मधु पौडेल र टोपाराम भट्टराई लगायत धेरै आत्मीय कर्मचारी साथीहरू हुनुहुन्थ्यो । बडादशैँ नजिकिएपछि हुलाकभित्रका कुरा पनि किनमेलमै केन्द्रित हुन्थे । कसले कस्तो खसी किन्यो, कति पर्यो भन्ने चर्चा धेरै हुन्थ्यो । कोही बडादशैँ खर्चले छोराछोरीको लुगा र खसी किन्दा पनि नपुग्ने गुनासो गर्थे । म एक कुनामा बसेर सुनिरहन्थेँ । के बोल्नु ? लुगाफाटो र चाडमा चाहिने आवश्यक सामान किन्ने पैसा समेत नभएको मान्छेको मौनतामा लाचारीबाहेक के हुन्थ्यो र ? एकदिन त्यही खसीको कुराले उकुसमुकुस भएर मनभित्रको कुरा ओकलिहालेँ । अलि हाँस्दै, अलि पीडा लुकाउँदै भनेँ, तपाईंहरूको त जे होस बडादशैँ खर्च त आउँछ, रमाइलोसँग किनमेल गर्नुहोला । मेरो त न बडादशैँ खर्च आउने बाटो छ, न तलब । यो बडादशैँमा त खसी किन्ने पैसा समेत छैन ।
मेरो बोलीमा हाँसो थियो, तर आँखाको डिलमा आँसु टल्किरहेको थियो होला । वाक्य सकिन नपाउँदै नजिकैको कुर्सीमा बस्नुभएका खरिदार टोपाराम भट्टराई सर बोल्नुभयो । उहाँको स्वरमा कुनै औपचारिकता थिएन, विशुद्ध आत्मीयता थियो । सर, तपाईंलाई पनि पैसाले खसी किन्न रोकिन्छ र ? कस्तो कुरा गर्नुभएको ? मसँग तीनवटा खसी छन अहिले नै घरमा जानुस र आफूलाई मन परेको रोजेर ल्याउनुस । पैसाको टेन्सन नलिनुस, भएको बेला दिनुभए हुन्छ । एकछिन त मलाई विश्वास नै लागेन । बडादशैँको मुखमा आफूले दुःख गरेर पालेको खसी कसैले यसरी उधारो देला ? न कुनै तमसुक, न साक्षी, न व्याजको हिसाब, केवल चिनजानको विश्वास । कस्तो उदारता र कस्तो विश्वास ! कार्यालय छुट्टी भएपछि टोपाराम भट्टराईसगै म पनि उहाँको घर गए । उहाँको घर पनौरा गाउँमा थियो । बडादशैँको मुखैमा, उस्तै उस्तै कैला रङका तीनवटा खसी देखाउँदै उहाँले भन्नुभयो रोजेर एउटा लैजानुस । करिब बीस बाइस किलोको त्यो खसी उधारोमा पाउँदा त्यो मेरा लागि केवल बडादशैँँको जोहो मात्र भएन, जीवनकै अमूल्य पाठ बन्यो । मान्छेको वास्तविक सम्पन्नता खल्तीमा हुँदैन रहेछ, अप्ठयारो परेका बेला अर्को मान्छेको हात समात्न सक्ने हृदयमा हुँदोरहेछ भन्ने कुरा मैले त्यही क्षण बुझेँ । त्यो उधारो खसीको पैसा त तिरियो, तर त्यो गुणको ऋण भने आजसम्म पनि तिरिएको छैन ।
आज अहिले पनि बडादशैँको बेला बजारमा बिक्रीका लागि ल्याइएका खसीबोकाहरू देख्छु । नयाँ लुगामा सजिएका, बालबालिका देख्छु । पसलहरूमा भिड देख्छु, मासु पसल अगाडिको चहलपहल देख्छु । अनि अनायासै, त्यही कोलाहलको बीचमा ३१ वर्षअघिको त्यो बडादशैँको सस्मरण हुन्छ । त्यो बेलाको बडादशैँ घरको आँगनमा होइन, अभावमा आएको थियो । हात खाली थियो, गोजी झनै खाली थियो । समाजमा इज्जत जोगाउनु पर्ने बडादशैँ अनि आर्थिक अभावले खटकी राखेको मन थियो । त्यही बेलामा टोपाराम भट्टराईले पत्याउनुभयो । न सोधपुछ, न कागज, न धितो । केवल एक वाक्य लगेर जानुस पैसा भएको बेला दिनुहोला । उहाँले दिनुभएको त्यो खसी, खसी मात्र थिएन । त्यो बर्षको मेरो बडादशैँ थियो । त्यो बेला बडादशैँमा घरमो खसी काटनु भनेको इज्जत थियो । टोलमा कसको घरमा कत्रो खसी काटियो, त्यसैले बडादशैँ कसरी मनाइयो भन्ने चर्चा हुन्थ्यो । कसैको घरमा दुईटा खसी काटिए भने टोलभरि हल्ला हुन्थ्यो । तर त्यही अभावको बीचमा पनि बडादशैँ मान्नै पर्ने एउटा बाध्यता थियो, एउटा नलेखिएको नियम थियो । त्यो बाध्यताभन्दा बढी रहर पनि थियो । किनकि बडादशैँ बाह्रै महिना आउँदैन, वर्ष दिनमा एकपटक मात्र आउँछ । गाउँ र टोलभरिका घर घरमा खसी काटेको, मासु सुकाएको, भान्सामा भुटेको मासुको बासना आएको बेला आफ्नो घरको चुलो चिसो हुनु भनेको गरिबीभन्दा पनि ठूलो लाज हुन्थ्यो ।
त्यो बेला अहिले जस्तो आकासिएको महँगी त थिएन । खसीको भाउ सुन्दा आज जस्तो मुटु हल्लिने गरी महँगो थिएन । तर जसको घरमा नगद आम्दानीको स्रोत नहुनेको लागि बडादशैँको खुसीभित्र आर्थिक पीडा लुकेको हुन्थो । बडादशैँ आउँदा धेरैको घरमा खुसी आउँछ । बजारमा चहलपहल बढछ । टाढा गएका छोराछोरी घर फर्किन्छन । बुबाआमाको अनुहारमा वर्षौंपछि आफ्ना सन्तानलाई नजिकै देख्न पाएको आनन्द देखिन्छ । टीका, जमरा, आशीर्वाद र आफन्तको जमघटले घरलाई उत्सवमय बनाउँछ । तर त्यही बडादशैँको अर्को पाटो पनि छ आफ्नो परिवारको खुसीका लागि आर्थिक बोझ बोकिरहेका धेरै घरपरिवारका पीडा । बडादशैँ आउनुअघि नै घरको हिसाब सुरु हुन्छ । खसीबोका, छोराछोरीका लागि नयाँ लुगा र घरमा चाहिने सामान जुटाउनुपर्छ । टीकाको दिन आउने आफन्तलाई सत्कार गर्नुपर्छ । अनि आफ्ना छोराछोरी र आफन्तजनलाई टीका लगाउँदा दक्षिणा पनि दिनुपर्छ । आम्दानी सीमित छ, आवश्यकता धेरै छन । महिनाभरि कमाएको पैसाले वर्षभरिका आवश्यकता नै मुस्किलले धानिरहेको अवस्थामा बडादशैँको अतिरिक्त खर्च कहाँबाट जुटाउने ? त्यसपछि सुरु हुन्छ सरसापट र ऋणको खोजी । कसैसँग पाँच हजार, कसैसँग दस हजार मागिन्छ । बडादशैँपछि दिन्छुू भन्दै ऋण लिइन्छ । कतिपयले आफ्नो दुःख लुकाएर मुस्कुराउँदै पैसा सापटी माग्छन ऋण माग्दा मनमा अप्ठयारो हुन्छ, तर घरका बालबालिकाको चम्किलो अनुहार सम्झेर त्यो अप्ठयारो पनि सहनुपर्छ ।
म आजभोलि सोच्ने गर्छु दसैंमा आफ्नै परिवारलाई मनभरि खुसी दिन नसक्दा मान्छेको मनमा कस्तो पीडा हुन्छ होला ? त्यही पीडाले होला, धेरैले ऋण लिएर भए पनि घरमा खसी भित्र्याउँछन । घरमा रमाइलो हुन्छ, पाहुना आउँछन । बाहिरबाट हेर्दा लाग्छ यो घरमा बडादशैँ निकै खुसीसाथ मनाइँदै छ । तर त्यो रमाइलो भित्रभित्रै अर्कै हिसाब चलिरहेको हुन्छ यो ऋण कसरी तिर्ने होला ? बडादशैँ सकिन्छ, पाहुना फर्किन्छन, टीकाको रातो रङ विस्तारै निधारबाट मेटिँदै जान्छ, घर फेरि सुनसान हुन्छ । तर सापटीको पैसा तिर्नुपर्ने दिन भने नजिकिँदै आउँछ । बडादशैँैंमा बाँडिएको केही दिनको खुसीपछि कतिपय परिवारले महिनौंसम्म आर्थिक तनाव बोक्नुपर्छ । सबैभन्दा दुःखद कुरा त के भने, हामीलाई ऋणतर्फ धकेल्ने भनेकै सामाजिक दबाब हो । छिमेकीको घरमा ठूलो खसी काटियो, आफ्नोमा पनि काटनै पर्ने भयो । अरुका छोराछोरीले नयाँ लुगा लगाए, आफ्नाले पनि नलगाई नहुने भयो । अरुले धेरै दक्षिणा दिए, आफूले थोरै दिन लाज हुने भयो ।
तर बडादशैँ प्रतिस्पर्धा होइन, आत्मीयताको पर्व हो । महँगो लुगा नहुँदैमा माया कम हुँदैन । ठूलो खसी नहुँदैमा परिवारको खुसी सानो हुँदैन । दक्षिणा थोरै हुँदैमा आशीर्वादको मूल्य घटदैन । आफ्नै क्षमताभित्र रहेर मनाइएको बडादशैँ पनि उत्तिकै सुन्दर हुन्छ । बडादशैँमा हामीले अरुको घरमा कति खर्च भयो भनेर होइन, आफ्नै घरले कति धान्छ भनेर सोच्नुपर्छ । ऋण लिएर केही दिनको देखावटी खुसी किन्नुभन्दा, आफ्नो सामथ्र्यभित्र रहेर लामो समयको शान्ति रोज्नु नै बुद्धिमानी हुन्छ । किनकि बडादशैँ सकिएपछि पनि जीवन चलिरहन्छ बालबालिकाको पढाइ चलिरहन्छ, घरको चुलो बलिरहनुपर्छ, औषधि किन्नुपर्छ, दैनिक खर्च चलाउनुपर्छ, अनि लिएको ऋण पनि तिर्नुपर्छ । दसैंको वास्तविक खुसी त्यतिबेला हुन्छ, जब टीकाको रातो रङसँगै मनमा ऋणको डर होइन, आत्मीयताको उज्यालो हुन्छ । घरका सदस्यले नयाँ कपडा पाउन, खसीबोका काटियोस, दक्षिणा दिइयोस यी सबै राम्रा कुरा हुन । तर त्योभन्दा ठूलो कुरा के हो भने, कुनै पनि आमाबुबाले आफ्ना छोराछोरीको खुसीका लागि ऋणको भारी बोकेर रातभरि चिन्तामा सुत्नु नपरोस । बडादशैँैंलाई खर्चको पर्वभन्दा प्रेमको पर्व बनाउन सक्यौं भने धेरै घरका बुबाआमाको अनुहारमा साँचो खुसी देखिनेछ । दसैंमा घर ठूलो हुनुपर्दैन, मन ठूलो हुनुपर्छ । थालीमा परिकार धेरै हुनुपर्दैन, परिवार एकसाथ हुनुपर्छ । दक्षिणा धेरै हुनुपर्दैन, आशीर्वाद साँचो हुनुपर्छ । खुसीका लागि ऋण लिनैपर्छ भन्ने छैन । आफ्नो सामथ्र्यभित्र मुस्कुराउन सक्नु नै सबैभन्दा ठूलो समृद्धि हो ।
आजभन्दा ३१ वर्षअघिको त्यो बडादशैँैंले मलाई जीवनको सबैभन्दा ठूलो पाठ सिकायो । जीवन सम्पन्नताले होइन, अभावका बीचमा पाएको आत्मीयताले बन्छ । महलले मान्छेलाई ठूलो बनाउँदैन, मनले बनाउँछ । समयले धेरै कुरा बिर्साइदिन्छ । मान्छेहरू छुटछन, बाटाहरू फेरिन्छन, अनुहारहरु धमिला हुन्छन तर केही सम्झनाहरू यस्ता हुन्छन जतिसुकै वर्ष बिते पनि, जतिसुकै बडादशैँ आए पनि मनले बारम्बार फर्केर हेरिरहन्छ । मेरो जीवनमा त्यो उधारो खसीको दसैं त्यही अविस्मरणीय सम्झना हो, जो आज पनि मेरो स्मृतिमा टोपाराम भट्टराईको आत्मीयताको जीवन्त कथा बनेर बाँचिरहेको छ । दसैं आउँछ, बजारमा खसीबोकाहरू देख्छु र म त्यही गुण सम्झिरहन्छु ।
(लेखक : लमजुङ जन्म थलो भई दाङलाई कर्मथलो रोज्नु भई लामो समयदेखि पत्रकारितामा सक्रीय रहनु भएका उहाँ नेपालको पर्यटनका बारेमा विशेष दखल राख्दै कलम चलाउने गर्नु हुन्छ । – सं.)

प्रकाशित मिति २०८३ आश्विन २४, शनिबार ०९:५६ गते
हजुरको प्रतिक्रिया