
काठमाडौं– नेकपा (एमाले) को स्थायी कमिटी बैठकद्वारा केन्द्रीय कमिटी विस्तार गरिएको छ । पार्टीको केन्द्रीय कमिटीमा १३ जना नयाँ सदस्य मनोनयन असोज २४ गते गरेको हो ।
सो दलको केन्द्रीय कार्यालय च्यासलमा असोज २२ गतेदेखि तीन दिनसम्म चलेको प्रथम स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गरेको हो ।
थप हुने केन्द्रीय सदस्यहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्जनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), , डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) हुनुहुन्छ ।
बैठकले आउँदो मंसिर २६ गते वडा अधिवेशन, पुस ४ गते पालिका अधिवेशन र मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने कार्यतालिका पास गरेको छ ।
यसका साथै मधेश प्रदेश सभामा रिक्त समानुपातिकतर्फ नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा संगठन कमिटी गठन गरी अनुमोदनका लागि पठाउने निर्णय समेत बैठकले गरेको छ ।
शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : अध्यक्ष ओली
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्धमा दरार आएको भन्ने हल्लामा कुनै सत्यता नरहेको प्रष्टोक्ति दिनु भएको छ । आज सम्पन्न स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले नेतृत्व तहमा कुनै पनि प्रकारको मनमुटाव नरहेको दाबी गर्नु भएको हो । बैठक कक्षबाट बाहिरिने क्रममा पत्रकारहरूले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले ती हल्लाहरूमा ‘रत्तिभर सत्यता नरहेको’ दाबी गर्दै प्रष्टोक्ति दिनु भएको हो ।
पछिल्ला केही दिनयता एमाले वृत्तमा ओली र महासचिव पोखरेलबीच असमझदारी बढेको र संवादसमेत टुटेको भन्दै विभिन्न अड्कलबाजीहरू भइरहेका थिए ।
ओलीले भन्नुभयो, ‘बिल्कुलै सत्यता छैन । उहाँले फोनसमेत उठाउनुभएन भन्ने पनि सुनियो । तर, यस्ता अनावश्यक विवादको विषय बनाउनु उचित हुँदैन । उहाँसँग मेरो कुनै मनमुटाव छैन । फोन उठाउनुभएन भन्नेलाई मात्र आधार बनाएर सम्बन्धमा समस्या छ भन्न मिल्दैन । राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्छन्, तर त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोडेर हेर्नु उचित हुँदैन ।’

प्रकाशित मिति २०८३ आश्विन २४, शनिबार १८:३९ गते