
बेसीशहर– राजनीतिक पहुँचका भरमा उन्मुक्तिको आशामा रहेका र केही हदसम्म राहत समेत पाएका लमजुङको मध्यनेपाल नगरपालिका– ६ को भोर्लेटारमा केन्द्रीय कार्यालय रहेको मादी मिदिम बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)का सञ्चालकहरूका विरुद्ध सहकारी गठीमा जिल्ला अदालतले पक्राउ पूर्जि जारी गरेको छ । त्यस साकोसका अध्यक्ष राजेन्द्र पौडेल उनको नाउँमा देखिएको बिगो वापतको रकम बुझाई थप पाँच लाख धरौटी राखेर हालै तारेखमा रिहा भएका छन् ।
यो समाचार तयार गर्दै गर्दा अध्यक्ष पौडेलसमेत सात जनाले त्यसरी धरौटी राखेको अवस्था रहेको जिल्ला अदालत लमजुङबाट बताइएको छ । जिल्ला अदालतबाट प्राप्त जानकारी अनुसार सो साकोसका अध्यक्ष पौडेलले ४२ लाख सात हजार १९ रुपैयाँ बिगो बुझाएका छन् । त्यस्तै, सञ्चालक शंकरराज घिमिरेले आफ्नो नाउँमा देखिएको ४७ लाख ७० हजार १३० रुपैयाँ विगो बुझाई थप दुई लाख ५० हजार रुपैयाँ धरौटी राखेर तारेखमा रिहा भएका छन् ।
यसैगरी, अर्का सञ्चालक प्रदीपराज घिमिरेले विगो वापतको सात लाख ९३ हजार ९०९ रुपैयाँ बुझाई नौ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । यसैगरी, विश्वराज घिमिरे ५५ लाख ३३ हजार ९७२ रुपैयाँ बिगो बुझाई १० लाख रुपैयाँ रुपैयाँ धरौटीमा रिहा भएको जिल्ला अदालतको मुद्दा शाखाको रेकर्डमा देखिएको छ ।
सो साकोसका कर्मचारी रहेकी पुनम गुरुङ, ममता भुजेल र सीतादेवी विकले तिर्नु पर्ने बिगो रकम बुझाई क्रमशः १०/१० र पाँच हजार धरौटी राखेर रिहा भएका छन् । एक उच्च स्रोतका अनुसार सञ्चालक बाहेकको हकमा सबैकोमा जिल्ला अदालतको पूर्जी पुगिसकेको छ ।
सहकारीका मुद्दाहरूमा अनेक बहानाबाजीमा सञ्चालकहरू उम्कने गरेका कारण हाउगुजीमात्र हुने गरेको तर केही सेयर सदस्यहरू भने पीडितको पीडित नै रहने गरेको स्थिति बुझिन आएको छ । यसअघि, चलाइएको सुनौलो भविष्य साकोसको मुद्दाका पनि पीडकहरूले उन्मुक्ति पाएको तर केही पीडित भने हाम्रो त पैसा नपाउने भयो नि ? तपाईले लेखिदिनु पर्यो भन्दै अहिले पनि अन्तरङ्गको कार्यालयमा धाइरहेको अवस्था छ ।

प्रकाशित मिति २०८३ आश्विन २५, आईतवार ०९:१६ गते