
काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट उपसभापतिमा अन्ततः चन्द्र भण्डारी सर्वाधिक मतका साथ विजयी हुनु भएको छ । साथमा आचार्य र चौधरी निर्वाचित हुनु भएको छ । भण्डारी र आचार्य खुलातर्फ तथा चौधरी समावेशीतर्फ विजयी हुनु भएको असोज २५ गते अवेर घोषणा भएको हो ।
कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित हुनु भएको हो । उपसभापति खुलातर्फको मतगणनामा चन्द्र भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै विजयी हुनु भएका हो । त्यस्तै, आचार्यले दुई हजार ३४२ मत प्राप्त गर्नु भएको छ ।
सो पदका अन्य प्रतिस्पर्धामा रहनु भएका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरूङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गर्नु भएको छ ।
उपसभापति समावेशीतर्फ विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गरी विजयी हुनु भयो । उहाँका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गर्नु भएको छ । फरमुल्लाह मंसुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेको स्थिति छ ।
प्रदीप पौडेललाई सर्वाधिक (पपुलर) मत :
महामन्त्रीको निर्वाचनमा खुलातर्फ प्रदीप पौडेल ४ हजार १९४ सर्वाधिक पपुलर मतसहित विजयी हुनु भएको छ । पौडेल उपसभापति र महामन्त्री निर्वाचनमा सबभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार बन्नुभएको छ ।
खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरूराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गर्नु भएको छ ।
अर्का महामन्त्री उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित भएका छन् । उहाँका निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरेका छन् । राणा र शर्माबीच जम्मा ७३ मतको अन्तर छ ।
महिला महामन्त्रीमा डिला संग्रौला विजयी :
यसैबीच, कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी हुनु भएको छ । कांग्रेसको निर्वाचनको राति भएको अन्तिम मतपरिणामअनुसार संगौलाले तीन हजार ११८ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको हो । उहाँकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना)ले दुई हजार ८६४ मत प्राप्त गर्नु भयो भने रीता खनालले ८०४ मत प्राप्त गर्नु भएको छ ।
कांग्रेसले यस महाधिवेशनबाट पदाधिकारीको संख्या विस्तार गरेको छ । संशोधित विधान अनुसार पार्टीमा एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था गरिएको छ । चार उपसभापतिमध्ये दुई खुला, एक महिला र एक समावेशी समूहबाट निर्वाचित हुने व्यवस्था छ ।
यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ । उहाँले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन् ।
यसैगरी, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।
संक्षेपमा चन्द्र भण्डारी :
नवनिर्वाचित उपसभापति चन्द्र(कान्त) भण्डारी कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघबाट राजनीति गर्नु भएका नेता १५औँ महाधिवेशनको जारी मतगणनामा भण्डारीले सुरुदेखि नै निरन्तर फराकिलो अग्रता हासिल गर्दै अघि बढ्नु भएको थियो । साढे ३ वर्षअघि बुद्धनगरस्थित भण्डारी बस्ने डेरामा लागेको आगलागीमा परी गम्भीर घाइते भएका भण्डारीलाई निको बनाउन भारसम्म पुर्याउन परेको थियो ।
आगलागीमा परेको अघिल्लो वर्ष काठमाडौँमा २०७८ साल मंसिरमा भएको कांग्रेसको १४औँ महाधिवेशनमा भण्डारी डा. शेखर कोइरालाको समूहबाट उपसभापतिमै पराजित हुनु भएको थियो । त्यसबेला उपसभापतिमा शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र डा. शेखर समूहका धनराज गुरुङले उपसभापति जित्नु भएको थियो । त्यो बेलामा खड्काले २१२१ र धनराजले १९०८ मत प्राप्त गर्दा भण्डारीले १५८० मत प्राप्त गर्नु भएको थियो ।
भण्डारी दुई पटक प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित हुनु भएका भण्डारी २०७० सालमा गुल्मी– २ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी– १ बाट निर्वाचित भएका थिए । भण्डारी २०७४ र २०८२ सालमा भने सोही क्षेत्रबाट पराजित हुनु भएको थियो ।
नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको संक्षिप्त चिनारी :
कांग्रेसको खुलातर्फको महामन्त्रीमा निर्वाचित पौडेल यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट महामन्त्रीमा चयन हुनु भएको थियो । उहाँ २०७९ मा काठमाडौँ ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । महामन्त्रीमा प्रदीप पौडेल सर्वाधिक मत चार हजार १९४ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।
पौडेल २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित हुनु भएपछि सभापति शेरबहादुर देउवाले उहाँलाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । पौडेल कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशनपछिका कार्यसमितिमा पनि केन्द्रीय सदस्य थिए ।
जेनजी आन्दोलनसम्म केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका पौडेल २०५३ सालमा अस्कल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति र २०६४ सालमा नेपाली विद्यार्थी सङ्घको अध्यक्ष बनेका थिए । ५० वर्षीय पौडेल तनहुँको हालको शुक्लगण्डकी नगरपालिकामा जन्मिनु भएको हो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भने काठमाडौँ– ५ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाका सस्मित पोखरेलसँग पराजित हुनु भएको हो ।
माध्यमिक तहको शिक्षा भने सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट गर्नु भएका पौडेलले अमृत साइन्स क्याम्पस काठमाडौँबाट उच्च शिक्षा अध्ययन तथा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।
सहमहामन्त्रीको मत गणना जारी :
यसैबीच, कांग्रेसको सहमहामन्त्रीको मत गणना जारी रहेको छ ।
महाधिवेशनले केन्द्रीय कार्यसमितिको स्वरुप बढाएर २९७ सदस्यीय बनाएको छ ।

प्रकाशित मिति २०८३ आश्विन २६, सोमबार ०७:२३ गते