
काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले २ हजार ८९ मत गणना हुँदा अग्रता कायमै छ । अजयबाबु सिवाकोटी ६९२ मतका साथ दोस्रो स्थानमा रहेको निर्वाचन समितिले असोज २६ गते अपराह्नमा जनाएको छ ।
सहमहामन्त्री (खुला) पदको मतगणनामा दुई हजार ८९ मत गणना हुँदा रामहरि खतिवडाले आफ्नो अग्रता कायमै राख्नु भएको छ । उहाँले यसअघिका गणनामा अग्रता लिन सफल हुँदै आउनु भएको थियो ।
कांग्रेसको विधान अनुसार सहमहामन्त्री पदको खुलातर्फ सबैभन्दा बढी मत ल्याउने २ जना निर्वाचित हुने प्रावधान छ ।
सहमहामन्त्री खुला दुई पदका लागि भएको निर्वाचनमा नौ उमेदवार मैदानमा छन् ।
सहमहामन्त्री खुलामा अजय सिवाकोटीको ७१८ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । डिल्लीराम सुवेदीको ५५१, देवेन्द्रराज कँडेलको ४४७, विकास कोइरालाको ३६७, अमृतकुमार अर्यालको २१५, रमेशप्रसाद धमलाको २५५ मत, राजीव ढुंगानाको ३१७ मत रहेको छ भने सबैभन्दा थोरै मत विमलराज क्षेत्रीले ८१ मत मात्रै पाएको स्थिति छ ।
आजै साँझसम्म सहमहामन्त्रीको मतगणना सक्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय सदस्यहरूको समेत मतगणना जारी राखिएको छ ।
सहमहामन्त्रीकै महिलातर्फ प्रतिमा गौतम भारी मतका साथ अग्र स्थानमा :
कांग्रेसको महिला सहमहामन्त्री पदमा प्रतिमा गौतमले भारी मतको अग्र स्थानमा हुनुहुन्छ । एक हजार ९९० मत गणना हुँदा प्रतिमा गौतमले १ हजार ४६२ मत प्राप्त गर्नु भएको छ । प्रतिस्पर्धी नानु बास्तोलाको ४२० मत पाएको स्थिति छ ।
उक्त एक पदका लागि २ जनाबिच प्रतिस्पर्धा छ ।
निर्वाचनमा ७ हजार १३ मत खसेको छ ।
खुला तर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।
केन्द्रीय सदस्यको मतगणना सुरु :
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज असोज २६ गते मतगणना कार्य सुरु भएको छ ।
असोज २६ गते दिउँसो १ः०० बजेदेखि ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा मतगणना सुरु भएको हो । सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य महिला, खुला तथा ३५ वर्षमुनिका युवा महिला र खुला पदको मतगणना पनि सुरु हुने समितिले जनाएको छ ।
आजै सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) पदको मतगणना थालिएको छ ।
यी पदमा मतगणना असोज २३ गते राति ९ बजेदेखि सुरु भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनु भयो । उहाँका अनुसार सूचनामार्फत सम्बन्धित सबै उम्मेदवारलाई मतगणना सुरु हुने समय र स्थानबारे जानकारी गराइएका छ ।

प्रकाशित मिति २०८३ आश्विन २६, सोमबार १४:५८ गते