कांग्रेस सहमहामन्त्रीमा खुलातर्फ रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा खुलातर्फ रामहरि र अजयबाबु निर्वाचित

एजेन्सी/अन्तरङ्ग

@antaranganews

२०८३ असोज २६ गते मङ्गलबार ०५:२२

निर्वाचन समितिले भोलि असोज २८ गतेसम्म सबै पदको मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणना अघि बढाएको जनाएको छ । धेरैको चासो रहेको खुलातर्फका ४५ जना केन्द्रीय सदस्यको मतगणना कार्य सुरु गर्ने तयारी छ ।

देउवा समूह छाडेर पछिल्लो समय संस्थापन पक्षमा फर्किएका नेताहरूमध्ये अहिलेसम्म दुई जना नेतामात्रै पदाधिकारीमा निर्वाचित भएको स्थिति छ ।

ललितपुर– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित हुनु भएको छ । केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
ललितपुरको सानेपा स्थित केन्द्रीय कार्यालयमा भएको मत गणनाको अन्तिम परिणाम अनुसार खतिवडाले दुई हजार ९१९ मतसहित विजयी हुनु भएको छ भने सहमहामन्त्री शिवाकोटीले दुई हजार ७२ मत ल्याएर विजयी हुनु भएको छ ।
सहमहामन्त्री (खुलातर्फ) नौ जना उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा थिए । तेस्रो हुनु भएका डिल्लीराम सुवेदी २२१ मतले पछि पर्नु भएको छ । उहाँले एक हजार ८५१ मत प्राप्त गर्नु भएको छ । यसैगरी, पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले एक हजार ३८२, राजिव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९ मत तथा अमृतकुमार अर्यालले एक हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत प्राप्त गरेको स्थिति छ ।
सहमहामन्त्रीमा कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही निर्वाचित :
यसैगरी, जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित हुनु भएको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार शाहीले तीन हजार ९०६ मत तथा जनकराज गिरीले एक हजार ३७६ मत पाउनु भएको छ । शाहीको पनि अन्तिम परिणाम केन्द्रीय निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ ।
सो सहमहामन्त्री पद (पिछडिएको क्षेत्र) अन्तर्गत कुल खसेको ६ हजार ७२९ मतमध्ये ३३ मत बदर भएको वेभसाइटमा उल्लेख छ । सहमहामन्त्रीका अन्य उम्मेदवारहरू राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गरेको बताइन्छ ।
१४औं महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवाको समूहको उम्मेदवार बन्नु भएका शाही नेता डा. शेखर कोइराला समूहका उम्मेदवार बद्रीप्रसाद पाण्डेसँग पराजित हुनु भएको थियो । गत असोज २ गते देउवा समूह छाडेर संस्थापन पक्षमा फर्किएका थिए । सहमहामन्त्री (खुलातर्फ) मा सर्वाधिक मतसहित विजयी नेता खतिवडा देउवा समूह छाडेर असोज २ गते नै मूलधारमा फर्किनु भएको थियो ।
देउवा समूह छाडेर पछिल्लो समय संस्थापन पक्षमा फर्किएका नेताहरूमध्ये अहिलेसम्म दुई जना नेतामात्रै पदाधिकारीमा निर्वाचित भएको स्थिति छ ।
कांग्रेसको २५ समूह बनाएर मतगणनामा तीव्रता :
यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा तीव्र गतिमा भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सो समितिका अनुसार बडादशैंलाई ध्यानमा राखेर मतगणना छिटो सम्पन्न गर्न आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाइएको छ ।
जनसम्पर्कतर्फ दुई महिला र पाँच खुलासहित सात जना केन्द्रीय सदस्यको मतगणना सकिएको छ । पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना पनि पूरा भएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताउनु भयो । उहाँका अनुसार हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना चलिरहेको छ ।
यसैगरी, धेरैको चासो रहेको खुलातर्फका ४५ जना केन्द्रीय सदस्यको मतगणना कार्य सुरु गर्ने तयारी छ । निर्वाचन समितिले भोलि असोज २८ गतेसम्म सबै पदको मतपरिणाम सार्वजनिक गर्ने लक्ष्यसहित गणना अघि बढाएको जनाएको छ । मतगणना स्थल सानेपामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति २०८३ आश्विन २७, मंगलवार १७:२२ गते
हजुरको प्रतिक्रिया