
कतार– लमजुङ सेवा समाज कतारले यहाँ रहनु भएका नेपाली बीच एक भेलाको आयोजना गरी बडादशैँ २०८३ उत्सवपूर्ण रुपमा मनाएको छ । सो अवसरमा शुभकामना आदानप्रदान तथा टीका ग्रहण तगायतका मनोरञ्जनात्मक कार्यक्रम समेत भव्य रूपमा सम्पन्न गरेको बताइएको छ ।
संस्थाका सदस्य प्रशान्त केसीकी आमा सुशीला देवी केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेपालबाट कतार घुम्न आउनुभएकी केसीले कार्यक्रममा उपस्थित लमजुङवासीलाई टीका र जमरा लगाई दिएर आशीर्वाद प्रदान गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सुशीला देवी केसीले परदेशमा रहेर पनि धेरै लमजुङे छोरा–छोरी, भाइ– भतिजा, भतिजीलाई टीका लगाइदिएर आशीर्वाद दिन पाउँदा आफू निकै हर्षित भएको बताउँदै आयोजकप्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो ।
कतारको अल वक्रा समुद्री तटमा अक्टोबर २३, २०२६ (६ असोज)मा आयोजित उक्त कार्यक्रममा कतारको विभिन्न स्थानमा रहेका लमजुङवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सो अवसरमा संस्थाको नयाँ संस्थागत टी–सर्ट सार्वजनिक गरिनुका साथै सामूहिक तस्बिरसमेत खिचाएर सहभागीहरू रमाएका थिए । बडादशैँ विशेष कार्यक्रमका अवसरमा लमजुङसँग सम्बन्धित लोकगीतमा नाचगान गर्दै मनोरञ्जन लिएका थिए ।
बडादशैँको अवसरमा आयोजित कार्यक्रममा सो अवसरमा बनाइने विभिन्न परिकारको व्यवस्था गरिएको थियो । व्यवस्थापन कार्यमा उपाध्यक्ष कुमारी गुरुङ, महिला संयोजक गंगा भण्डारी, बेसीशहर नगर संयोजक वासुदेव पाण्डे, सचिव देव अधिकारी, राइनास नगर संयोजक विकास थापा र सदस्य सूर्य भण्डारी तथा विनिता गुरुङहरू खट्नु भएको थियो ।
कार्यक्रमको आर्थिक व्यवस्थापनका लागि संस्थाका सल्लाहकार राजु पौडेल, अध्यक्ष कल्याण थापा, कोषाध्यक्ष पवन थापा मगर, सल्लाहकार कर्ण तामाङ, मध्यनेपाल नगरपालिका संयोजक पुरनबहादुर कुँवर तथा अग्रज शुभचिन्तकद्वय कान्छामान घले र छविन्द्र जङ्ग गुरुङलगायतले थप आर्थिक सहयोग समेत गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष कल्याण थापाले कार्यक्रमको समापन गर्दै लमजुङ सेवा समाजको नाराअनुसार दुःख–सुखमा एकअर्काको सहयोगी बन्न सबैलाई अनुरोध गर्नु भएको थियो । उहाँले संस्थाका गतिविधिमा नियमित सहभागी भई एकअर्काको सम्पर्कमा रहनसमेत सम्पूर्ण सहभागीलाई आग्रह गर्नु भएको थियो ।
संस्थाका महासचिव प्रशान्त कुमाल तथा लमजुङ सेवा समाज कतार परिवारले उक्त कार्यक्रम उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति २०८३ कार्तिक १०, सोमबार ०८:०९ गते