बेसीशहर– लमजुङ जिल्लामा पनि समाजवादी मोर्चा संगठित हुने भएको छ । मोर्चामा सहभागी दलको संयुक्त बैठकले भदौ २३ गते त्यस्तो निर्णय गरेको हो ।
मोर्चामा जिल्लाका चार दल माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी(जसपा), विप्लव नेतृत्वको नेकपा रहेका छन् । तर बैठकमा भने तीन दलको मात्र सहभागिता रहेको थियो ।
बैठक माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र पौडेलले अध्यक्षतामा बसेको थियो । सो बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज आशा कोइराला, नेकपा(एस)का जिल्ला सह–इन्चार्ज ऋषिकेश घिमिरे, सोही दलका जिल्ला संयोजक रामबाबु अधिकारी, जनता समाजवादी पार्टीका जिल्लाध्यक्ष बलबहादुर राना तथा माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार अटलका साथै नेकपा(एस)का जिल्ला सचिव जगदिश सेढाईको सहभागिता रहेको नेकपा(एस)का जिल्ला अध्यक्ष अधिकारीले बताउनु भयो ।
अधिकारीका अनुसार बैठकले दुईवटा निर्णय गरेको छ । ती हुन्– मोर्चाको केन्द्र र प्रदेशबाट जारी निर्देशनलाई कार्यान्वयन गर्ने र मोर्चाको जिल्ला संयोजन समिति गठनको घोषणा आउँदो असोज महिनाभित्र मोर्चाका केन्द्रीय नेताहरूको उपस्थितिमा गर्ने ।
प्रकाशित मिति २०८० भाद्र २५, सोमबार ०७:३७ गते