बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)द्वारा बेसीशहर नगरापालिका– ९ मा अन्तरक्रिया गरिएको छ । सो दलका प्रमुख सचेतक सन्तोष परियार तथा केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटाको उपस्थितिमा उक्त अन्तरक्रिया भदौ ३० गते गरिएको हो ।
सो अवसरमा प्रमुख वक्ता परियारले राम्रो कामको थालनी एकजनाबाटै सुरु हुने बताउँदै खुलेर रास्वपामा लाग्न अनुरोध गर्नु भयो । उहाँले सज्जन, इमान्दार व्यक्तिले राजनीति नगर्दा मुर्खहरूबाट शासित हुनुपर्ने हुन्छ भन्नुभयो । राजनीति नेतृत्वको बेइमानी र भ्रष्टाचारले देश थला परेको छ, कुनै दिन कोरियालाई खाद्यान्न सहयोग गरेको देश नेपाल आज त्यो मुलुकसँग हाम्रो तुलनै नहुने भएको छ । राम्रो काम गर्ने इच्छा शक्ति हुने हो भने गर्न सकिन्छ भन्ने उदाहरण इजरायलले प्रस्तुत गरेको उल्लेख गर्दै त्यो मरुभूमि देश आज अन्य देशबाट माटो र पानी लगेर हराभरा भएको छ नेपालको प्रकृति सम्पन्न छ, यहाँ धेरै गर्न सकिन्छ तर नेतृत्वमा इमान्दारिताको आवश्यक छ हामी इमान्दारीताका साथ काम गर्ने प्रण गरेर राजनीतिमा आएका हौं उहाँले भन्नुभयो ।
आजसम्म नेतृत्व गर्नेहरूलाई प्रश्न गर्नु पर्नेमा जोड दिदै उहाँले देश भनेको काठमाडौं, पोखरा, विराटनगर जस्ता ठूला शहरमात्र होइन लमजुङ र यसको भित्रको दुरदराजका गाउँ पनि देश हो, तिनको पनि मुहार फेर्न सक्नु पर्छ राजनीतिले उहाँले उल्लेख गर्नुभयो । उहाँले ऐलेको विकास विद्यालय भवन छन् विद्यार्थी छैनन्, स्वास्थ्यका भवन छन् कर्मचारी छैनन् किनकि, भवन बनाउदा कमिसन खान पाइने भएको हुँदा यस्तो स्थिति उत्पन्न भएको हो उहाँले भन्नुभयो । परिवर्तनको वाहक हो, रास्वपा अब यसलाई कसैले रोख्न सक्ने छैन भन्नुभयो ।
उहाँले पार्टीका दस्तावेजहरूको लेखन कार्य भइरहेको र अधिवेशनमा ती सबै आउँछन् तर पनि हामी आजसम्म भएका पार्टीभन्दा भिन्न हुनेछौं भन्नुभयो । उहाँले एमाले, माओवादी साम्यवादी भए, काँग्रेस लोकतान्त्रिक दावा गर्छ, राप्रपा बढी परम्परावादी छ त्यसैले हामी यीभन्दा भिन्न यथार्थवादी, लोकतान्त्रिक र प्रगतिशील पार्टीको रुपमा आफूलाई थापित गर्ने छौं उहाँले भन्नुभयो । त्यसैगरी, प्रदेशस्तरको प्रशिक्षण सकियो, अब जिल्ला र पालिकास्तरको प्रशिक्षणको तयारीमा छौं उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा अनुशासन आयोगका प्रमुख देवकोटाले राजनीतिमा अनुशासन, सुशासन, शिक्षा, स्वास्थ्य, सुरक्षाका साथै गरिखाने वातावरण चाहिन्छ हामी त्यसको खोजीमा छौं, सुशासन पहिलो सर्त हो भन्नुभयो । आज देश कुशासनको चंगुलमा फसिरहेको छ त्यसबाट राष्ट्रलाई मुक्त गर्नु हाम्रो दायित्व हो भन्न हामीलाई लागेको छ उहाँले भन्नुभयो । उहाँले पार्टीमा भ्रष्टहरूका लागि ठाउँ नभएको ठोकुवा गर्नु हुँदै पार्टीलाई माया गर्नेहरू पहिले आफू अनुशासित हुन आवश्यक छ भन्नुभयो ।
रास्वपाका जिल्ला संयोजक धर्म केसीले सञ्चालन गर्नु भएको अनौपचारिक उक्त कार्यक्रमको संयोजन रास्वपाका सोही वडाका सभापति भगवत सिंह अर्यालले संयोजन गर्नु भएको हो ।
प्रकाशित मिति २०८० आश्विन १, सोमबार १०:२९ गते