पाउँदी(लमजुङ)– लमजुङको प्रवेश नाका रहेको सुन्दरबजार नगरपालिका– ७ पाउँदी बजारमा विशेष सरसफाई कार्य गरिएको छ । बडादशैं घरघरमा भित्रदै गरेको सन्दर्भमा सोही पर्व लक्षित सरसफाई कार्य असोज २७ गते बिहान गरिएको हो ।
स्थानीय दोभान एकता क्लबद्वारा सो कार्य गरिएको हो । क्बलद्वारा नियमित सरसफाई त गर्ने गरिएको थियो नै यतिबेला भने नेपालीहरूको महान चाड बडादशैं तथा तिहारलाई लक्षित गरी विशेष सरसफाई कार्य गरिएको आयोजक दोभान एकता क्लबका अध्यक्ष शुक्रबहादुर अधिकारीले बताउनु भयो ।
यसैगरी, सोही अवसरमा नेपाल प्रहरीद्वारा मन्दिर परिसरमा ‘आशा बढाऔं, आत्मा हत्या रोकौं’ विषयमा सचेतनामूलक अन्तरक्रिया गरिएको थियो । स्थानीय प्रहरी चौकीका प्रमुख प्रेमलाल चौधरी तथा हबल्दारहरूले समुदाय– प्रहरी साझेदारी अन्तरगतको अन्तरक्रियामा प्रकाश पार्नु भएको थियो । उक्त नारा एवम् अभियान बमोजिम प्रहरीद्वारा अनुरोध गरिएको स्रष्टा लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार सो अवसरमा दोभान एकता क्लबका अध्यक्ष शुक्रबहादुर अधिकारीको नेतृत्वमा स्थानीय अस्थाई प्रहरी प्रमुख प्रेमलाल चौधरी, प्रहरी जवानहरू, कर्मदा सिर्जना मञ्चका उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र, चन्द्रप्रसाद पोखरेल, अशोककुमार श्रेष्ठ, दिल्लीमान श्रेष्ठ, सुर्य मिश्र, प्रेमबहादुर डुम्राकोटी, शिवकुमार पोखरेल लागयतका बजारबासी तथा छिमेकीहरूको उल्लेख्य सहभागिता थियो । सो अवसरमा बजार, स्कुल, मरणघाट हुँदै पुल शिव मन्दिरसम्म सरसफाई, खाल्टा पुर्ने प्लास्टिक लगायतका फोहर सफा गर्ने काम भएको छ । साथै, मध्यपहाडी हर्राबोट र पाउँदी जोड्ने पक्की पुलको माटो पखाल्ने काम समेत गरिएको मिश्रको भनाइ छ ।
फोटो सौजन्य : लक्ष्मीप्रसाद मिश्र ।
प्रकाशित मिति २०८० आश्विन २८, आईतवार ०५:५३ गते