कालिका साकोसको ठगी धन्दामा अनुसन्धानका लागि तेस्रो पटक सात दिनको म्याद थप

कालिका साकोसको ठगी धन्दामा अनुसन्धानका लागि तेस्रो पटक सात दिनको म्याद थप

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २२ गते शुक्रबार ०७:०४

फरार घिमिरे दम्पत्ती हल्ला गरिए जस्तै अपराधी भएको किन पनि मान्न तथा हाल प्रहरी खोरमा रहेकाहरू पुरै निर्दोष भएको ठान्न किन पनि सकिदैन भने घिमिरे दम्पत्ती खराब हुन्, थिए भने त्यस्तासँग मिलेर सहकारीहरूको एकीकरण किन गर्नु परेको हो ? अपराधपूर्ण कार्य गर्नेसँग मिलेमतो गर्नेहरू कसरी निरपराध हुन सक्छन् ? भन्ने प्रश्न उठेको छ ।

संगठीत अपराधमा दर्ज हुन सक्ने सम्भावना बढ्दै

बेसीशहर– लमजुङ जिल्ला सदरमुकाममा केन्द्रीय कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)का सञ्चालकहरू विरुद्धको ठगी धन्दाको मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिहरूको अनुसन्धानका लागि पुनः सात दिनको म्याद थप भएको छ । कालिका सकोसमा ठगी धन्दा चलाएको अभियोगमा पक्राउ परेका सो सहकारीका अध्यक्ष शिवराम सिलवालसहित छ जना सञ्चालकको अनुसन्धानका लागि जिल्ला अदालतबाट तेस्रोपटक मंसिर २२ गते म्याद थप भएको हो ।
पक्राउ पर्नेहरूमा उक्त सहकारीको सञ्चालक समितिका अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछने, सचिव कृष्ण केसी, कोषाध्यक्ष मिलन शर्मा दनाई लगायत सात जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले मंसिर १० गते पक्राउ गरेका उनीहरूको पहिलो पटक पाँच दिनको म्याद पाएको थियो । सोही अभियोग लागेका तत्कालीन कालिका साकोसका अध्यक्ष मृगेन्द्र घिमिरे र निजकी पत्नी वितिना घिमिरे जो एकीकरण पछि बनेको साकोसको लेखा सुपरीक्षण समितिको संयोजक छिन्– दुवै फरार रहेको प्रहरी भनाइ छ । उनीहरूलाई २५ दिनसम्म पर्खने प्रहरीको मानसिकता देखिएको छ । यस्ता मुद्दामा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिहरूलाई २५ दिन हिरासतमा राख्न पाउने कानुनी व्यवस्था छ ।
सहकारीको नामको यो ठगी संगठीत रुपको भएको हुँदा प्रहरीले अनुसन्धान गर्न बाँकी रहेमा २५ दिनभन्दा पनि बढीको म्याद पाउन सक्ने देखिन्छ । नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएकाहरूको घट्नाको अनुसन्धानका लागि प्रहरीले ८४ दिन लागएको थियो । कतै यो काण्डमा पनि त्यस्तै हुने त हैन ? शंकाको सुविधा बढेको बताइन्छ । संगठीत अपराधमा उक्त सहकारीमा हुनसक्ने कसुरको अवस्था विगतदेखि आजका मितिसम्म धेरै व्यक्ति संलग्न रहेको र कसुरको विगोको रकम समेत ठूलो भएको र पीडितहरू पनि धेरै भएको हुँदा यसलाई संगठीत अपराधका रुपमा समेत लिन सकिने कानुन व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार संगठित अवराधमा अनुसन्धानका लागि प्रहरीले अभियुक्तहरूलाई ९० दिनसम्म हिरासतमा राख्न पाउने कानुनी व्यवस्था छ ।
राजनीतिक हस्तक्षेप जारी :
उक्त सहकारी ठगी प्रकरणमा पीडकहरूको बचाउका लागि दह्रो राजनीतिक संरक्षण चलिआएको विदितै छ । त्यो क्रम अझै जारी रहेको बुझिन आएको छ । जिल्ला न्यायाधीवक्ताले आजका दिनदेखि झण्डै एक महिना लामो विदा (आउँदो पुस १९ गतेसम्म) बस्नु भनेको राजनीतिक दाउपेचबाट बच्नका लागि उहाँले खेलेको नयाँ रणनीतिका रुपमा पीडितहरूले लिएका छन् ।
फरारको हाउगुजी देखाउँदै पानीमाथिको ओभानो बन्ने दाऊ :
मुलतः कालिका साकोसका तत्कालीन अध्यक्ष मृगेन्द्र घिमिरे दम्पत्ती फरार हुनुमा उनीहरू नै दोषी भएकोले भोगेका हुन् भन्दै दोषी करार गर्ने प्रयास अन्य पीडितक तथा राजनीतिक रुपमा पनि भएको पाइन्छ । तर फरार घिमिरे दम्पत्ती हल्ला गरिए जस्तै अपराधी भएको किन पनि मान्न तथा हाल प्रहरी खोरमा रहेकाहरू पुरै निर्दोष भएको ठान्न किन पनि सकिदैन भने घिमिरे दम्पत्ती खराब हुन्, थिए भने त्यस्तासँग मिलेर सहकारीहरूको एकीकरण किन गर्नु परेको हो ? अपराधपूर्ण कार्य गर्नेसँग मिलेमतो गर्नेहरू कसरी निरपराध हुन सक्छन् ? भन्ने प्रश्न उठेको छ । अन्य केही भएन भने मतियार तथा नैतिक जिम्मेवारका रुपमा समेत टाउकेहरूलाई सबैलाई सजाय हुनुपर्छ भन्ने पनि पीडितहरूले थप आवाज उठाउन थालेका छन् ।

प्रकाशित मिति २०८० मंसिर २२, शुक्रबार १९:०४ गते
हजुरको प्रतिक्रिया