बेसीशहर । लमजुङको पहिचान र गौरवको रुपमा रहेको ठाडोभाका आठौं महोत्सवको मञ्चबाट र चैते दशैंको पावन अवसरमा लमजुङ दरबार अर्थात कालिका मन्दिर गाउँशहरमा भोलि चैत ४ गते घन्किने भएको छ । ठाडोभाका भोलि चैते दशैंको दिन बैशाख ४ गते दिउँसो आठौं महोत्सवको मञ्चबाट र साँझ लमजुङ कालिका मन्दिर परिसरमा गाइने भएको हो ।
ती दुबै कार्यक्रममा ठाडोभाकाका स्थापित गायिका एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका उपाध्यक्ष सीतादेवी दुरा र ठाडोभाकाका उदीयमान गायक नवीन बरालको जोडदार प्रस्तुति रहने छ । साथमा यो वर्षको प्रतियोगितामा पहिलो हुनुभएका ले. आशबहादुर दुरा र प्रतिष्ठानका सहकोषाध्यक्ष भुन्टीमाया तामाङ, अमरध्वज गुरुङ र बुद्धिमाया गुरुङ, प्रतिष्ठानका कार्यकारी सदस्य मीना गुरुङ लगायतको प्रस्तुति रहने भएको प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बाध्यवादनमा प्रतिष्ठानका आजीवन सदस्य देवराज गुरुङ एवम् वरिष्ठ आजीवन सदस्य मीनबहादुर गुरुङ सहितको सहभागिता रहने भएको प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताउनु भएको छ ।
प्रकाशित मिति २०८१ बैशाख ३, सोमबार ०९:०४ गते