काठमाडौं– आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ । राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो पुस्तकको बैशाख २१ गते विमोचन गर्नु भएको हो ।
विमोचन कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायत सहभागी हुनुहुन्थ्यो । उक्त पुस्तकले पत्रकारिता विषयमा ऐलेसम्म देखिएको खाँचो पूर्ति हुने विश्वास गरिएको छ ।
शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको ‘आमसञ्चारको परिचय’ नामक सो पुस्तक भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यो पुस्तक त्रिभूवन विश्वविद्यालयको स्नातक तह (बीए) तेस्रो वर्षको ऐच्छिक (इलेक्टिभ, जेएमसी– ४१०) पत्रकारिता अन्तरर्गतको पाठ्यक्रममा आधारित रहेको लेखक द्वयको भनाइ छ ।
पूर्णाङ्क १०० को यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषय हो । यो पुस्तक पत्रकारिताको आधारभूत ज्ञानका लागि उपयोगी भएको लेखकरूयले बताउनु भएको छ । यो पुस्तकमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दाहरू र पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिका लगायतका बारेमा प्रकाश पारिएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत रही पत्रकारितामा सक्रिय लेखक बिडारी त्रिवि अन्तर्गतको रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता तथा आमसञ्चार विषयको प्राध्यापन कार्यमा सक्रिय हुनुहुन्छ । पत्रकारितामा सक्रिय बिडारी त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागबाट एमफिल– पीएचडी पनि गर्दै हुनुहुन्छ ।
त्यसैगरी उकेरा डटकममा कार्यरत लेखक खड्का अर्किड इन्टरनेश्नल कलेजमा प्राध्यापनरत हुनुका साथै विशेषगरी स्वास्थ्य क्षेत्रलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्नु हुन्छ । खड्काले काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टस् अन्तर्गत भाषा तथा आम सञ्चार विभागमा सञ्चारसम्बन्धी विषयमा विद्यावारिधी (पीएचडी) गर्नु भएको छ । उहाँ पनि नेपाल पत्रकार महासंघका सदस्य रहनु भएको छ ।
प्राक्कथन :
‘आमसञ्चारको परिचय’ (Introduction to Mass Communication) नामको प्रस्तुत पुस्तक मानविकी तथा सामाजिक शास्त्र संकाय, ४ वर्षे बिएतह अन्तर्गत तेस्रो वर्षको इलेक्टिभ जर्नालिजम, (JMC 410 -Introduction to Mass Communication) पाठ्यक्रममा आधारित पुस्तकहो । पूर्णाङ्क १०० को यो विषय सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत अङ्कभार भएको विषयहो । यसलाई पत्रकारिताको आधारभूत ज्ञानका लागि अत्यन्तै उपयोगी ठानिएको छ ।
पत्रकारिता तथा आमसञ्चार विभाग अन्तर्गतकै ऐच्छिक पत्रकारिता विषय लिएका बाहेकका जुनसुकै विद्यार्थीहरूले पढ्न पाउने यो विषयमा पत्रकारिता र आमसञ्चारका साधारण, प्रारम्भिक र आधारभूतका साथै सञ्चारका विशेष मुद्दाहरू, पत्रकार आचारसंहिता तथा प्रेस काउन्सिलको भूमिकाका समेत प्रकाश पारिएको छ ।
विश्वविद्यालयमा यही विषय समेत अध्यापनरत हुनुका नाताले विद्यार्थीहरूले सबै पाठ्यक्रमका भागहरू एकमुष्ट समेटिएको पुस्तकको अभाव महसुस गर्दै पुस्तक तयार गर्न पटक–पटक गरेको आग्रह पछि यो पुस्तक तयार भएको हो । पहिलो प्रयास भएकाले यसमा केही त्रुटिहरू अवश्य हुन सक्छन् । त्यसलाई अर्को संस्करणमा सुधार गर्ने प्रतिबद्धता जनाउँछौं ।
चार वर्षे स्नातकतह अन्तर्गतको नयाँ पाठ्यक्रम लागू भएको पनि यही विषयवस्तु र पाठ्यक्रममा आधारित पुस्तक बजारमा अहिलेसम्म देखिएको छैन । त्यसैले उक्त अभाव परिपूर्तिका लागि समेत यस पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
यसमा सैद्धान्तिक पक्षका सबै विषय पाठ्यक्रम अनुसार समेटिएको छ भने विद्यार्थीहरूलाई जटिल भाषागत समस्याले विषयवस्तु सिकाईमा असजिलो नहोस् भन्ने अभिप्रायले समेत सरल, सहज र छोटो रूपमा बुझ्न सजिलो हुने गरी पाठ्य वस्तुलाई समायोजन गरी तयार पारिएको छ ।
पुस्तक लेखन कार्य आफैंमा कठिन र चुनौतीपूर्ण कार्य हो । त्यसमा अभिव्यक्त गरेका विषयमा धेरै भन्दा धेरैले सञ्चार प्राप्तगर्न र ग्रहण गर्न सक्छन् कि सक्दैनन् भन्ने महत्वपूर्ण हो । अभिव्यक्त गरेका विषय विना अवरोध सरल रेखाबाट बुझाउन सक्नु नै त्यसको सफलता मानिन्छ । त्यसैले विद्यार्थीहरूको मनोभावनालाई बुझेर यसमा सम्पूर्ण विषयवस्तुलाई सरल, सहज र सरस भाषाशैलीको प्रयोग गर्ने प्रयास गरिएको छ ।
पुस्तक लेखनका क्रममा कतिपय विषयवस्तुहरू सम्बन्धित क्षेत्रका विज्ञहरूका विभिन्न लेख, पुस्तक र कुराकानीबाट पनि सान्दर्भिक कुरालाई ग्रह्ण गरिएको छ । यस अघिका प्रश्नपत्र, प्रयोगात्मक कार्यका नमुना चिट्ठीपत्र र नमुना जर्नल पनि राखिएको छ ।
त्यसैले यो पुस्तकले तत् विषय अध्ययनरत विद्यार्थीहरूका लागि भरपर्दो साथी–सहयोगीका रूपमा भूमिका निर्वाह गर्नेछ भन्ने आशा गरिएको छ । अन्त्यमा यस पुस्तक लेखनका लागि अहोरात्र हौसला दिएर घचघच्याइ रहनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु । पुस्तक लेखनमा उपयुक्त वातावरण बनाइदिएर सहयोग पु¥याउनु हुने जीवनसाथी संगीता अधिकारी बिडारीप्रति हार्दिक आभार प्रकट गर्दछु । पुस्तक सहलेखनमा मद्दत गर्नुहुने प्रियभाइ, पत्रकार उपेन्द्र खड्काप्रति पनि धन्यवाद ज्ञापन गर्दछु । प्रकाशन एवं वितरणको गहन जिम्मेवारी वहनगर्नुहुने र कम्प्युटर लेआउट सेटिङ तथाभाषा सम्पादनमा सहयोग पुर्याउनु हुने भुँडीपुर ाण प्रकाशनका प्रमुख केशब पराजुलीलगायत अन्य सबै महानुभावहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
— लेखक ।
पुस्तकका बारेमा :
त्रिभुवन विश्वविद्यालयले पछिल्लो समय बढ्दै गएको पत्रकारिता तथा आमसञ्चार शिक्षाको महत्वलाई हृदयङगम गरी ४ वर्षे स्नातक तहको तेस्रो वर्षमा इलेक्टिभ जर्नालिजम, JMC 410 – Introduction to Mass Communication अर्थात ‘आमसञ्चारको परिचय’ विषय राखेको छ । अनिवार्य पत्रकारिता विषय लिएर पढ्ने बाहेकका सबै विषयका विद्यार्थीहरूले यो विषय पढ्न पाउने छन् । पत्रकारिता शिक्षाको आधारभूत र प्रारम्भिक ज्ञानको सैद्धान्तिक र व्यवहारिक दुवै पक्षलाई दृष्टिगत गरी निर्माण गरेको यस पाठ्यक्रममा आधारित भई कुनै पुस्तक अहिलेसम्म बजारमा नआएको सन्दर्भमा प्रस्तुत पुस्तक प्रकाशन हुनु अत्यन्तै खुसीको कुरा हो ।
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उत्पादनका रूपमा पत्रकारिता क्षेत्र र पत्रकारिता विषयको प्राध्यापनमा समेत क्रियाशील युवा पत्रकारद्वय शन्तराम बिडारी र उपेन्द्र खड्काले यस पुस्तक लेखेकोमा ज्यादै खुसी लागेको छ । बजारमा पत्रकारिता शिक्षाको विश्वविद्यालय तहको पाठ्यक्रमलाई भरपुर समेट्ने गरी स्तरीय पुस्तकहरूको अभाव भैरहेको सन्दर्भमा यो जमर्को गरिनुले यस खालको अभावलाई परिपूर्ति गर्नेछ भन्ने मलाई लागेको छ । यो पुस्तक पत्रकारिता क्षेत्रमा सामिप्यता, आत्मियता, तादम्यता राखी यसबारेमा जानकारी लिनखोज्ने जो कोहीका लागि समेत उपयोगी ग्रन्थ बनेको छ ।
लोकतान्त्रिकरणको द्वार नै पत्रकारिता क्षेत्र हो भन्ने कुरामा दुईमत छैन । राज्यको चौंथो अंगको मान्यता पाएको सञ्चार क्षेत्र बलियो हुन सके मात्र अभिव्यक्ति स्वतन्त्रताको आवाज बलियो हुन्छ । अभिव्यक्ति स्वतन्त्रता बलियो भएमात्र लोकतन्त्र फस्टाउनुका साथै दिगो र लोकल्याणकारी बन्न सक्छ ।
मूलत आमसञ्चारको व्यापकदायरा भित्रको एउटा आयामका रूपमा पत्रकारितालाई लिने गरिन्छ । यसले सार्वजनिकजन चाहना, जनचासो र प्रत्यक्ष घटनाहरूसंग जोडिएर आवाज विहिनको आवाज बन्न सक्नुपर्छ र, यो क्षेत्र तथ्यगत, वस्तुनिष्ठ, सत्य, निष्पक्ष, उत्तरदायित्वपूर्ण र जनमुखी हुनुपर्छ ।
प्रस्तुत पुस्तकमा पत्रकारिता र आसञ्चारका साधारण र प्रारम्भिक जानकारीका साथै सञ्चारका विशेष मुद्दाहरू सहित पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको भूमिकाबारे चर्चा गरिएको छ । तसर्थ पत्रकारिता शिक्षाबारे ज्ञान राख्न खोज्ने अन्य जिज्ञासुलाई समेत यस पुस्तक उपयोगीहुने मैले ठानेको छु ।
हाम्रो शिक्षा प्रणालीमा वैज्ञानिक, अनुसन्धानमूलक साथै रोजगारमूलक बनाउनु पर्छ भन्ने सवाल नेपालमा वर्षौदेखि उठ्दै आएको भएपनि त्यसलाई अझै व्यावहारिक रूप दिन आवश्यक छ । तर तुलनात्मक रूपमा पत्रकारिता शिक्षा भने रोजगारमूलक देखिएको छ । पत्रकारिता र आमसञ्चारको वृहत्तर आयाम भित्र छापा, रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिता मात्र होइन, विज्ञापन बजार, चलचित्र क्षेत्र, सञ्चार अनुसन्धानका दायराहरू समेत समेटिएका छन् । खासगरी हाम्रा पाठ्यक्रममा सैद्धान्तिक साथै प्रयोगात्मक पक्षलाई पनि जोड दिइएको पाइन्छ । तर पनि पत्रकारिताका शिक्षकहरूले अध्यापनका क्रममा बदलिँदो परिवेश र सूचनाप्रविधिको भरपुर प्रयोग गर्दै समाचार कक्ष र अध्ययनकक्षलाई नजिक तुल्याउन यो पुस्तक उपयोगी हुनेछ ।
लेखकद्वयको पत्रकारिता क्षेत्रमालामो समय काम गरेका पृष्ठभूमि भएकाले यस क्षेत्रको व्यावहारिक अनुभवकाकारण समेत प्रस्तुत पुस्तक अन्यभन्दा विशेष बनेको मैले महसुस गरेको छु । अन्त्यमा लेखकद्वयको आगामी लेखन यात्राथप परिपक्व र परिस्कृत हुँदै जानेमा आशागर्दै उहाँहरूको प्राज्ञिक उन्नयनको समेत कामना गर्दछु ।
– प्रा. प्रवलराज पोख्रेल
पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग,
त्रिभुवन विश्वविद्यालय
प्रकाशित मिति २०८१ बैशाख २२, शनिबार ०५:१९ गते