काठमाडौं– नेपाल पत्रकार महासंघमा कहिँ नभएको जात्रा देखिन थालेको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएबाट असोज ४ गते त्यस्तो पुष्टि भएको हो । विष्टले उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई बोधार्थ दिँदै राजीनामा पत्र आज महासंघको केन्द्रीय कार्यालयमा पठाउनु भएको जानकारीमा आएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सम्पन्न भएको ६ महिनासम्म पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन सकेको छैन । सदस्यता शुद्धिकरणको रटान लगाउँदै आएको महासंघमा फेरि संघ कब्जा गर्ने होडमा सदस्यता वितरणको किचलो झिकिएको छ । वर्षदिनमा पत्रकारका नाउँमा कतै पनि झु्क्किएर एक दिन पनि नदेखिने एउटै समाचार नलेख्ने व्यक्तिहरूले पनि महासंघको सदस्यको पगरी गुथी रहेको देख्न पाइन्छ । जसमा लमजुङ पनि अपवाद हुन सकेको छैन ।
महासंघका निर्वाचित अध्यक्ष विपुल पोख्रेलले यसअघिका पदबाट राजीनामा दिएपछि विष्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीमा हुनुहुन्ग्यो । कार्यवाहक अध्यक्ष विष्टले महासंघको चुनाव हुने गरी असोज १२ गतेका लागि तोक्नु भएको थियो ।
यसअघि असोज ४ गते अर्थात आजका दिनका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका थियो । तर उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम स्थगित गरिएको थियो ।
कावा अध्यक्ष विष्टको राजीनामा पत्रमा भनिएको छ, ‘सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेको पृष्ठभूमिमा मैले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ, महासंघको विधानको पालना हुन नसक्दा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको अधिकार र लोकतन्त्रको पहरेदार रुपमा झण्डै ७० वर्षदेखि खडा मुलुकुको अग्रणी संस्थाको यो अवस्था सृजना भएको हो भन्ने प्रष्ट छ । पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भातृ संस्थाहरूले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपूर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको सबैका सामु छर्लङ्ग छ ।’
राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासँग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रुपमा थप्न बाध्य पारेको उल्लेख गर्दै राजीनामा पत्रमा ‘विधानअनुसार महासंघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यहि असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो, क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पु¥याउने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो । संगठनहरूको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर भुल भएको स्वीकार गर्नु पर्दछ ।’ भन्ने उल्लेख छ ।
पत्रकार महासंघलाई विगतदेखि निरन्तर प्रहार गरेर कमजोर बनाई आफ्नो स्वार्थ पूरा गर्न पल्केका तत्वहरूले पनि महासंघको निर्वाचनलाई अनिश्चित बनाउँन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य रहेको उहाँको भनाइ छ ।
‘सहजै निर्वाचन हुने परिस्थितिमा पनि निर्वाचन भाँड्न दिएको दवाव र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन् । पछिल्लो पटक विकसित भएको मुलुकको राजनीतिक सत्तासमिकरणको शिकार समेत पत्रकार महासंघ बन्न पुग्यो । दलगत रुपमा अघि सारिएका प्रस्तावित उम्मेदवारको जित–हारलाई दलहरूले आफ्नो प्रतिष्ठाको विषय बनाउनुले थप जटिलता उत्पन्न गराएको छ ।’ विष्टले बताउनु भयो ।
सानाठूला जस्ता विषयमा पनि महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश र जिल्ला शाखाहरूमा तालाबन्दी गर्ने प्रवृति फेशनकै रुपमा अघि बढ्यो। अब इतिहासकै कठिन मोडमा पुगेको पत्रकार महासंघको गिरेको साख फिर्ता ल्याउन लामो समय र परिश्रम लाग्ने निश्चत छ,’ उहाँको धारणा छ ।
उहाँले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा संलग्न नभए पनि २०८१ असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासंघबाट भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको सो विज्ञप्तिमा जनाउनु भएको छ ।
उम्मेदवारी दर्ता स्थगित :
नेपाल पत्रकार महासंघको महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको आज हुने भनिएको मनोनयन दर्ताको कार्यक्रम अनिश्चित कालका लागि स्थगित भएको छ । पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले सूचना निकालेर मनोनयन दर्ता कार्यक्रम अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको हो ।
निर्वाचन समिति संयोजकमा प्रा. चिरञ्जीवी खनाल र सदस्यहरूमा देवेन्द्र झा, कपिलचन्द्र पोखरेल, शालिकराम सापकोटा, विष्णुमाया भुसाल, अरूण पौड्याल र सदस्य सचिव भक्तिराम घिमिरे हुनुहुन्छ ।
सदस्यता विवादकै बीच असोज १२ मा महाधिवेशन गर्न सूचना जारी भएपछि ५० भन्दा बढी जिल्ला शाखा अध्यक्षहरूले सामूहिक विज्ञप्तिमार्फत त्यसको विरोध गरेका थिए ।
महासंघमा सदस्यतासम्बन्धी विवादका कारण लामो समयदेखि महासंघ चुनावको मिति तोक्दै स्थगित हुँदै आइएको छ । यही असोज १२ गते तोकिएको महासंघको महाधिवेशनका लागि आज असोज ४ गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको थियो ।
योसँगै अरुका कमीकमजोरी खोतल्दै समाचार लेख्ने जमातको साझा संस्था भनिने महासंघको जात्राका बारेमा के कसरी समाचार लेखिने हो त्यो भने हेर्न बाँकी छ ।
प्रकाशित मिति २०८१ आश्विन ४, शुक्रबार १८:३० गते