सुन्दरबजार(लमजुङ)– आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङको आयोजनामा सुन्दरबजारमा पालिकास्तरीय भेला सम्पन्न भएको छ । आदिवासी जनजाति घटकहरूको पालिकास्तरीय भेलाले नेपाल आदिवासी जनजाति महासंघ सुन्दरबजारको पालिकास्तरीय समिति असोज १६ गते गठन भएको हो ।
सुन्दरबजार नगरपालिकाको पालिकास्तरीय भेलाले अध्यक्षमा राम तामाङ सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्ष द्वयमा सुबेदार चन्द्रबहादुर दुरा र क्याप्टेन खेमबहादुर भुजेल, सचिवमा सुरेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा चञ्चलप्रसाद गुरुङ, सहसचिव द्वयमा नारायण कुमाल र बिक्रम थापा मगर चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा शान्ति श्रेष्ठ, चनु कुमारी गुरुङ, दिपक दुरा र गंगा तामाङ चयन हुनुभएको छ ।
आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले भेलाको उद्घाटन गर्नुभएको थियो ।
उहाँका अनुसार जिल्लाका आठ वटै पालिकामा पालिकास्तरीय समिति गठन गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो । यसअघि बेसीशहर नगरस्तरीय भेला गरी समिति गठन भइसकेको छ ।
सुन्दरबजार पालिकास्तरीय समितिमा गुरुङ, तामाङ, दुरा, नेवार, मगर, भुजेल र कुमाल गरी सात वटा जनजाति घटकहरू रहेको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका जिल्ला सचिव खेम गुरुङले बताउनुभयो । उहाँका अनुसार हरेक घटकहरुबाट नेतृत्व आलोपालो हुने र बाहुल्यताका आधारमा ४ जना सदस्यहरू मनोनयन गरिएको छ ।
परिषदको विधान अनुसार गठन गरिएको पालिकास्तरीय समितिको पदावधि तीन वर्षको रहेको छ ।
सुन्दरबजार नगरपालिकाको सभाहलमा मंगलबार भएको पालिकास्तरीय भेलामा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङ सदस्य एवम् माझी उत्थान समाजका जिल्ला अध्यक्ष रामचन्द्र माझीले स्वागत गर्नुभएको थियो । भेलामा गुरुङ समुदायबाट तुलाराम गुरुङ, मगर समुदायबाट बिक्रम मगर, दुरा समाजका सुबेदार चन्द्रबहादुर दुरा, तामाङ समुदायका राम तामाङ, नेवार समुदायका आनन्दलाल श्रेष्ठ, भुजेल समुदायका सुबेदार नत्थु भुजेल र कुमाल समुदायबाट नारायणबहादुर कुमालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
– कृष्ण आलेबाट ।
प्रकाशित मिति २०८१ आश्विन १६, बुधबार १२:४४ गते