दुराडाँडा(लमजुङ)– लमजुङको ऐतिहासिक थलो यहाँ शिक्षकहरूका लागि पेशागत विकासका लागि दुई दिने शिक्षण तालिम– २०८१ को समापन गरिएको छ । विकासमा महिला नामक संस्थाको आयोजना तथा सर्वोदय माविको संयोजनमा सोही माविमा सञ्चालित सो तालिमको माघ ४ गते समापन गरिएको हो ।
समापन कार्यक्रम सुन्दरबजार नगरपालिका– ३ का वडाध्यक्ष अमृत न्यौपानेको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष न्यौपानेले सहभागी सम्पूर्णलाई विकासमा महिला संस्थाका तर्फबाट प्रमाणपत्र वितरण गर्नु भएको थियो । उहाँले सर्वोदय माविका लागि सदैव सहकार्य गरेर अगाडि बढ्न सक्ने र आगामी दिनहरूमा पनि विद्यालयको शैक्षिक गुणस्तरका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा सम्पूर्ण वक्ताहरूको निचोडमा सर्वोदय माविबाट नै हामी हाल यो अवस्थामा रहन सकेको व्यक्त गर्नुभएको थियो ।
समापनका क्रममा तालिममा सहभागी शिक्षक शिक्षिकाहरूले आफ्नो अनुभव आदानप्रदान गर्नुभएको थियो । प्रशिक्षक शरणकुमार अर्याल, विकासमा महिला संस्थाका अध्यक्ष सबला अधिकारी आत्रेयले अनुभव एवम् आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीले आगामी दिनहरूमा पनि सर्वोदय माविको सिंगो टिम शिक्षकको पेशागत विकास तालिममा पुन जोडिन पाउने अपेक्षा र यस्ता किसिमका तालिम आगामी दिनहरूमा पनि विद्यालयको पहलमा समेत गर्न सकिनेमा एकजुट भएर लाग्नुपर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो । विकासमा महिला नामक संस्थासँग संस्थाको सहकार्यमा विद्यालयले दुई दिने शिक्षक पेशागत विकास तालिम तालिमको संयोजनको भूमिका निर्वाह गर्न पाउनु विद्यालयको अवसर भएको स्मरण गराउनुभएको थियो । शिक्षकको पेशागत विकासका लागि थप कदम चाल्न आवश्यक रहेको जानकारी समेत उहाँले गराउनु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले सर्वोदय माध्यमिक विद्यालयका तर्फबाट प्रशिक्षक तथा आयोजक संस्थाका लागि मायाको चिनो प्रदान गरेर कार्यक्रमका लागि आगामी दिनहरूमा समेत सहयोग र सहकार्यको लागि हातेमालो गर्नुपर्ने आवश्यकता औंल्यानु भएको थियो ।
सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, शिक्षक अभिभावक संघका पूर्व अध्यक्षहरू, समितिका वर्तमान र पूर्वसदस्यहरू विभिन्न विद्यालयका प्रअ एवम् शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
विकासमा महिला संस्थाका शिक्षण पेशागत विकास तालिम २०८१ सञ्चालनका क्रममा अध्ययन फाउन्डेसनका डाइरेक्टर शरणकुमार अर्यालले प्रशिक्षणको लक्ष्य र विधि शिक्षण पेशाप्रति प्रकाश पार्नुभएको थियो । पाँच चरणमा अर्थात् पाँचवटा कक्षामा विभाजित गरी तालिम सञ्चालन गरिएको थियो । ‘हामी महान शिक्षक हौँ । शिक्षकको नेतृत्व क्षमता महत्वपूर्ण छ, परिवर्तन सम्भव छ, सकारात्मक सोच लिनुपर्छ, द्वन्द व्यवस्थापन समयमै गर्नुपर्छ’ भन्ने जस्ता गहन विषयमा तालिम सञ्चालन भएको थियो ।
तालिम सञ्चालनका क्रममा सकारात्मक सोच समस्या पहिचान समस्याको समाधान सूचना प्रवाह सकारात्मक सोचाई दण्ड समाधान जस्ता विविध विषय र पक्षका बारेमा छलफल एवम् अन्तरक्रिया सम्पन्न भएको थियो । सो प्रसङ्गमा किशोर अवस्था समस्या चुनौती आइसिटीको लत जस्ता विविध समस्या र चुनौतीका बारेमा समेत छलफल भएको थियो । साथसाथै जीवनोपयोगी सीप सम्बन्धमा तालिममा प्रशिक्षण प्रदान गरिएको थियो । शिक्षण पेशाका आचरणहरूका साथ उत्कृष्ट शिक्षक कसरी बन्ने भन्ने जस्ता विविध विषयलाई तालिममा समेटिएको थियो । एसईई नतिजा सुधार र विद्यालयमा अनुशासनको महत्व जस्ता पक्षलाई समेत शिक्षक पेशागत विकास तालिममा महत्वपूर्ण स्थान दिएको थियो ।
सो अवसरमा तालिमका प्रशिक्षक शरणकुमार अर्यालले सर्वोदयका मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि उत्प्रेरणामूलक कक्षामसेत लिनुभएको थियो ।
तालिमको पहिलो दिन उदघाटन कार्यक्रमका साथ तालिम सुरु गरिएको थियो । उदघाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य जगन्नाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको औचित्यमा विकासमा महिला नामक संस्थाका अध्यक्ष सवला अधिकारी आत्रेयले प्रकाश पार्नुभएको थियो । प्रशिक्षक एवम् अध्ययन स्कुलका निर्देशक शरणकुमार अर्यालले शिक्षक पेशागत विकास तालिमबारे थप चर्चा गर्नुभएको थियो भने विभिन्न व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उदघाटन कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो र प्रविधिमा दीपक घर्तीले सहयोग गर्नु भएको थियो ।
सो तालिममा ऐतिहासिक स्थल दुराडाँडा क्षेत्रका विद्यालयहरूबाट शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
तालिममा सहभागी शिक्षकहरूले उक्त दुई दिने तालिम अत्यन्त प्रभावकारी भएको हुदाँ आगामी दिनहरूमा पनि यस खालका तालिम आयोजना गर्नका लागि माग गर्नुभएको थियो ।
प्रअ पोखरेलले शिक्षकको पेशागत विकास तालिम २०८१ ले सहभागी शिक्षक शिक्षिकाहरूमा सकारात्मक परिवर्तनसँगै तालिममा सिकेका विषयवस्तुलाई विद्यालय र विद्यालयमा अध्ययनरत विद्यार्थीहरू माझ लागू गर्नुहुने अपेक्षासमेत व्यक्त गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सर्वोदय माविका शिक्षक रामकुमार श्रेष्ठले गर्नुभएको थियो ।
– रामकुमार श्रेष्ठको सहयोगमा ।
प्रकाशित मिति २०८१ माघ ७, सोमबार १८:०२ गते